त्रिपिटकमा खुम्चिएको बुद्ध–बुझाइ
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो भन्ने भ्रम धेरैमा छ, तर रुचि र उद्देश्यमा पर्न सक्ने अन्य ग्रन्थ पनि प्रशस्त छन्।
त्रिपिटक बौद्ध धर्मको एउटै ग्रन्थ नभई गौतम बुद्धका उपदेश, वचन र सूत्रको तीन थरी पेटारो वा भागको संयुक्त नाम हो । इस्लामको ‘कुरान’, इसाईको ‘बाइबल’ धर्मग्रन्थ भए जस्तै बौद्धको ‘त्रिपिटक’ हुन्छ भन्ने भ्रम धेरैमा पाइन्छ ।
सामान्य ज्ञान सम्बन्धी पुस्तकमा समेत यही कुरा उल्लेख हुँदा सर्वसाधारण भ्रमित हुनु स्वाभाविकै हो ।
गौतम बुद्ध (इसापूर्व ५६३–४८३) ले ३५ वर्षको उमेरमा बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । त्यसपछिका ४५ वर्ष उनले मानिसहरूलाई धर्म–दर्शन तथा सामाजिक जीवनका कुरा बुझएर बिताए ।
बुद्धका ती उपदेशलाई उनीहरू ‘बुद्ध वचन’ का रूपमा स्मृतिमा सँगाल्थे र छलफल समेत गर्थे । तर त्यसबेला लिपिबद्ध गर्ने काम भएन ।
बुद्धको महापरिनिर्वाणपछि उनका उपदेश बिर्सने वा विकृत हुने आशंकाले भिक्षु महाकाश्यप महास्थविरको नेतृत्वमा भएको ७०० जना अर्हत भिक्षु सहितको प्रथम संगायन (एकसाथ गाउने सभा) मा ती उपदेश संकलन गर्न थालियो ।
बुद्धले आफूले विभिन्न ठाउँमा दिएका हरेक उपदेश उपस्थापक (सहयोगी वा सचिव) भिक्षु आनन्दलाई पुनः सुनाउँथे, तीक्ष्ण स्मरणशक्ति भएका उनले ती सबै सम्झ्रिाख्थे ।
प्रथम संगायनमा यिनै भिक्षु आनन्दले ‘मैले एक समय यस्तो सुनें’ भन्दै एकपछि अर्को उपदेश सुनाउँथे र भिक्षु संघबाट अनुमोदन हुँदै जान्थ्यो । त्यसपछि अन्य भिक्षुहरूले पनि उपदेशलाई स्मरणमा राख्न थाले । ती उपदेश त्रिपिटकभित्रको ‘सूत्र पिटक’ मा सुरक्षित रहेको मानिन्छ ।
संघमा बुद्धद्वारा निर्दिष्ट नीतिनियमलाई अत्यन्तै श्रद्धाका साथ लिइन्छ । बुद्ध शासनको (बौद्ध धर्मको प्रभाव हुन्जेल) आयुका रूपमा लिइने यी नीतिनियमलाई भिक्षु उपालीले स्मरणमा राख्थे ।
बुद्धको जीवनकालमै पनि नीतिनियमबारे कुनै भिक्षुलाई संशय लागे वा विवाद भए उपालीसँग बुझन जान्थे । सोही संगायनमा नीतिनियमहरूको पनि संकलन गर्ने काम भयो, जसलाई त्रिपिटकको ‘विनय पिटक’ मानिन्छ । यस्तै, बौद्ध दर्शन सम्बन्धी गम्भीर कुरा ‘अभिधम्म पिटक’ मा संकलित छन् ।
‘अभिधम्म पिटक’ को संकलनबारे विवाद छ । बुद्ध तुषित देवलोकमा तीन महीना बस्दा गरेको धर्मदेशना नै ‘अभिधम्म पिटक’ को विषयवस्तु हो भन्ने एक पक्षको मत छ भने अर्को मतले यसलाई भिक्षु महाकाश्यपको रचना मान्छ ।
अर्कातिर, यसको रचना प्रथम संगायनका बेलामा नभई पछि मात्रै भएको मान्नेहरूको संख्या पनि कम छैन ।
‘त्रिपिटक’ अन्तर्गत ‘सूत्र पिटक’ मा दीघ निकाय, मज्झ्मि निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय जस्ता विशाल ग्रन्थ छन् । यही पिटक अन्तर्गतको खुद्दक निकाय एउटै ग्रन्थ नभएर खुद्दकपाठ, धम्मपद, उदान, यतिवुत्तक, सुत्तनिपात, विमानवत्थु, थेरगाथा, थेरीगाथा, जातक, निद्देश (महानिद्देश र चुल्लनिद्देश), पटिसम्भिदामग्ग, अपदान, बुद्धवंश, चरिया पिटक जस्ता ठूला–साना ग्रन्थको संयुक्त नाम हो ।
‘विनय पिटक’ भित्र पाराजिकपालि, पाचित्तियपालि, महावग्गपालि, चुल्लवग्गपालि र परिवारपालि हुन्छन् । यस्तै, ‘अभिधम्म पिटक’ मा धम्मसङ्गिणिपालि, विभङ्गपालि, धातुकथापालि, पुग्गपञ्ञत्ति, कथावत्थुपालि, यमकपालि, पठ्ठानपालि हुन्छन् ।
मौलिक रूपमा पालि भाषामा रहेको ‘त्रिपिटक’ अहिले धेरै भाषामा अनुवाद भइसकेको छ । यो मूलतः बौद्ध दर्शनको हिनयान अन्तर्गत पनि थेरवादी सम्प्रदायसँग सम्बन्धित छ । महायान अन्तर्गतका विभिन्न सम्प्रदाय मौलिक संस्कृत भाषामा रहेका अन्य ग्रन्थलाई आआफ्नो मुख्य धर्मग्रन्थ मान्छन् ।
कुनै सम्प्रदाय नवव्याकरण भनेर प्रज्ञापारमितासूत्र, सद्धर्मपुण्डरिकसूत्र, ललितविस्तर, गण्डव्यूहसूत्र, दशभूमिकसूत्र, समाधिराजसूत्र, सुवर्णप्रभाससूत्र, लंकावतारसूत्र र सुखावतीव्यूहसूत्रलाई मान्छन् भने कुनै सम्प्रदाय नवव्याकरणमा पनि कुनै एउटा ग्रन्थलाई मात्र मान्यता दिन्छन् ।
तिब्बतमा प्रचलित ‘कंग्यूर’ र ‘तेंग्यूर’ पनि दुई ग्रन्थ नभएर सूत्र र शास्त्रको वर्गीकरण मात्र हो । बुद्धका उपदेशलाई सूत्र (कंग्यूर) र सूत्रको आधारमा विभिन्न विद्वान्ले गरेको व्याख्यालाई शास्त्र (तेंग्यूर) भनिन्छ ।
बौद्ध समाजमा ‘त्रिपिटक’ बाहेक अन्य ग्रन्थहरू पनि छन् । यति विस्तारित भण्डारमा के चाहिं पढ्ने भन्ने अलमल सामान्य पाठकमा हुन सक्छ । हिनयान र महायान दुई बौद्ध दर्शनको आदर्श फरक हुनुको अन्तर्य कसको गन्तव्य वा उद्देश्य कहाँसम्म भन्ने प्रश्नको फरक–फरक जवाफ मात्रै हो ।
हिनयानको अन्तिम लक्ष्य अर्हत्व प्राप्त गर्नु हो भने महायानीहरूको गन्तव्य बोधिसत्वलाई आदर्श मान्दै बुद्धत्वतर्फको यात्रा तय गरी स्वयं बुद्ध बन्नु हो । दुवैको जीवनदर्शनमा खासै फरक हुँदैन ।
आफ्नो रुचि र उद्देश्य अनुसारका ग्रन्थ रोज्नुपर्छ । ‘त्रिपिटक’ नै पढ्ने हो भने पनि एउटै कुरालाई बुद्धले फरक समय र व्यक्तिसँग उसको ग्रहण गर्ने क्षमता अनुसार दिएको उपदेश भनेर बुझनुपर्छ । यही कुरा अन्य बौद्ध सम्प्रदायमा पनि लागू हुन्छ ।