‘भाग्यवाद र विकास’ मा कहाँ र किन गलत छन् डोरबहादुर ?
हो, ब्राह्मण अवधारणाहरूमा आधारित जातप्रथा नेपालको ठूलो सामाजिक समस्या हो तर ‘ब्राह्मणवाद’ सिर्जित ‘भाग्यवाद’ कै कारण देशको विकास हुन नसकेको हो भन्ने विष्टको विश्लेषण सही होइन।
मानवशास्त्री डोरबहादुर विष्टले लेखेको चर्चित पुस्तक हो-‘फेटलिज्म् एण्ड डेभलपमेन्ट’ (भाग्यवाद र विकास), जहाँ भाग्यवाद र विकासको अर्थ र अन्तरसम्बन्ध पर्गेल्ने प्रयास मात्र होइन, नेपालको विकासमा भाग्यवाद नै प्रमुख अवरोधक भएको निष्कर्ष पनि छ।
मानवशास्त्री विष्टले आफ्नो वर्षौंको अध्ययनबाट किन यस्तो निष्कर्ष निकाले ? के साँच्चै हाम्रो विकासको शत्रु भाग्यवाद नै हो त ? के उनको निर्क्योल विवादरहीत छ त ? यसको व्याख्या विष्टको मुख्य अवधारणाबाटै थालौं।
विष्टका अनुसार, ‘ब्राह्मणवाद’बाट आएको ‘भाग्यवाद’कै कारण नेपालको ‘विकास’ हुन नसकेको हो। उनको लेखाइमा ‘विकास’को अर्थ भौतिक विकास होः सडक, विद्युत, भवन, कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि आदि।
तर, आज हामी यी तत्वलाई मात्रै ‘विकास’ मान्दैनौं, मानव विकास सूचकांक, लैंगिंक समानता, सामाजिक र आर्थिक समानता, आदिका आधारमा पनि समाजको विकास नाप्छौं। तर, ३० वर्ष अघि लेखिएको पुस्तकको अवधारणा अनुसार विकासको अर्थ भौतिक विकास नै हो।
‘ब्राह्मणवाद’ भन्नाले विष्टले हिन्दु जात प्रथालाई मानेका छन् भने ‘भाग्यवाद’ भन्नाले संसारमा हुने सबै कुरा पहिल्यै निर्धारण भइसकेको छ भन्ने नियती वा प्रारब्धको हिन्दु अवधारणालाई मानेका छन्। र, खासगरी जात बदल्न सकिन्न भन्ने अवधारणामा यो दर्शन लागू गरेका छन्।
हो, ब्राह्मण अवधारणाहरूमा आधारित जातप्रथा नेपालको ठूलो सामाजिक समस्या हो तर ‘ब्राह्मणवाद’बाट आएको ‘भाग्यवाद’ कै कारण नेपालको ‘विकास’ हुन नसकेको हो भन्ने विष्टको भनाइसँग प्रशस्त असहमति जनाउन सकिन्छ।
‘भाग्यवाद’
पुस्तकमा विष्ट भन्छन्- भाग्यवाद भनेको त्यस्तो मान्यता हो जसमा मानिसको अवस्था सर्वोच्च देवताले बनाइदिएको हुन्छ, र हरेक मानिसको भाग्य पहिले नै निर्धारण गरिएको हुन्छ। मान्छे खुशी वा सफल छ भने त्यो पुर्वजन्मको फल मानिन्छ। आफ्नो कर्मलाई प्रभावित गर्नमा मान्छेको आफ्नै भूमिकालाई भने बेवास्ता गरिन्छ। बरु कर्म चाहिँ पहिल्यै निर्धारित र मान्छेले केही गर्दा पनि नबदलिने मानिन्छ।
“... भाग्यवादले मानिसको समस्या समाधान र लक्ष्य प्राप्ति गर्ने काममा ठूलो प्रभाव पार्छ। घटनाक्रम पहिल्यै नै निर्धारण भए अनुसार नै हुने हो भने परिणाम परिवर्तन गर्न खोज्नुको कुनै अर्थ छैन। यसरी मानिसहरू विपन्नता र अभावमा बानी परिसकेपछि जीवन निर्वाह गर्न भन्दा बढी मेहनत गर्न रुचाउँदैनन्।”
विष्टका यी भनाई तर्कसंगत लाग्दैनन्। उनले बयान गरेको भाग्यवाद जस्तै भवितव्यलाई स्वीकार गर्ने दर्शनहरू नेपालमा मात्रै होइन थुप्रै सँस्कृतिमा पाइन्छन्।
यीन र याङको चीनियाँ अवधारणा अनुसार संसारमा हरेक कुराको विपरीत हुन्छ, उज्यालो जति नै अँध्यारो, र धर्म जतिकै पाप। अर्थात् संसारमा जेसुकै राम्रो र नराम्रो भए पनि यो संसारको नियम हो भनेर स्वीकार गर्ने ठाउँ छ। इस्लाम धर्मावलम्बीले भन्ने गरेको ‘इन्शाल्लाह’ अर्थात् ‘अल्लाहको मर्जी’ ले पनि त्यस्तै सुविधा दिन्छ, जेसुकै घटनालाई पनि स्वीकार गर्ने।
‘डिटर्मिनिज्म’ अर्थात् सबै कुरा ईश्वरको इच्छा अनुसार पहिल्यै निर्धारण भइसकेको छ भन्ने अवधारणा इसाई धर्ममा पनि भेटिन्छ। र, बहुसंख्यक हिन्दु भएको भारतलाई पनि विष्टले भनेको जस्तो ब्राह्मणवादी भाग्यवादले धेरै हदसम्म प्रभावित गरेको छ।
तर, भाग्यवादले यी कुनै पनि देश वा संस्कृतिलाई विकसित हुनबाट रोकेको छैन। सन् १९८० को दशकमै चीन नेपालभन्दा धेरै विकसित थियो, बहुसंख्यक मुसलमान भएका खाडी मुलुक संसारकै धनीमध्येमा छन्, र पछिल्ला दशकमा भारतले पनि निकै विकास गरेको छ।
यी उदाहरणबाट के देखिन्छ भने विकासमा भाग्यवादको भूमिका महत्वपूर्ण छैन। विकासमा मूलतः सुशासन, आर्थिक नीति, नेतृत्व तहमा राजनीतिक इच्छाशक्ति लगायतका कारक तत्वहरू नै बढी महत्वपूर्ण हुन्छन्। भाग्यवादले विकासको बाटो छेक्दैन।
ब्राह्मणवादी भाग्यवादले नेपाललाई असर नै नगरेको चाहिँ भन्न मिल्दैन। खासगरी यो भाग्यवाद वा नियतीको स्वीकृती ब्राह्मण–सृजित जातप्रथामा बढी देखिन्छ। जात उकास्ने कुनै तरीका छैन। अर्थात् कथित तल्लो जातमा जन्मिएका मानिसले त्यो नियती स्वीकार गर्नु बाहेक अरु उपाय छैन।
विष्टका अनुसार भाग्यवादले मानिसको समस्या समाधान र लक्ष्य प्राप्तिको काममा पनि ठूलो प्रभाव पार्छ र मानिसले आफ्ना व्यक्तिगत पहलकदमीले नियती बदलिन सक्छ भन्ने ठान्दैन।
बरु त्यसविपरीत उल्टो, मानिसले आफ्नो कर्म गर्नुपर्छ भन्ने अवधारणा चाहिँ नेपाली मानसपटलमा जरा गाडेर बसेको देखिन्छ। भाग्यवाद जुन हिन्दु धर्मग्रन्थहरूबाट आउँछ, त्यसैबाट ‘कर्म गर फलको आशा नगर’ भन्ने अवधारणा पनि आउँछ।
अर्थात्, कृषकले बीउ रोप्नु पनि पर्छ, खेत गोड्नु पनि पर्छ, फसल काट्नु पनि पर्छ, तर सोचेजस्तो फल पाउँछु भन्ने आशा चाहिँ गर्नु हुँदैन।
कर्मको फलको आशा गर्नु हुँदैन भन्ने अवधारणा, जसलाई विष्ट ‘भाग्यवाद’ भन्छन्, त्यसको अर्थ मान्छेले कर्म गर्नु पर्दैन भन्ने चाहिँ होइन। नेपालका मानिसहरू निकै कठिन परिस्थितिमा पनि शारीरिक परिश्रम गरिरहेका हुन्छन्। नेपालको भाग्यवाद भनेको कर्म गरिसकेर फल स्वीकार गर्नुमा देखिन्छ, कर्म गर्दै नगर्नुमा होइन। अझ कतिपय ठाउँमा त कर्मको फलमा रूचि नराख्ने कुरा सिद्धान्त मात्रै हो, मानिसले त्यसलाई प्रयोग गरेको देखिँदैन।
भाग्यवादी मानिसहरू विपन्नता र अभावमा बानी परिसकेपछि जीवन निर्वाह गर्न भन्दा बढी मिहिनेत गर्न रुचाउँदैनन् भन्ने पनि विष्टको बुझाइ छ। यो उनको अतिसामान्यीकरण विश्लेषणमध्येको एक हो। इतिहासदेखि नै नेपालीहरू विपन्नता र अभावबाट निस्किन कठोर परिश्रम गरिररहेका छन्। आज पनि विपन्नत चिर्नकै निम्ति दैनिक सयौं युवा खाडी मुलुक जान पंक्तिवद्ध छन्। उनीहरू विपन्नताबाट थोरै माथि उक्लन सफल हुन्छन् कि हुँदैनन् यो अर्कै प्रश्न हो, तर प्रयास भने गरिरहेका छन्।
यस्ता अनेकन् प्रमाण हुँदाहुँदै पनि ‘नेपालीहरू आफ्नो भाग्यप्रति लाचार छन् र कर्म गर्दैनन्’ भन्ने धारणा अघि सार्नु नेपालीहरूको निर्णय क्षमता र कर्मशीलताप्रतिको अपमान हो, जुन विष्टले गरेका छन्।
ब्राह्मणवादी भाग्यवादले नेपाललाई असर नै नगरेको चाहिँ भन्न मिल्दैन। खासगरी यो भाग्यवाद वा नियतीको स्वीकृती ब्राह्मण–सृजित जातप्रथामा बढी देखिन्छ। जात उकास्ने कुनै तरीका छैन। अर्थात् कथित तल्लो जातमा जन्मिएका मानिसले त्यो नियती स्वीकार गर्नु बाहेक अरु उपाय छैन।
हुन त, विष्टले दिएका उदाहरण अनुसार विगतमा नेपालमा थुप्रै समुदायले पैसा र शक्तिको पहुँचका आधारमा जात उकासेका पनि छन्। तर, जातप्रथामा सबभन्दा सीमान्तकृत दलित समुदायका मानिससँग भने त्यस्तो पहुँच भएन। त्यसैले दलित समुदायका मानिसहरू सबभन्दा बढी ब्राह्मणवादी भाग्यवादको मारमा परेका छन्।
बडादशैँको सातौँ दिन हनुमानढोकामा फूलपाती भित्र्याइँदै। फाइल तस्वीरः रासस
हुन सक्छ नेपालको सबभन्दा ठूलो सामाजिक समस्या नै यही हो। तर, यसले ‘विकास’को बाटो भने छेक्दैन। फेरि पनि यहाँ जातप्रथाले जकडिएको भारतको उदाहरण लिन सकिन्छ, वा सामाजिक संरचनामा नै नश्लवाद स्थापित भएको अमेरिकालाई हेर्न सकिन्छ, जहाँ भेदभाव विकासको बाधक भएको छैन। भेदभावलाई विकासको एउटा घटकका रूपमा मात्रै हेर्नु पीडितहरूको अपमान पनि हो, भेदभाव त विकास भए पनि, नभए पनि समाधान गर्नुपर्ने छुट्टै सामाजिक समस्या हो।
नेपालमा जातप्रथा कतिसम्म ठूलो समस्या हो भन्ने कुरा बल्ल आमसञ्चारमा र सार्वजनिक क्षेत्रमा देखा पर्दैछ। जसमा एउटा प्रतिनिधिमूलक घटना हो- रुकुममा ६ जना युवाको हत्या। यस्ता जघन्य र त्रासदीपूर्ण घटना मात्र आमसञ्चारमा आउँछ जबकि जातको आधारमा गरिने भेदभावले दिनदिनै पीडितको जीवनमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ।
विष्टले भने जातप्रथालाई विकाससँग मात्र जोडेर हेरेका छन्। यसले उब्जाएका सामाजिक समस्यालाई उनले स्वीकार नै गरेका छैनन्। उनी भन्छन्, “नेपालको जीवनशैलीमा धर्मको केन्द्रीय स्थान छ, तर नेपालमा कहिले कुनै किसिमको धर्मान्धता थिएन।” तर, रुकुम घटनाले उनको तर्कलाई औचित्यहीन सावित गर्छ।
पुस्तकमा विष्टले भाग्यवादको दोष सावित गर्ने क्रममा यस्ता थुप्रै गलत दाबीहरू प्रस्तुत गरेका छन्, जस्तो कि- ‘मल्लकाल भन्दा अगाडि नेपालमा जातप्रथा नै थिएन’, ‘ गोर्खाली सेनामा सामाजिक समानता भएका कारणले देशले गोरखाको राज स्वीकार गर्यो’ आदि। तर, इतिहास अध्ययनमा देखिन्छ- मल्लकाल अघि पनि जातप्रथाका प्रमाण भेटिएका छन्। त्यस्तै न गोर्खाली सेनामा सामाजिक समानता थियो, न गोरखाको राजलाई देशले खुशी खुशी स्वीकारेका थिए।
लक्ष्यप्राप्तिको राष्ट्रिय आकांक्षा
मलाई लाग्छ, विष्टको पुस्तक र त्यसमा व्यक्त अवधारणा, विश्लेषणको उद्देश्य ब्राह्मण वा ब्राह्मणवाद वा भाग्यवादलाई दोषी देखाउनु होइन, नेपाल किन विकसित भएन भन्ने प्रश्नको उत्तर खोज्नु हो।
विष्ट देश विकासको प्रेरणाको प्रकृति परिभाषित गर्न खोजिरहेका देखिन्छन्। नेपालीहरू कसरी काम गर्छन्, के कुराले उनीहरूलाई काम गर्न प्रेरित गर्छ, के कुराले अवरोध गरिरहेको छ भन्ने प्रश्नको जवाफ खोजिरहेका छन्।
कुनै ब्राह्मण, राई, दलित, मुसलमान प्रत्येकको जीवन र जगतलाई हेर्ने दृष्टिकोण फरक फरक हुनसक्छन्। समुदायका कतिपय मूल्य र मान्यता एक अर्कासँग पूरै मिल्न सक्छन्, कतिपयमा थोरै समानता हुन सक्छ, नितान्त भिन्न पनि हुनसक्छ। आ-आफ्ना मान्यता अनुसार काम प्रतिको दृष्टिकोण र लक्ष्यप्राप्तिको प्रेरणा पनि फरक फरक हुनसक्छ।
सन् १९८० को दशकसम्म पनि लोकप्रिय यसखालका केही अध्ययन र सिद्धान्तलाई उनले पनि उद्धृत गरेका छन्। जस्तो कि- जापानीहरू किन त्यति सफल छन्? उनीहरू त्यति धेरै काम गर्ने प्रेरणा उनीहरू कहाँबाट पाउँछन्? दक्षिण एशियाली मुलुकहरूको प्रगतिको प्रेरणा के हो? के उनीहरूको सामूहिक संस्कृतिका कारण त्यस्तो भएको हो? प्रोटेस्टेन्टहरू किन क्याथोलिक भन्दा बढी आर्थिक रूपमा सफल हुन्छन्? उनीहरूको दर्शनको कुन तत्वले काम गर्ने प्रेरणा दिन्छ?
ल्होसार पर्वमा सजिएकी तामाङ युवती । तस्वीरः हिमाल आकाईभ
काम र भौतिक सफलतालाई दर्शनसँग जोड्ने यस्तो अध्ययन विधि त्यो समयको समाजशास्त्रीय अध्ययनमा विश्वभर नै लोकप्रिय देखिन्छन्। तर यसको पनि सीमितता छ। साझा भाषा, संस्कृति र दर्शन भएका समूहहरूमा यस्तो अध्ययन काम लाग्न सक्छ, जस्तैः अमेरिकाका अंग्रेजीभाषी प्रोटेस्टेन्ट र क्याथोलिकको तुलना वा जापानीहरूको कामप्रतिको दृष्टिकोणको अध्ययन।
तर, विभिन्न समुदायको विविधताका कारण नेपालमा भने सम्पूर्णरूपमा यो विधि लागू गर्न मिल्दैन। अर्थात् भिन्न भिन्न भाषा, जीवनशैली र दर्शन भएका नेपालका एक सय भन्दा बढी समुदायमा भने एकै किसिमको आदर्श वा कामप्रतिको दृष्टिकोण छ भन्न सकिँदैन।
कुनै ब्राह्मण, राई, दलित, मुसलमान प्रत्येकको जीवन र जगतलाई हेर्ने दृष्टिकोण फरक फरक हुनसक्छन्। समुदायका कतिपय मूल्य र मान्यता एक अर्कासँग पूरै मिल्न सक्छन्, कतिपयमा थोरै समानता हुन सक्छ, नितान्त भिन्न पनि हुनसक्छ। आ-आफ्ना मान्यता अनुसार काम प्रतिको दृष्टिकोण र लक्ष्यप्राप्तिको प्रेरणा पनि फरक फरक हुनसक्छ।
यो समस्या विष्टले पनि देखेका छन्। उनी भन्छन्, “नेपाली समाज बहुजातीय र परिवर्तनशील छ। यसले सामान्यीकरणलाई कठिन बनाइदिन्छ।”
तरपनि सामान्यीकरणको आफ्नो प्रवृत्तिको उनी यसरी पुष्टि गर्छन्, “नेपाल जस्तो जटिल समाजको बारेमा हामीले केही सिक्ने तरीका भनेको सामान्यीकरण मात्रै हो। कतिपय पाठकलाई यस्तो सामान्यीकरण मन नपर्ला किनकी उनीहरूले यस्ता प्रवृत्तिका अपवाद देखेका हुन्छन्। तर, अपवाद मात्र हेरेर सामान्यीकरण नै नगर्ने हो भने नेपाली समाज नै समाजशास्त्रीय अध्ययनको सीमा भन्दा बाहिर छ भन्ने अर्थ लाग्छ।”
विष्टले इंगित गरेका मानिसमध्ये म स्वयं पनि एक हुनसक्छु। म उनको अति सामान्यीकरण यथार्थपरक मान्न तयार छैन। तर, त्यसो भनेर मैले नेपाली समाज समाजशास्त्रीय अध्ययनको सीमाभन्दा बाहिर छ भन्न खोजेको होइन। मलाई लाग्छ, नेपाली समाजका विविधतालाई एक मात्र जीवन दर्शनले समेट्न सक्दैन, प्रत्येक समुदायको छुट्टाछुट्टै अध्ययन गरिएमा मात्र नेपालको सम्पूर्ण चित्र आउन सक्छ।