शुरु भयो पीएम कप क्रिकेट, तर न पुरस्कारको टुङ्गो न बजेट
प्रधानमन्त्री कप क्रिकेटका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघबीच तालमेल हुन नसक्दा बजेट र पुरस्कार रकमको समेत टुङ्गो नलागी प्रतियोगिता शुरु भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज शुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नेपालको एक मात्र राष्ट्रिय क्रिकेट प्रतियोगिता हो। तर, खेलाडी ब्याट र बल लिएर मैदान प्रवेश गरिसक्दा पनि पुरस्कार राशिको टुङ्गो लागेको छैन।
यो प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले नभइ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने गरेको थियो। क्यान निलम्बित हुँदा राखेपले खेलको व्यवस्थापन जिम्मा दुई वर्षअघि निजी कम्पनी नेपालय इन्टरनेशनललाई पनि दिएको थियो। तर, यसपटक राखेपको बजेटमा क्यान आफैँले प्रतियोगिता आयोजना गर्दैछ।
आईसीसीले निलम्बन फुकुवा गरेपछि गत वर्षको असोजमा मात्र क्यानको नयाँ नेतृत्व आएको हो। अहिले क्यानसँग आफ्नै राष्ट्रिय प्रतियोगिता छैन। राखेपले प्रधानमन्त्री कप आयोजनाको जिम्मा क्यानलाई दिए पनि बजेट उपलब्ध गराएको छैन।
प्रधानमन्त्री कप उद्घाटन कार्यक्रममा भाग लिन खेलकुद मन्त्री दावा लामासँगै राखेप सदस्यसचिव रमेश सिलवाल पनि त्रिवि क्रिकेट मैदान पुगेका थिए। सिलवालले राखेपसँग तत्काल बजेट नभएकाले उपलब्ध गराउन नसकेको बताए। उनले चैत–वैशाखमा मात्र बजेट दिने बताए।
क्यान र राखेपको वार्षिक खेल तालिका नमिल्दा प्रधानमन्त्री कपको बजेट र पुरस्कार अन्यौल भएको हो। राखेपले यो प्रतियोगितालाई चैत–वैशाखमा आयोजना गर्ने गरी तालिका बनाएको थियो। राखेपले सबै खेलको राष्ट्रिय प्रतियोगिताहरुको तालिका बनाउँदा क्रिकेटको प्रतियोगिताका लागि क्यानसँग सहकार्य भएको थिएन। तर, क्यानले भने आगामी अन्तराष्ट्रिय प्रतियोगिताहरुलाई ध्यान दिँदै राष्ट्रिय प्रतियोगिता राखेपको समयतालिका भन्दा अगाडि नै आयोजना गरेको जनाएको छ।
क्यान सचिव अशोक प्याकुरेलले यो प्रतियोगिताको बजेट राखेपले चैत–वैशाखमा मात्र उपलब्ध गराउने बताए पनि प्रतियोगिता नै नगरी बस्न उचित नभएको बताए। उनले भने, “अहिले उद्घाटनको अवसरमा पनि सदस्य–सचिवले बजेट पछि मात्र दिन सकिने बताउनुभयो। त्यसकारण अहिले हाम्रै फन्डबाट प्रतियोगिता आयोजना र पुरस्कार रकम दिनेछौँ।”
उनका अनुसार यो वर्ष पुरस्कार रकम गत वर्षको तुलनामा निकै कम हुनेछ। यो वर्ष विजेता टोलीले रु.५ लाख र उपविजेताले रु.२ लाख ५० हजार पाउने प्रस्ताव गरिएको छ। गत वर्ष राखेपले प्रधानमन्त्री कप तेस्रो संस्करणको विजेता टोलीलाई रु.२० र उपविजेतालाई रु.१० लाख पुरस्कार दिएको थियो। नेपाल पुलिस क्लब विजेता र आर्मी उपविजेता भएका थिए।
क्यान सचिव प्याकुरेल भने विजेता टोलीलाई कम रकम प्रस्ताव गरिए पनि अन्य सहयोग गर्ने बताउँछन्। उनी भन्छन्, “नगद पुरस्कारको सट्टामा अन्य कुनै किसिमले सहयोग गर्ने विचार पनि आएको छ। किटको रुपमा वा प्रदेशको अन्य विकासमा सहयोग गर्ने, पैसा मात्र दिएर हुन्न भन्ने ढंगले पनि छलफल भएको छ।” यो वर्ष विजेता र उपविजेता टोलीकै पुरस्कार रकम टुङ्गो नलागेको कारण उत्कृष्ट खेलाडीले पुरस्कार पाउने या नपाउने निश्चित छैन।
राखेपले पीएम कपको बजेट पनि अघिल्ला वर्षको तुलनामा घटाएको छ। यो वर्ष पीएम कप पुरुषको प्रतियोगिताका लागि रु.४० लाख र महिलाका लागि रु. २५ लाख छुट्याएको छ। जबकि गत वर्ष पुरुषका लागि मात्र रु.८० लाख बजेट थियो।
पुरस्कार रकम प्रस्ताव मात्र गरिएको कारण यो वर्ष प्रतियोगिताका लागि कूल बजेट कति खर्च हुन्छ भन्नेसमेत टुङ्गो छैन। खर्च भएको सम्पूर्ण रकम अहिले क्यानले आफ्नै कोषबाट बेहोर्ने सचिव प्याकुरेल बताउँछन्। क्यानसँग बजेट नभएकै कारण ठूलो धनराशीको पुरस्कार घोषणा गर्न नसकेको उनको भनाइ छ।
कोरोनाभाइरस महामारीपछि पहिलोपटक पुरुष क्रिकेट टीमको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो। क्यान नयाँ नेतृत्वले भने आयोजना गरेको यो चौँथो प्रतियोगिता हो। यसअघि क्यानले मंसीर २०७६ मा १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला र पुरुषको प्रतियोगिता आयोजना गरेको थियो। राखेपको सहयोगमा क्यानले सो प्रतियोगिता भएको थियो।
त्यसपछि आईसीसीको सहयोगमा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीइ अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज गरेको थियो। त्यसपछि दाङको लमहीमा गएको महिना प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता गरेको थियो। उक्त प्रतियोगिताको बजेट पनि राखेपले क्यानलाई दिएको छैन।
१० टीममा को-को छन् खेलाडी ?
१६ दिनसम्म चल्ने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री दावा लामाले गरेका छन्। अहिले पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी क्लबबीच प्रतिश्पर्धा भइरहेको छ।
प्रतियोगिता १७ माघसम्म चल्नेछ। प्रतियोगितामा सात प्रादेशिक र तीन विभागीय गरी १० टीम छन्। लिग चरणका खेल त्रिवि मैदान र मूलपानी मैदानमा हुनेछ। सेमिफाइनल र फाइनलका खेल भने त्रिवि मैदानमा नै हुनेछन्।
सहभागी टीमलाई दुई समूहमा बाँडिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी, एपीएफ, प्रदेश १, गण्डकी र कर्णाली प्रदेश छन्। समूह ‘बी’ मा नेपाल पुलिस, प्रदेश २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश छन्।
त्रिभुवन आर्मीको कप्तानमा विनोद भण्डारी छन्। अन्य खेलाडीमा विनोद भण्डारी ९कप्तान० रोहित कुमार पौडेल, भीम सार्की, राजेश पुलामी, हरि चौहान, अनिल मण्डल, राजु रिजाल, विक्रम सोब, आकाश चन्द, सुशन भारी, साहब आलम, हरिकृष्ण झा, जितेन्द्र मुखिया र लोकेश बम छन्। आर्मीको प्रशिक्षकमा राष्ट्रिय टोलीबाट तीव्र गतिका बलर रहिसकेका चन्द्र साउद छन्। टिम व्यवस्थापकमा राजिव चन्द छन्।
गण्डकी प्रदेशको कप्तानमा विपिन खत्री र उपकप्तान अशोक श्रेष्ठ छन्। अन्य खेलाडीमा दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कँडेल, अर्जुन कुमाल, विशाल पौडेल विष्णु पाण्डे र दिनेश बुढामगर छन्। टिमको प्रशिक्षकमा रिजन प्रजो र व्यवस्थापकमा चन्द्रकुमार गुरुङ छन्।
एपीएफको कप्तानमा शरद भेषवाकर छन्। राष्ट्रिय टोलीका वसन्त रेग्मी, सुवास खकुरेल, सन्दीप जोरा, कमलसिंह ऐरी, भुवन कार्की र अभिनास बोहरा पनि एपीएफमा छन्। त्यस्तै शंकर राना, प्रदीप ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला र सूर्य तामाङ एपीएफको टीममा छन्।
प्रदेश १ को कप्तान सिद्धान्त लोहनी छन्। अन्य खेलाडीमा फिर्दोस अन्सारी, मिनास थापा, दीपक पासवान, राजन मगर ९विकेट किपर० शुबशंकर उराव, दीपेश कँडेल, श्रवण यादव, सोनु मण्डल, जोशक खड्का, विवेक मेहता, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ र हेमन्त राई छन्। प्रशिक्षकमा राष्ट्रिय टीमका पूर्व स्पिनर लाक्पा लामा र व्यवस्थापकमा अजय राजवंशी छन्।
कर्णाली प्रदेशले रविन्द्रजंग शाहीको कप्तानीमा टिम घोषणा गरको छ। अन्य खेलाडीमा निश्चल रावल, दिवानबाबु पुन, हेमन्त ओली, ललीत प्याकुरेल, दिनेश अधिकारी, हिमान्शु शाही, विपिन रावल, राजकुमार शाह, अनुज चनारा, तारा प्रसाद गिरी, रुपक दाहाल, युनिश विक्रम सिंह, अभिषेक बम ठकुरी छन्। प्रशिक्षकमा पौल फरेरा र व्यवस्थापकमा भुवन कोइराला छन्।
नेपाल प्रहरीको कप्तानमा मन्जित श्रेष्ठ छन्। अन्य खेलाडीमा दिलिप नाथ, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आरिफ शेख, कुशल भुर्तेल, प्रेम तामाङ, ललित राजवंशी, सुनिल धमला, अनिल शाह, योगेन्द्र कार्की, रसिद खान, पवन सर्राफ र सागर ढकाल छन्। प्रहरीको प्रशिक्षकमा राष्ट्रि टोलीका पूर्व विकेटकिपर ब्याट्स्म्यान मनोज कटुवाल छन्। उनी अहिले राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक पनि हुन्।
सुदूरपश्चिम प्रदेशको कप्तानमा सन्तोष भट्ट र उपकप्तानमा खड्कबहादुर बोहोरा छन्। अन्य खेलाडीमा अरुण ऐरी, गजेन्द्र बोहोरा, सन्जु दमाई, सुरज निर्वा, किरन ठगुन, अर्जन सावद, विनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र सावद र भोजराज भट्ट छन्। टीम व्यवस्थापकमा शेरसिंह खत्री र प्रशिक्षकमा वीरेन्द्र शाही छन् ।
बागमती प्रदेशले राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा टीम घोषणा गरेको छ। उपकप्तानमा पृथु बास्कोटा छन्। अन्य खेलाडीमा पारस खड्का, इशान पाण्डे, रामनरेश गिरी, दिपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, विभत्सु थापा, अरियो पौडेल, तिलक राज भण्डारी, विपिन आचार्य, नन्दन यादव छन्।
लुम्बिनी प्रदेशको कप्तानमा कृष्ण कार्की छन्। अन्य खेलाडीमा सौरभ खनाल, विक्रम भुषाल, अनिल खरेल, सन्दीप सुनार, सन्दिप रजाली, राजविर सिंह, प्रकाश केसी, सुशान्तसिंह थापा, प्रनित थापा मगर, जितेन्द्र साहनी, देव खनाल, दिपेन्द्र रावत र अमित तामाङ छन्।
प्रदेश २ ले अन्तिम टोली घोषणा गरिसकेको छैन। तर, २४ सदस्यीय प्रारम्भिक टोली बनाएको छ। उसले छनौट गरेका खेलाडीमा हरिशंकर शाह, आशिष झा, सुधिर चौधरी, रवी सिंह, अरनिको यादव, राजकुमार शाहनी, हिमांशु दत्त, सुरजप्रसाद कुर्मी, तिर्थराज दास, बिशाल सुश्लिंग, रवि शाह, बिबेक यादव, राहुलप्रताप सिंह, समिर नेपाल, अल्फाज मन्सुरी, नसरुदीन अन्सारी, डब्लु मल्लिक,, महबुब आलम, दिब्यान्शु मलिक, गुलशन झा, आदील अन्सारी, सैफुल्लाह अन्सारी, कुमार थापा, प्रदिप पासवान छन्। टोलीको कप्तानमा सुरजप्रसाद कुर्मी र उपकप्तान राहुलप्रताप सिंह हुने संभावना छ।