‘भारत भ्रमणले दुई देशको सम्बन्ध मजबुत बनाउन योगदान गर्यो’
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुत पार्न योगदान पुगेको दाबी गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भ्रमणले नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ, मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुत पार्न योगदान पुगेको दाबी गरेका हुन्।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा पुगेका मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किएका हुन्।
आयोगको बैठकमा कोभिड–१९ को भ्याक्सिनको आवश्यकता पुर्ति गर्ने बारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको मन्त्री ज्ञवालीले जानकारी दिए। त्यसैगरी कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरू क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी खण्ड छिट्टै सक्ने विषयमा पनि छलफल भएको उनले बताए।
मन्त्री ज्ञवालीका अनुसार बैठकमा रक्सौल–काठमाडौं रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शीघ्र काम शुरू गर्ने सहमति गरिएको छ। भैरहवामा एकीकृत चेकपोष्टको काम शीघ्र शुरू गर्ने विषयमा पनि कुरा भएको मन्त्री ज्ञवालीले बताए।
उनले महाकालीमा निर्माणाधीन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको बताए। बैठकमा भूकम्पपछिको पुनर्निर्माणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रूप दिने विषयमा पनि छलफल भएको छ।
नेपाल–भारतबीचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरू पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने पनि निर्णय पनि भएको छ। भ्रमणको क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अवलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ।
कृषिमा थप सहकार्य गर्ने तथा जीटूजी प्रक्रियामा मल खरीद गर्ने एमओयूलाई गति दिने सहमतिलगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्र मन्त्री ज्ञवालीले बताए।
आयोगको आगामी संयुक्त बैठक दुवै पक्षलाई अनुकुल हुने समयमा नेपालमा आयोजना गरिने मन्त्री ज्ञवालीले बताए।