गृहयुद्ध झल्काउने झन्डा बोकेर अमेरिकी संसद पस्ने व्यक्ति पक्राउ, यस्तो छ झन्डाको इतिहास
कालालाई सामाजिक र राजनीतिक बहिस्कार तथा गोराहरुको प्रधानताको प्रतीक मानिएको 'कन्फिडरेट फ्ल्याग' ट्रम्प समर्थकले अमेरिकी संसद भवनभित्र पहिलोपटक घुसाएका छन्। यो झन्डा गृहयुद्धका वेला विद्रोही सात राज्यको प्रतीक थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले ६ जनवरीमा संसद भवन क्यापिटल हिल्समा आक्रमण गरेको समाचार विश्वभरि चर्चामा आइरहँदा एउटा झन्डामाथि ढिला गरी मात्र मिडियाको आँखा पुग्यो। अमेरिकी इतिहासमै सर्वाधिक विवादित झन्डा बोकेर संसद भवनभित्रै पुगेका व्यक्तिको फोटो त्यसपछि भाइरल भएको थियो।
विवादित कन्फिडरेट फ्ल्याग बोकेर संसदमा पस्ने व्यक्ति केविन सिफ्राइड थिए। एफबीआईले उनलाई डेलावेयरबाट गिरफ्तार गरेको जनाएको छ। सिफ्राइडलाई बिहीबार दिउँसो २ बजेपछि अदालत पेस गरिने बताइएको छ।
अमेरिकोका राजनैतिक इतिहासकार जोसेफ एडलमैनले ट्विट गर्दै भनेका छन्, “कन्फिडरेट फ्ल्याग अमेरिकी संसद भवनमा घुसेको छ, जो कि गृह युद्धको वेला पनि हुन सकेको थिएन।” यो झन्डाको सम्बन्ध अमेरिकामा सन् १८६१ द्येखि १८६५ सम्म भएको गृहयुद्धसँग भएकाले यसलाई विवादित मानिन्छ।
यो झन्डा २०औँ शताब्दीमा एक शक्तिशाली राजनैतिक प्रतीकको रुपमा पनि उठाइएको थियो। गोराहरुको प्रधानताको वकालत गर्ने चरमपन्थी संगठन ‘कु कलक्स क्लेन’ले यो झन्डाको प्रयोग गरेको थियो।
२०औँ शताब्दीका अन्य कतिपय नागरिक अधिकार आन्दोलनको समयमा पनि यो झन्डा देखाउने गरिएको थियो। सन् २०१५ मा २१ वर्षीय एक युवकले साउथ क्यारोलाइनको चाल्र्सटनस्थित चर्चमा गोली चलाएर नौ जना अश्वेतहरुको हत्या गरेका थिए। उनले हातमा कन्फिडरेट फ्ल्याग बोकेको एक तस्वीर त्यति वेला भाइरल भएको थियो।
गएको ६ जनवरीमा अमेरिकी कंग्रेसले राष्ट्रपति निर्वाचनको परिणाम औपचारिक घोषणा गर्ने कार्यक्रम थियो। त्यसका लागि संसद बैठक चलिरहेको थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवन क्यापिटल हिल्स घेर्नुका साथै भित्रै पसेर आक्रमण गरेका थिए।
आक्रमणकारी बैठकस्थलमा नै पुगेपछि झडप भएको थियो। सुरक्षाकर्मीले सांसदहरुलाई सुरक्षित स्थानमा लगेको थियो। त्यसक्रममा प्रहरी कारबाहीमा परी चार जनाको मृत्यु भएको थियो। यो आक्रमणका क्रममा एक व्याक्ति कन्फिडरेट फ्ल्याग बोकेर संसदको बैठकस्थलसम्मै पुगेको तस्वीर सार्वजनिक भएपछि बहस सिर्जना भएको थियो।
किन विवादित छ यो झन्डा ?
अमेरिकामा सन् १८६१ देखि १८६५ सम्म चलेको गृहयुद्धमा संयुक्त राज्य अमेरिकाविरुद्ध विद्रोह गर्ने सात राज्यको प्रतीकको रुपमा यो झन्डालाई लिइएको थियो। ती राज्यलाई कन्फिडरेट स्टेट्स अफ अमेरिका (सीएसए) भनिन्थ्यो।
सीएसएमा साउथ क्यारोलिना, मिसिसिपी, फ्लोरिडा, अलाबामा, जर्जिया, लुजियाना, टेक्सास, भर्जिनिया, अर्कान्सास, टेनेसी र नर्थ क्यारोलिना छन्। यी राज्यमा अहिले रिपब्लिकन पार्टीको राम्रो पकड भएको मानिन्छ।
यो झन्डालाई सीएसएको आधिकारिक झन्डाको रुपमा भने कहिल्यै प्रयोग गरिएन यसलाई आधिकारिक प्रयोगका लागि प्रस्ताव गरिए पनि अस्वीकार गरिएको थियो। यसलाई गृहयुद्धमा ‘ब्याटल फ्ल्याग’को रुपमा मात्र प्रयोग गरियो।
चार वर्ष चलेको गृहयुद्धमा ६ लाख २० हजारदेखि आठ लाख ५० हजारसम्म सैनिकको मृत्यु भएको थियो। पछि सबै कन्फिडरेट देश र सेनालाई आत्मसमर्पण गर्न या समाप्त हुन चेतावनी दिइएको थियो। त्यसपछि अधिकांश फौजले छिटोछिटो आत्मसमर्पण गरेका थिए। युद्ध औपचारिक रुपमा सकिएको घोषणा भने कहिल्यै भएन।
अहिले पनि यो झन्डालाई गोराहरुको प्रतीक मानिन्छ। यसले गोराहरुको प्रधानता र कालाहरुलाई सामाजिक र राजनीतिक बहिस्कारको वकालत गर्छ। त्यसकारण यसलाई अहिले पनि एकल जातीय झन्डाको रुपमा विभिन्न आन्दोलनमा प्रदर्शन गर्ने गरिन्छ। खासगरी तत्कालीन सीएसए राज्यका नागरिकले यसको प्रयोग गर्छन्।