कता गए होलान् डोरबहादुर ?
७१ वर्षको उमेरमा बेपत्ता भएका डोरबहादुर विष्ट आज ४ माघबाट ९५ वर्ष लाग्छन्। मलाई पहिलो पटक कर्णाली पुर्याउने उनी नै थिए। कर्णालीलाई समृद्ध बनाइछाड्ने दृढ संकल्प बोकेका विष्ट कता हराए होलान् ?
हामी काठमाडौं झरेका थिएनौँ, भक्तपुरको दधिकोटमै बस्थ्यौँ। घरबाहिर मोटरको हर्न बजेको आवाज आयो, प्वाँ। मैले झ्यालबाट हेरेँ, डोरबहादुर विष्ट पो रहेछन्। म त छक्क !
यो २८/२९ वर्षअगाडिको घटना हो। सायद शनिबार। “फुर्सद छ भने आउनोस्, माथितिर अलिकति घुमेर आउँ”, उनले भने।
म खुरुक्क ओर्लिएँ। त्यति बेलाको चल्तीको रसियन जीपमा हामी तर्खागाल बिर्खमानेको पसलसम्म गयौँ र फर्कियौँ।
जीउडाल सामान्य, न धेरै मोटो न त दुब्लो नै। सामान्यतः दौरा, सुरुवाल, कोट र टोपी लगाउन रुचाउने। मुखमा कालो कोठी। हिस्सी परेका दाँत। तेज आँखा। यस्तै थियो, उनको हुलिया।
तर्खगालसम्मको त्यो छोटो यात्रामा मैले उनलाई दधिकोटबारे संक्षेपमा बताएँ। उनी पनि मजस्तै काँठे। हाम्रा धेरै कुरा मिल्थे। एउटै काँठे संस्कृतिमा हुर्केका, बढेका। डोरबहादुर पाटन झरुवाराशीका।
हामी दधिकोट आउने प्रायः सबैलाई पाउरोटीमा कुराउनी (खुवा) दलेको खाजा र चिया खुवाउथ्यौँ। श्रीमती सुशीलालगायत परिवारका सबै सदस्यलाई यो थाहा थियो। हाम्रो घरैनेरको पसलमा पाउरोटी र कुराउनी पाइन्थ्यो।
हामी फर्कियौँ र खाजा खायौँ। कुराकानीका लागि एकत्रित विषय थिएनन्। छरुवा कुरा भए। यस्ता भेटघाटले सम्बन्ध बलियो हुँदोरहेछ।
कर्णाली भ्रमणको श्रेय
डोरबहादुर विष्ट नेपाल सरकारको दुर्गम क्षेत्र विकास समितिको सदस्य सचिव थिए। म राससमा आठ वर्ष काम गर्दा पनि कर्णाली अञ्चल जान पाएको थिइनँ। सुन्थे, त्यतातिर घरको छाना माटाका हुन्छन्। अनौठो लाग्थ्यो। त्यो हेर्न उत्कट इच्छा थियो।
मैले आफ्नो इच्छा डोरबहादुर विष्टसँग राखेको थिएँ। उनले भनेका थिए, “हुन्छ नि त, म मिलाउँला।”
डोरबहादुरका छोराछोरीले चारवटा काम जान्नै पर्ने, घोडा चढ्न, पौडी खेल्न, रुख चढ्न र बन्दुक हान्न। उनका तीन छोरा र एक छोरी। छोराछोरी सबै स्वावलम्बी हुन्, आफ्नै खुट्टामा उभिन सकुन् भन्ने दृष्टिकोण थियो।
नभन्दै मिलाएछन्। काठमाडौं–जुम्ला हवाइजहाजको एकतर्फी टिकट। यो जेठ, २०२८ को कुरा हो। त्यति बेला काठमाडौं–जुम्ला र जुम्ला–काठमाडौं सीधा उडान थियो। भाडा एकतर्फी रू.२०० जति थियो क्यार।
दुर्गम क्षेत्र विकास समितिको आर्थिक सहयोगमा म जुम्ला पुगेँ। त्यति बेला कर्णालीका अञ्चलाधीश बद्रीविक्रम थापा थिए। हुम्लामा मेरो साथी ताराप्रसाद घिमिरे प्रमुख जिल्ला अधिकारी थिए। हुम्ला पनि जान मन लाग्यो। डोरबहादुर विष्टले पैदलयात्राका लागि एक जना साथी खोजिदिए। म हिँडेरै जुम्ला–हुम्ला–जुम्ला भ्रमण गरेँ।
डोरबहदुर विष्टसँग मेरो कति कुरामा रसायन मिल्यो क्यार, त्यसैले यसो अनुकूल पर्यो कि उनको निवास जान थालेँ। उनी पुल्चोक बस्थे। उनको जीवन दर्शन आफ्नै खालको थियो।
डोरबहादुरका छोराछोरीले चारवटा काम जान्नै पर्ने, घोडा चढ्न, पौडी खेल्न, रुख चढ्न र बन्दुक हान्न। उनका तीन छोरा र एक छोरी। छोराछोरी सबै स्वावलम्बी हुन्, आफ्नै खुट्टामा उभिन सकुन् भन्ने दृष्टिकोण थियो। यस्तो दृष्टिकोण प्रायः सबैको हुन्छ, तर व्यवहारमै उतार्ने कममध्येमा डोरबहादुर विष्ट थिए।
उपेन्द्रमान मल्लसँग पूरा नभएको सहमति
त्यति बेला कलिलै उमेरमा बिहे गरिदिने चलन थियो। विष्टजी र उपेन्द्रमान मल्ल पटना विश्वविद्यालयमा पढ्थे। सारै मिल्ने साथी भएछन्। संयोगले त्यही समय दुवै साथीका श्रीमती गर्भिणी भएछन्। तब विष्ट र मल्लबीच रमाइलो समझदारी भएछ। एक–अर्काको छोरा र छोरी भए बिहे गरिदिने। एकजना झर्रो क्षेत्री, अर्को मल्ल।
आखिर कसको छोरा वा छोरी भयो वा के भयो थाहा भएन। तर, विष्ट र मल्लका छोराछोरीबीच भने बिहा भएन।
डोरबहादुरका बाबु नेपाली सेनामा कर्णेलसम्म भएछन्। उपेन्द्रमानका बाबु प्राध्यापक। डोरबहादुरले साथी उपेन्द्रमानसँग आग्रह गरे रे, “म सिपाहीको छोरो, मेरा बाबुले मेरा छोरालाई पढाइ दिएनन् भने कम्तिमा १० कक्षासम्म पढाइ दिनु है।”
घरका बुहारीहरूलाई ‘म मरे पछि तिमीहरूलाई दुःख दिन्न’ भन्थे रे। नभन्दै मरेपछिका कष्टकर दशक्रियाजस्ता संस्कार गर्नु परेन। तर, उनी बेपत्ता भएपछि परिवारका सदस्य र आफन्तहरूले धुइँधुइँती खोजे। यसरी खोज्दा धेरै कष्ट पाए।
तर, डोरबहादुरले जेठा छोरा हिक्मतबहादुर विष्टलाई राम्रै पढाएछन्। डा. हिक्मत अहिले पनि कक्षा १० मा बाबुको साथी उपेन्द्रमानसँग भूगोल पढेको र राम्रो नम्बर ल्याएको सम्झन्छन्। तर, त्यो बेला छोरीलाई भने स्कूल भर्ना गर्ने चलन नै थिएन।
पटना विश्वविद्यालय पढेर आएका डोरबहादुर विष्ट नेपालका धुरन्धर मानवशास्त्री भए। समाजको विश्लेषण आफ्नै किसिमले गर्न थाले। धेरै वटा पुस्तक लेखे। उनको ‘भाग्यवाद र विकास’ भन्ने पुस्तकले नेपाली समाजमा कम्पन नै ल्यायो।
उनका केही पुस्तक त नेपाली र अंंग्रेजी दुइटै भाषामा छन्। केही वर्षअघि डोरबहादुर विष्टको उपन्यास ‘सोताला’ राष्ट्रिय सभागृहको तेस्रो तलाको सानो सभाकक्षमा सार्वजनिक गरिएको थियो। उनका दुवै छोरा डा. हिक्मतबहादुर विष्ट र केशरबहादुर विष्ट उपस्थित थिए।
सायद डा. हर्क गुरुङ प्रमुख अतिथि थिए। म पनि वक्ता थिएँ। त्यति बेला राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् बनाएको मलाई मन परेको थिएन। २२ मंसीर २०६२ मा हेरफेर र थप गरेको मन्त्रिपरिषद्मा केशरबहादुर विष्ट कृषि तथा सहकारी मन्त्री भएका थिए। याे त मलाई झनै मन परेन ।
किताबको विषयमा बोल्न बोलाइएको त्यो कार्यक्रममा मैले केशरबहादुर विष्टमाथि आक्रोश पोखेँ। “केशरबहादुर विष्ट डोरबहादुर विष्टको छोरा हो कि होइन?” भनेँ। सभाहल सन्न भो। केशरबहादुरले रातो मुख लाए। धेरै जनाले मेरो कुरा मन पराए, थोरैले मन पराएनन्। मेरो मूल्याङ्कनमा डोरबहादुर विष्ट प्रजातन्त्र मान्थे।
२४ वर्षदेखि बेपत्ता
डोरबहादुर विष्ट ७१ वर्षको उमेरमा अज्ञात भए। उनी धुरन्धर मानवशास्त्री भए। जुम्लालाई कार्यथलो बनाएका थिए। घरका बुहारीहरूलाई ‘म मरेपछि तिमीहरूलाई दुःख दिन्न’ भन्थे रे।
नभन्दै मरेपछिका कष्टकर दशक्रियाजस्ता संस्कार गर्नु परेन।
तर, उनी बेपत्ता भएपछि परिवारका सदस्य र आफन्तहरूले धुइँधुइँती खोजे। यसरी खोज्दा धेरै कष्ट पाए। नेपालका संभाव्य सबै ठाउँ मात्र नभएर भारतका तीर्थधाम बद्रीनाथ, केदारनाथ, हरिद्वार पनि खोजे। कतै पत्ता लागेन।
कर्णाली अञ्चलको जनजीवनको कथा र व्यथा देखेर द्रवित भएका डोरबहादुर त्यस क्षेत्रमा विकास र निर्माणको उज्यालो पुर्याएरै छोड्ने दृढ संकल्पमा थिए। तर, कता हराए कता? उनी आज ४ माघबाट ९५ वर्ष लाग्छन्।
डोरबहादुरको ९५औँ जन्मदिनमा सम्मान र शुभको प्रार्थना !