नेपालको जातीय विविधता: समस्याको जरो कि सकारात्मक स्रोत ?
जुन राष्ट्रको आधारशीला नै जातीय विविधतामा खडा छ त्यसका बासिन्दाले यसबाट तर्सिने वा आत्तिने कुनै कारण छैन। बरू यस यथार्थलाई आत्मसात् गर्नाले अघि बढ्ने बाटो पैल्याउन सहिजो हुन्छ।
हाम्रो देशमा भविष्यमा कुनै दिन हिंसापूर्ण जातीय वा साम्प्रदायिक भिडन्त हुन सम्भव छ कि छैन भन्ने प्रश्न गर्नु भनेको भविष्यमा कुनै दिन हाम्रो देशमा भूईँचालो आउला कि नआउला भनेर प्रश्न गर्नु जस्तो कुरो होइन। किनभने भुईँचालो हाम्रो नियन्त्रणमा हुँदैन। यो त दैवसंयोगले हुने कुरा हो। जाति, धार्मिक समूह र सम्प्रदाय भनेको चाहिँ हामी आफै नै भएको हुनाले आपसमा दङ्गा र भिडन्तचाहिँ हामी सबै मिलेर कोसिस गरेमा टार्न पनि सक्छौं।
त्यसैले, त्यस्तो स्थिति आउला कि नआउला भनेर जोखना हेर्नुभन्दा कस्तो बोली व्यवहार गरेमा र कस्तो आर्थिक, सामाजिक र सांस्कृतिक बनोट भएको समाजको निर्माण गर्ने नीतिको अवलम्बन गरेमा भिडन्तको सम्भावना बढ्छ अथवा घट्छ र विविधतालाई कसोगरी स्याहारेमा यस देशको आकर्षक र सकारात्मक पक्ष अगाडि आउँछ तथा सबै नेपालीलाई बढी उदार सहयोगशील र सहिष्णु बन्न मद्दत पुग्न सक्छ भन्ने विषयमा चिन्तन गर्नु चाहिँ हामै चाहना र पौरखभित्रको कुरा हो।
चाहना र पौरख पनि यथार्थको सीमाभित्र रहेर गर्नुपर्ने वास्तविकता चाहिँ सबैले राम्रोसँग बुझनु पर्दछ। नत्र त हाम्रो देशको आकार चीनको जत्रो नहुनाले हामी गरीब र अविकसित भएका हौं भने पनि भयो। हाम्रो देशमा सबै एउटै जातका मानिस अर्थात् सबै नेपाली तामाङ वा थकाली आदि नभइदिएको हुनाले अथवा कि चाहिँ सबै नेपाली हिन्दू वा बौद्ध नभइदिनाले हामीलाई पिरलो परेको भन्ने खालका बहुलठ्ठी कुरा गरेर हिंडेपनि भइहाल्यो। तर, त्यसो गरेर काम लाग्दैन, किनभने हाम्रो देशको यथार्थ त्यस्तो छैन।
हाम्रा पुर्खाले आर्जेर छोडेको देश जस्तो भए पनि यही हो। हामीले यसैलाई स्याहार–सम्भार गरेर समुन्नत तुल्याएर तथा सबै जनाले एक आपसमा सद्भाव राखेर शान्तिपूर्वक बस्ने परम्परा बसालेर नेपालका भावी सन्ततिका लागि राम्रो, रमाइलो र समृद्ध नेपाल छाडेर जाने पौरख गर्न थाल्नुपरेको छ। त्यसो गर्न सकेमा यो देशको सांस्कृतिक, धार्मिक, जातीय र भाषिक विविधता भविष्यमा आकर्षक गहना बनेर देखा पर्न सक्तछ। संसारलाई यस्तो उदाहरण देखाएर सबैको सम्मान र आदर पाउनसक्ने परम्पराको शुरूआत गरिदिएमा पछिका पुस्ताका नेपालीबाट आजको परिपक्व पुस्ताले श्रद्धा र सम्मान पाउन सक्नेछ।
त्यसैले यस्तो बेलामा राष्ट्रभक्त, भविष्यमुखी र उदार मन भएका मानिसहरू बीच छलफलहरू हुनु समयोपयोगी हुनेछ। त्यसैगरी ऐतिहासिक यथार्थको खोजी गरेर लेखिएका अनुसन्धानात्मक लेख तथा ग्रन्थहरूको प्रकाशन गर्नुपर्ने टड्कारो आवश्यकता पनि छ।
हाम्रा पुर्खाले आर्जेर छोडेको देश जस्तो भए पनि यही हो। हामीले यसैलाई स्याहार–सम्भार गरेर समुन्नत तुल्याएर तथा सबै जनाले एक आपसमा सद्भाव राखेर शान्तिपूर्वक बस्ने परम्परा बसालेर नेपालका भावी सन्ततिका लागि राम्रो, रमाइलो र समृद्ध नेपाल छाडेर जाने पौरख गर्न थाल्नुपरेको छ।
कसैले नलेख्दैमा नेपालका विभिन्न जनजातिको इतिहास सधैं लुकेर बस्ने कुरा होइन। कसैले चाहँदैमा मेटिएर जाने कुरो पनि त्यो होइन। विभिन्न कारणले गर्दा अतीतमा तल्ला जातका, बुद्धि नभएका, जङ्गली, पाखे, मतुवाली आदि विशेषणबाट अपमानित हुँदा पनि सहेर बस्नुपर्ने बाध्यताभित्र परेका थुप्रै जनजातिले आज ठूलो स्वरले बोल्न खोजेकामा कसैले आश्चर्य मान्नुहुन्न। बरु ठूलो ठूलो तोक बोल्न सक्ने हुकमी शासनहरू समेत ढलाउन समर्थ भइसकेका नेपालीहरूले अब पहिलेजस्तो हामी ठूला र माथिल्ला जातका हौं भनी हिँड्ने कसैलाई पनि सहने छैनन् भन्ने कुरा सबैले बुझनुपर्ने भएको छ।
भाग्यवादी सिद्धान्तको प्रचार गर्नुपर्ने आवश्यकता भएको बेला जनजातिहरूलाई पढ्नै हुन्न भनेर उनकै पसिनाले उब्जाएको स्रोत र साधनको उपयोगद्वारा अधिराज्यभरि बाहुन पुरुषले मात्र पढ्न पाउने र बाहुन महिलाले समेत प्रवेश नपाउने पाठशालाहरू स्थापना गरी आफैंले मात्रै पढेर आफूलाई मन लागेको इतिहास र ग्रन्थ लेखेर नेपालका सबै जनजातिलाई असभ्य र जङ्गली भन्ने संज्ञा दिने पंडितहरू रिसाइरहे पनि अब जनजाति भनिनेहरू पढेर शिक्षित हुन थालिसके। आफ्नो इतिहास आदि लेख्न शुरू गरिसके। अब उनीहरू अरू कसैले आफ्नो इतिहास लेखिदेलान् भनेर पर्खेर बस्न छाडिसके।
त्यसैले संकटलाई टार्न खोज्ने सबै प्रकारको प्रयत्नमा उनीहरूको सहभागिता हुनु अनिवार्य भइसकेको छ। उनीहरूको भनाइलाई पनि धैर्यपूर्वक सुनिदिएर सभ्य र शिष्ट भाषामा छलफल गर्नुपर्ने बेला आइसकेको छ। भिडन्त हुनसक्ने सम्भावित कारणहरूका बारेमा खोजी तलासी र त्यसको निराकरण गर्ने उपायहरूको अवलम्बन गर्ने जमर्को गर्नु व्याहारिक, सान्दर्भिक र बुद्धिमानी ठहर्ने समय पनि आइसकेको छ।
समाधानको खोजी कसबाट ?
यस्तो किसिमको प्रमुख भूमिका खेल्न सक्नेहरूमा पत्रकार, साहित्यकार, कवि, दार्शनिक, कलाकार, अनुसन्धानकर्ता र अधिराज्यभरि छरिएका प्राध्यापक र शिक्षकहरू तथा समाजोत्थान कार्यमा समर्पित व्यक्तिहरू हुन सक्तछन्। यस्ता मानिसको ठूलो समूह हाम्रो देशमा नभएको पनि होइन। यस वर्गभित्र अधिकांश शिक्षित र परिष्कृत बाहुनहरू नै पर्दछन्। यहाँनेर के बुझ्नु जरूरी छ भने यस देशका सबै बाहुनहरू बाहुनवादका अनुयायी छैनन्। त्यसैगरी बाहुनवादका अनुयायी जति सबै बाहुन पनि होइनन्।
आज हामीलाई अरू कुनै देशको धार्मिक र सांस्कतिक परम्पराको बुई चढेर आफ्नो रित्तोपन देखाउने हुतिहाराहरूको भन्दा सम्पूर्ण नेपाली जनसंख्याको असि प्रतिशत भन्दा बढी संख्या भएका जनजाति भनिने आफ्नै देशका मानिसका बारेमा बढी चासो र माया लिएर अध्ययन, अनुसन्धान, लेखन र समाजसेवा गर्नाले मात्र शान्ति कायम गर्न सकिन्छ र देशको छिटो विकास हुन्छ भन्ने सोचाइ राख्ने बुझकी र उदार छाति भएका बाहुन युवाहरूकै बढी आवश्यकता परेको छ। यस्तो कार्यमा संलग्न हुने चाहना राख्ने थुप्रै उत्सुक बाहुन युवाहरू देखा परिसकेका पनि छन्।
संस्कृत भाषामा लेखिएका महत्वपूर्ण ने ग्रन्थरत्नहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी नेपाली समाजको धर्म संस्कृतिको सम्बर्द्धन तथा रक्षा गर्ने उपायको खोजी गर्नु आजको आवश्यकता हो। आँखा चिम्लेर ती सबै ग्रन्थलाई पवित्र, अकाट्य र अपौरुषीय ठानेर अक्षरसः पालन गर्ने लिंडे ढिपी गर्नाले हाम्रो सम्पूर्ण नेपाली समाजको साझा संस्कृति र सभ्यताको विकास तथा सम्बद्र्धन हुन सक्दैन भन्ने कुरा बुझ्न कसैलाई पनि धेरै गाह्रो नहुनु पर्ने हो। तर, यो तथ्यलाई बुझने सबै चेष्टा नगरी संस्कृत भाषाको सुगा रटाइमा सम्पूर्ण बालबालिकालाई अनिवार्य रूपमा धकेल्ने अति सशक्त आधुनिक सञ्चार माध्यमलाई समेत समाजोपयोगी विषयवस्तुको प्रचारप्रसार गर्ने काममा उपयोग गर्न छाडेर संस्कृत भाषाको समाचार प्रसार गर्दै राजनीतिक फाइदा लिन खोज्ने प्रवृत्ति यहाँ देखिएको छ। शुरवीर भनेर विश्वमा प्रसिद्धि कमाउने जनजातिहरूको उदारताको महत्वलाई राजनीतिज्ञहरूले बुझ्न नसक्नु दुःखको कुरा भएको छ।
बाहुनवादद्वारा प्रबर्द्धित भाग्यवाद
हजारौं वर्षअघिको हिन्दूस्थानमा, खासगरी उत्तर वैदिककालमा विभिन्न यज्ञ–याज्ञादि धार्मिक पूजा–पाठ गरी समाज कल्याण कार्यमा लाग्ने मानिसलाई ब्राम्हण भन्ने गरिएको थियो। तिनैको नामबाट त्यस्तो सम्पूर्ण असल कर्मलाई नै ब्राम्हणवाद भन्ने गरिएको हुनाले त्यस्तो कार्यलाई हिन्दुस्थानभित्रैका थुप्रै अवैदिक जनजाति (जसलाई बाहुनहरूले सधैं राक्षस, दैत्य, दानव भन्ने गर्थे) बाहेक अरू धेरै मानिसले प्रशंसनीय मान्दथे। निन्दा र आलोचना गर्दैनथे।
दुर्भाग्यवस, कालान्तरमा बाहिरी–भित्री दुवैतिरबाट लखेटाइ, थिचाइ, मिचाइ र धपाइको मारमा परेका ब्राम्हणहरू भागेर कोही दक्षिणको विन्ध्या पहाडतर्फ र कोही चाहिँ उत्तरको हिमाल पहाडतर्फ जान बाध्य भए। यसैक्रममा आजको नेपालको खसानतर्फ आइपुगेका ब्राम्हणहरूलाई खस शब्दहरूको उच्चारण अनुकूल ‘बाहुन’ भनी सम्बोधन गर्ने र उनीहरूको सम्पूर्ण जीवनपद्धतिलाई ‘बाहुनवाद’ भन्ने गरियो। त्यसबेलासम्म पनि ‘बाहुनवाद’ शब्दले नकारात्मक अर्थ बिलकुलै जनाउँदैन थियो। पछि खसहरूलाई क्रमिक रूपमा वर्ण व्यवस्थाभित्र समाहित गरी उनीहरूलाई आना जजमान बनाउँदै लगियो। खसहरूबाट सिदा, दान, दक्षिणा, विर्ता, गुठी लिएर आफ्नो जीविका चलाउनु पर्ने भएकोले यो चाँजो–पाँजो मिलाउने क्रममा बाहुनहरूलाई झूठो काल्पनिक कथा, पुराण, पुख्र्यौली, बंशावलीहरू निर्माण गर्ने बाध्यता हुन आयो। यसप्रकार धर्मका नाममा षडयन्त्र शुरू भयो।
शुरूमा खसका र पछि मगरका राजा रजौटा र भारदारहरूलाई फकाएर उनीहरूले बिल्कुल नबुझेको, नसुनेको नयाँ धर्ममा विश्वास दिलाउन बाहुनहरूलाई मनग्गे झूठको सहारा लिन परेको थियो। त्यसमाथि आफूलाई कुनै पनि शारीरिक कार्य गर्न नहुने बाहुन द्यौताको रूपमा प्रस्तुत गर्न पनि उनीहरूलाई कम प्रपञ्च रच्न परेको होइन। यसरी जानाजानी झूठ बोल्नेको मनस्थिति कमजोर हुनु स्वाभाविक हो। त्यस्ताले आफूलाई सबै सधैँ असुरक्षित ठान्छन्। उनीहरू आतंकित र आन्दोलित मानसिकताबाट थिचिएका हुन्छन्। त्यस्तो अवस्थामा सानो छायाँ देख्दा पनि तर्सिने मानसिकता बाहनहरूले बोक्नु स्वाभाविकै थियो।
मध्ययुगमा खसान र मगराँत क्षेत्रतर्फ पस्ने क्रममा धर्मको नाममा राजनीति गर्ने राम्रै तालिम पाइसकेको हुनाले आज पनि धेरै बाहुनहरू सबै भन्दा सजिलो पेशाका रूपमा राजनीतिलाई नै पछ्याउने गर्दछन्। यसै कारणले नै होला आज पनि भाग्यवादको प्रचार कार्यलाई राजनीतिज्ञहरूले धर्म नीति भनी झुक्याउने मा गरेको कुरा हामीले देख्नु–सुन्नु परिरहेको छ।
बाहुनवादमार्फत् प्रबर्द्धन र प्रतिपादन गरिएको भाग्यवाद नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई तल्लो स्थानमा राखेर आफूले मात्र पवित्र तथा उच्च स्थान ओगट्ने षडयन्त्र थियो भन्ने कुरालाई आजका प्रबुद्ध नेपालीले बुझ्नु र स्वीकार गर्नुपरेको छ। यसरी बुझिदिएमा सबै मिलेर भावी नेपालको निर्माण गर्न सजिलो पर्ने थियो। पुरानो पुस्ताले गरेको गल्तीलाई गल्ती हो भनेर स्वीकार गर्दा उदारताको नमूना प्रस्तुत हुने छ। त्यसबाट कसैलाई घाटा पर्दैन।
कोही पनि बाहुनहरू आफ्ना लागि भाग्यवादी विचारधारामा विश्वास गर्दैनन् भन्ने कुरा आज सबैले बुझिसकेका छन्। बाहुनवादको असल सिद्धान्त जति केवल फलाक्ने कुरामा सीमित रहने गरेको यथार्थ हाम्रो अगाडि छँदैछ। फलाक्ने मानिसहरू आफूले फलाकेका नियमहरू आफैले अनुशरण गर्ने आवश्यकता देख्तैनन्। तर, यो कुरा नबुझ्नेहरूले यस सिद्धान्तले फलाकेका अप्ठ्यारा नियमभित्र अड्ने प्रयत्न गर्दाखेरि निकै असजिलोमा पर्न गएको उदाहरणहरू धेरै छन्।
धेरै जनजाति समूहमा पाइने गरेको बाल–विवाहको प्रथा यसको एउटा उदाहरण हो। यसको अर्को उदाहरण जुम्लाको चौधबिसेका खसको गाई पाल्ने चलन हो। उनीहरू गाई पालेर दूध र दुग्ध पदार्थको उत्पादन झिक्नेभन्दा गाई पालेर प्रतिष्ठा कमाउने कुरामा बढी विश्वास गर्दछन्। अनि सबै खस क्षेत्री हुन् भनेर आफ्नै अस्तित्व र हजारौं वर्षको खसको इतिहासलाई मेटिदिने काममा अघि सरेर हिंड्ने गर्छन् विचरा खसका ठालूहरू।
आफ्नो पसिनाको कमाइलाई विभिन्न प्रकारका जनसेवी संस्था तथा पुरस्कार गुठीहरूको स्थापनामा लगाएर असल कामलाई प्रोत्साहन दिने दानवीर बाहुनहरू पनि यहाँ धेरै छन्। अत्याधुनिक गुरुकूल (विश्वविद्यालय) को स्थापना र संगठनमा समर्पित बाहुन तपस्वीहरू पनि छन्। यसरी आफ्ना सत्कर्मद्वारा नेपालीलाई अतुलनीय गुण लगाउनेहरूलाई देखेपछि बाहुन जातिप्रति पूर्वाग्रह राख्नुपर्ने कुनै आवश्यकता छैन भनिरहन नपर्ला।
अरूलाई भाग्यवादी बन्न सिकाउनेहरू आफै भाग्यवादी भएका भए आज क्रान्तिकारीहरूका अग्रपंक्तिमा यत्तिका बाहुनहरू अवश्य हुने थिएनन्, न त सरकारी सेवाको उच्च ओहदा ओगटेनमा त्यति धेरै बाहुन हुनसक्ने थिए। तर, त्यस्ता बाहुनहरूको सरहनी गर्दैमा बाहुनवादका अनुयायी बनेर सिधासाधा जनजातिका पुर्खालाई मात्रै झुक्याएर नपुगेर आज पनि ठगी खाने बाहुनहरूको आलोचना नगर्ने हो भने त असल काम गर्नेहरूको यथेष्ट आदर नगरिएको ठहर्दैन र ? अनि असल र खराबलाई छुट्याउन छाडेर सबै बाहुनलाई एउटै तहमा राखेर ‘टका सेर भाजी, टका सेर खाजा’ को उखानलाई सम्झाउने मानिसलाई विवेकी भन्न मिल्छ र?
आफ्नै देशभित्र रोजगारीका वैकल्पिक अवसरहरूको खोजी र तयारी गरेर नेपाली जनजातिका युवाहरूलाई स्वदेशमै बस्ने आकर्षण दिने काम गर्ने जाँगर देखाउनुको सट्टा गोर्खा भर्तीकेन्द्र बन्द गराउने नारामा बढी जोड दिनेहरू सबै बाहुन हुनु अनि आज अमेरिकामा ‘ग्रीन कार्ड’ लिएर स्थायी बसोबास गर्ने नेपालीमध्ये असी प्रतिशतभन्दा बढी शिक्षित र उच्च घरानाका बाहुन तथा पाँच प्रतिशतभन्दा थोरैमात्र जनजातिका मानिस हुनुले यो भनाइ र गराइप्रतिको ईमान्दारी र विवेकशीलता माथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ।
त्यसैले भाग्यवादको प्रचार त केवल नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई अविकसित राख्न र उनीहरूको पसिनाको कमाइलाई कामै नगरी आफूले खाने पार्न मात्र थियो भन्ने कुरा आज सबैले बुझ्नु परेको छ।
नेपालका सबै बाहुनको उत्पत्तिस्थल दक्षिणको मैदान होइन। मैदानबाट आएकाहरूमा पनि सबै बाहुन भागेर शरणार्थी भएर आएका थिएनन्। त्यसै हुनाले नेपालभित्रका सबै बाहुनले सिदा बटुलेर खाने गरेका थिएनन् भन्ने कुरा पनि प्रष्टै छ। तर, जो जो बाहुन भारतबाट भागिआए उनीहरूको लागि सिदा मागेर खानुबाहेक अरू उपाय थिएन। काठमाडौं उपत्यकामा जस्तो निम्ता दिएर कुनै पनि बाहुनलाई खसान र मगराँतमा बोलाइएको थिएन। काठमाडौं उपत्यकाभित्र मध्यकालमा र त्यसपछि पसेका बाहुनहरूको कुरा अर्कै हो। उनीहरू यहाँ शरणार्थीका रूपमा नभई बोलाइएर आएका थिए।
त्यसैले मैदानबाट भागेर खसान र मगराँतमा आइपुगेका थुप्रै बाहुनहरूलाई ढाँटेर छलकपट गरेर खाने अवस्था पर्न गएकोमा कसैले आश्चर्य मान्नु हुन्न। उनीहरूलाई त्यस्तो अवस्था पर्न गएकोमा कसैले अपमान, निन्दा वा गाली गर्नुमा पनि कुनै तुक छैन।
मध्ययुगसम्म खसान र मगराँतका राजाहरू सबै बौद्ध धर्मावलम्बी थिए। कोही पनि हिन्दू भइसकेका थिएनन्। त्यसैले खस मगर कसैले पनि मैदानका बाहुनलाई निम्तो दिएर बोलाउने कुरै थिएन। नबोलाइकन आउन परेको हुनाले उनीहरूमा असुरक्षाको भावना रहनु स्वाभाविक भएको हुनुपर्छ। उनीहरूको परिवारभित्र यो परम्परा रहिरहेको हुनाले त्यस्तो पृष्ठभूमि भएका बाहुनहरूमा आफूलाई असुरक्षित ठान्ने भावना र व्यवहारमा पनि बेलाबखत अनावश्यक तरिकाले प्रतिरक्षात्मक हुने प्रवृत्ति देखिन गएको हुनसक्छ। यति भएर पनि त्यस्ता बाहुनहरूलाई नेपालका जनजातिले आजसम्म पनि उदारतापूर्वक आफूभित्र समाहित गरिआएकै छन्। सिदा, दान दक्षिणा दिएर पालेर राखेकै छन्।
मैथिली बाहुनहरू निम्त्याइएर काठमाडौँ उपत्यकामा आइपुगेका हुनाले उनीहरूले त्यस्तो अवस्था व्यहोर्नु परेन जस्तो पश्चिम पहाडमा आइपुग्ने बाहुनहरूले व्यहोर्नु परेको थियो। त्यसैले होला उनीहरूमा त्यस्तो स्वभाव देखिएको छैन।
बौद्ध धर्मको निकै बलियो जग बसिसकेको भएतापनि विभिन्न ऐतिहासिक कारणहरूले गर्दा मैथिली बाहुनहरूको आगमन हुनु धेरै अघिदेखि काठमाडौं उपत्यकाभित्रका राजा र भारदारहरूमा हिन्दू धर्मको असर परिसकेको थियो। बाहुनहरूलाई बोलाउनुको कारण पनि त्यही नै थियो। बुद्ध धर्मलाई तहसनहस पार्ने शंकराचार्यलाई पनि काठमाडौंबाट निम्ता पठाएर नै बोलाइएका थियो। तर, खसान र मगराँतमा चाहिँ आफूलाई पाल्न क्षेत्री र ठकुरी जातको सिर्जना गरी नयाँ जजमान बनाउने आवश्यकता परेको हुनाले उनीहरूको नक्कली इतिहास र वंशावली बनाई उनीहरूलाई भारतबाट आएको भनी अरूबाट अलग्याइदिए।
खसहरूको अनुहार तथा भाषा समान उत्पत्तिको हुनाको कारणले बाहुनसँग निकै मिल्दो भएको हुँदा उनीहरूमा परस्परको निर्भरता बढाउँदै लैजान जति सजिलो भयो त्यति चाहिँ अनुहार तथा भाषा नमिल्नाको कारणले मगरहरूमा हुन सकेन। त्यसैले मगराँत क्षेत्रका मगर राजा रजौटाहरूलाई ठकुरी क्षेत्री बनाउने काम पनि मगर राज्यहरूको अन्त्य हुनुका साथै बन्द भयो। तर, अनुहार र भाषामा सामिप्य भएको हुनाले खसानमा खस राजाहरूको शक्ति कमजोर भैसकेपछि पनि ठकुरी र क्षेत्री बनाउने काम रोकिएन। त्यसै कारणले सम्पूर्ण खस अलपत्र पर्न पुगे। खसहरूको बिचल्ली हुनपुग्यो। त्यत्तिको बिचल्ली त मगरहरूको पनि भएको छैन। पूर्वका किराँतको त झन भएकै छैन।
मगर, किराँत र अरू जनजातिको आर्थिक उन्नति नभए पनि उनीहरूको स्वाभिमान भने त्यत्ति खस्न पाएको छैन। किनभने उनीहरू मध्येका उच्चवर्ग धेरैले ठकुरी र क्षेत्री बनेर जनै लगाएका छैनन्। त्यसले गर्दा उनीहरूलाई आफ्नै दाजुभाईलाई आफैले शुद्रको दर्जामा धकेल्ने आवश्यकता परेन। तर, उच्च तहमा पुगेका सबै खसहरूले जनै लाएर क्षेत्री भइदिनाले खस समूहभित्र एउटा पनि उच्चवर्गको मानिस बाँकी रहेन। आजसम्म एक जना खस पनि उच्चवर्गको कुरा त छाडौँ अलिकति माथि उठेकोसम्म पनि छैन। अलिकति मात्रै टाठो हुने बित्तिकै बाहुनले उसलाई क्षेत्री वा ठकुरी बनाइ हाल्छ। त्यसले गर्दा दशौं लाख खसहरूको अवस्था आजसम्म पनि अत्यन्तै दयनीय हुन पुगेको छ।
सप्रेको उच्चवर्गको एकजना खस पनि खस भएर बसिदिएन। बाहुनहरूलाई ठूलठूला रकम दान–दक्षिणा (आजभोलिको भाषामा घूस) दिएर क्षेत्री नै बने। खस राजा, रजौटा र भारदार हरूले उच्चतहमा पुगेपछि आफ्नै दाजुभाईलाई तल्लो दर्जामा खसालिदिनाले खसको जस्तो दुर्दसा भयो त्यस्ता उदाहरण संसारको इतिहासमा अन्त कतै पाइँदैन।
सबैलाई पौरखद्वारा आफ्नो भविष्य निर्माण गर्ने शिक्षा दिनु नै आजको प्रमुख आवश्यकता हो। बिहानीको घाम झुल्किसकेपछि पनि सुतेको मानिसका आँखा छोपिदिएर अँध्यारै छ भनेर जिद्दी गर्नु नैतिक व्यवहार कदापि मान्न सकिदैन।
बाहुनलाई पूजा गरेवापत आर्जेको पुण्यको फल उपभोग गर्दै उच्चतहमा पुगेका खस, क्षेत्री र ठकुरीले यसबारेमा आँखा उघारिदिएमा उनीहरूलाई अझ अरू पुण्य नै थपिने छ। धेरैले देखिसकेको यथार्थलाई आँखा चिम्लिएर होइन खोलेर हेर्नुपर्यो। आफूले आँखा चिम्लँदैमा सबै अन्धा हुन्छन् भनी ठान्दा आफैलाई नोक्सान हुन्छ, अरूलाई होइन। खस मगरबाट ठकुरी र क्षेत्री बनेका ठूला, सफल र सहृदयी बन्धुहरूले यो विषयमा अलिकति गहिरिएर बिचार गरिदिएमा त उनीहरूकै महानता देखिनेछ। अनि हाम्रो देशको सामाजिक र साँस्कृतिक क्रान्तिको यो भन्दा राम्रो उदाहरण अरू केही हुनेछैन।
आजको खाँचो
सबैलाई पौरखद्वारा आफ्नो भविष्य निर्माण गर्ने शिक्षा दिनु नै आजको प्रमुख आवश्यकता हो। बिहानीको घाम झुल्किसकेपछि पनि सुतेको मानिसका आँखा छोपिदिएर अँध्यारै छ भनेर जिद्दी गर्नु नैतिक व्यवहार कदापि मान्न सकिदैन।
राजालाई प्रतापी र पौरखी मगर राजाका सन्तति होइनन्, भागेर खसान मगरात आइपुगेका र त्यसरी आउँदा सम्भवतः झुत्रे, झाम्रे, हाडे, करङगे भइसकेको भारतीय शरणार्थीका सन्तान हुन् भनेर आज पनि नेपाली जनतालाई आँखामा छारो हाल्ने काम गर्नु उचित हो र? बहादुर तथा पौरखी भनेर संसारमा चिनिने र नेपालको इज्जत कायम गर्ने मगरहरूको अपमान गर्ने प्रयत्न गर्नु न्यायसङ्गत र विवेकी कार्य भयो त? मगर राजाका वंशजले नेपालको एकीकरण गर्नाले नेपाललाई नोक्सान भएको छ त ? अनि आजका राजकूललाई पनि यसबाट हानी भएको छ त?
आफैलाई मात्रै उच्च र पवित्र ठान्नेहरूले फकाई–फुलाई जनै लगाइदिएर क्षेत्री बनाइएका मानिसबाट सधैं दक्षिणा र सिदा मिल्ने हुनाले तिनको चाकरी गर्दै अरू सबै जनजातिलाई अपमानित गर्ने बाहुनवादको चाला बुझेर पनि चूप लागेर बस्न मिल्छ त ? आफ्नो रगत र पसिनाले कमाएर ल्याएको पैसाले देशको अर्थ व्यवस्था धान्न सघाउने जनजातिमाथि आज पनि षड्यन्त्रकारी राजनीति गरिरहन ठीक हो त? उनीहरूको गौरवमय गाथालाई मान्यता दिनाले देशलाई नोक्सान हुन्छ त ? देशभित्रको सबै जनजातिको ऐतिहासिक गाथाहरूको अनुसन्धान र प्रकाशनले सिंगो नेपाललाई फाइदा हुँदैन र?
यसै क्रममा हालका राजाका पुर्खा मगरका दाजुभाई सावित भैदिएमा र आजका थारूका पुर्खा सिद्धार्थ गौतमका दाजुभाई सावित भैदिएमा कसैलाई दुख्ने कुरा के छ ? आखिर “बादे बादे जायते तत्वबोध“ सिद्धान्त पनि हाम्रै पुर्खाको चिन्तनको उपज होइन र?
पुराना दिनमा भएका गल्ती र तिनका कारणलाई बुझिसकेपछि पनि लिंडे ढिपी गर्दै धर्मकार्य नै हो भनी सावित गर्न सिधासादा जनजातिका युवालाई फकाई–फुल्याई सित्तैमा जनै लगाइदिएर क्षेत्री बनाइदिँदैमा पुरानो पाप पखालिने होइन ? यस्ता धर्म गर्ने धेरै बाहुनका छोराहरूले आफूले लगाइ सकेको जनैलाई एकातिर मिल्काएर गाईको मासु खाने समाजमा र मुलुकमा बसाई सर्दै गाईको मासु खाने व्यक्तिसँग विबाह गरी निजी उन्नतिमा लागेका बेला यता चाहिँ सिधासादा जनजातिलाई ललाई–फकाई जनै लगाइदिने कामले आज कसका आँखामा छारो हाल्न खोजिएको हो ?
एउटा अर्को क्रान्ति
२००७ सालमा नेपाली जनताले सशस्त्र क्रान्ति गर्नुपर्यो। सशस्त्र शक्तिकै बलमा अडेको त्यसबेलाको व्यवस्थाको विरोधमा नेपाली जनता आन्दोलित भएका थिए। त्यसबेला हतियार खरीद र सम्पूर्ण क्रान्ति सञ्चालन गर्ने काममा ठूलो धनराशी लगानी गर्नेहरूमा सत्ताशीन राणाका आफ्नै बाजेका नाति अर्थात् काकातर्फका छोराहरू नै थिए। अनि उपत्यकाभित्रै बसी राणा दाजुभाईलाई एकत्रित पारेर सत्तासीन राणाहरूको सरकार ढाल्न अन्तिम र निर्णायक धक्का दिनेहरूमा पनि एउटै बाजेका अर्काथरी नातिहरू थिए। त्यसबेलाको नेपाली आकाश गुञ्जाउने “राणा शासन मुर्दावाद“का नाराले सबै राणाहरू तर्सिएनन्, आत्तिएनन्।
त्यसैगरी २०४६ सालको जनआन्दोलनलाई पनि त्यसबेलाका थुप्रै पञ्चहरूले सघाएका थिए। केही पञ्चले अन्तिम समयसम्म कठोर कारवाहीद्वारा आन्दोलनलाई दमन गर्ने प्रयत्न गरेकाले केही समयका लागि पञ्चहरूले लुकिहिँड्नु पर्यो तापनि अधिकांश पञ्चहरू आन्दोलनका कारण आत्तिएर चिच्याएनन्। त्यसबखतको आन्दोलनमा हतियार उठाउने आवश्यकता पनि परेन। किनभने सरकार सैन्य शक्तिको बलमा अडेको नभई सानो समूहको मात्र स्वार्थसिद्धि गर्ने सैद्धान्तिक आधारमा अडेको थियो।
त्यसैले बहुसंख्यक जनताले विश्वास गरेको बहुसंख्यक जनताको निर्णयलाई सार्वभौम शक्तिको स्थान दिने सिद्धान्तलाई सर्वोपरी मान्यता दिने अर्को व्यवस्था ल्याउन त्यति ठूलो क्रान्ति गर्नु परेन। तसर्थ, आजसम्म आर्थिक, राजनैतिक र शैक्षिक हिसाबले पछि परेका विभिन्न जनजातिले पनि अधिकार तथा सुविधाको माग गर्दा न त हतियार बोकेर हिंसापूर्ण क्रान्ति गर्नुपर्ने खाँचो छ, न कसैले यसबेला आत्तिनु पर्ने आवश्यकता छ। किनभने भिडन्त गर्ने खालको क्रान्तिबाट यो समस्याको सामाधान हुनै सक्तैन।
दूरगामी परिणाम
यस्तो क्रान्ति विश्वको इतिहासमा पहिलोपल्ट हुन थालेको होइन। यस्तै खालका क्रान्तिहरू धेरै पटक धेरै ठाउँमा भइसेकका छन्। त्यसैले हामीले सिक्ने उदाहरणहरू धेरै छन्। आत्तिनु र डराएर च्याँठिनु पर्ने आवश्यकता छैन। त्यसमाथि जस्तोसुकै अपराध गरे तापनि बाहुनलाई नमार्नु भन्ने अर्ति मात्र होइन कानूनी प्रावधान समेत बनाएर जाने प्रतापी जनजातिका पुर्खाले बाहुनलाई ठूलो गुण लगाएर गएका छन्। त्यसैले यो देशका कुनै पनि बाहुनले आत्तिनु पर्दैन। बरु प्राचीनकालदेखि मध्ययुगसम्म आफ्नो देशलाई निकै समुन्नत र शक्तिशाली अवस्थामा पुर्याउन सफल भैसकेका बौद्ध धर्मावलम्बी खस र मगर राजाहरूलाई जनै पहिराएर आफ्ना जजमान बनाउन सफल भएका बाहुनका सन्तानले त्यो गौरवशाली इतिहासलाई मेटिदिने अपराध गर्नु भएन।
पुराना दिनमा भएका गल्ती र तिनका कारणलाई बुझिसकेपछि पनि लिंडे ढिपी गर्दै धर्मकार्य नै हो भनी सावित गर्न सिधासादा जनजातिका युवालाई फकाई–फुल्याई सित्तैमा जनै लगाइदिएर क्षेत्री बनाइदिँदैमा पुरानो पाप पखालिने होइन ?
कुनै पनि पराक्रमी पौरखी राजपूत भागेर माग्दै खाँदै हिँड्दैन थिए। उनीहरू त भगवान श्रीकृष्णको “हत्वा वा प्राप्स्यसि श्वर्गम् जीत्वा वा भोक्षसे महिम्” भन्ने कर्मयोगको शिक्षाद्वारा निर्देशित हुन्थे। त्यसैले कुनै प्रतापी राजघरानाको राजपूत क्षेत्री भागेर पहाड पस्ने कुरै थिएन। केहीगरी कुनै राजपूत आफ्नो शिक्षा, धर्म र परम्परा विपरीत बाटो अपनाएर पहाड पसेको भए त्यस्तो भगुवा राजपूत ठूलो घरानाको र पौरखी पृष्ठभूमिको हुन सम्भव छैन। अनि त्यसबेलाका वीर खस–मगरले आफूले मानिआएका राजालाई राजगद्दीबाट ओरालेर त्यो माग्दै खाँदै आएको भगुवा राजपूत क्षेत्री भनाउँदो मानिसलाई राजाको स्थानमा आशीन गराए होलान् भन्ने ठान्नु आफ्ना पुर्खाको सोझै अपमान गर्नु हो।
यसबाहेक राजालाई उतैतिरबाट भागेर आएकाको सन्तान हुनाले नेपाली जनजातिले आफ्नो ठानेर श्रद्धा गर्ने छैनन् भन्ने झूठो प्रचारलाई बल प्रदान गर्नु हो। यो कुरालाई मान्नाले हामी बाहुन मात्र राजसंस्थाका पुजारी समर्थक हौँ भनेर चलाउँदै आएको झूठो परम्पराको चर्चालाई मान्यता दिन हुनेछ। बाहुनहरूले चलाइआएको त्यस्तो चर्चामा कति इमान्दारी छ भन्ने कुरा त मौका परेको बेला कसले कस्तो व्यवहार गर्दो रहेछ भन्ने कुराले देखाइसकेको छ।
निकै सम्पन्न र शक्तिशाली रहँदै आएका खसान र मगराँत राज्यका प्रतापी खस र मगरका पूर्खा त्यति बिघ्न लाटा थिएनन्। लाटा भएका भए आफ्नो देश र समाजलाई त्यत्रो सम्पन्न अवस्थामा पुर्याउन सक्ने थिएनन्। उनीहरू सम्पन्न नभएका भए ती बाठा बाहुनहरू खसान र मगराँतसम्म आइपुग्ने थिएनन्। यसरी आइपुगेका आफूभन्दा शिक्षित र परिष्कृत देखिएका बाहुनलाई पुरोहितको स्थान दिई आफ्नै पसिनाको कमाइले पाल्नसक्ने उदारता त्यस बेलाका खस–मगरहरू असभ्य भएका भए देखाउने थिएनन्।
आफ्नो लागि सबै सरहको अधिकारको साथै सुरक्षाको आशा राख्ने अधिकार आजका बाहुनहरूलाई पनि हुनुपर्छ भन्ने कुरामा दुईमत हुन सक्तैन। अर्कोको लागि त्यत्ति अधिकार दिन पनि कन्जुस्याइँ गर्ने बानी नेपालको कुनै पनि जनजातिमा आजसम्म देखिएको छैन।
परापूर्व कालदेखि आफ्नो रगत पसिनाले आर्जेको सम्पत्ति दान, दक्षिणा, विर्ता र सिदा दिएर बाहुनलाई पाल्दै आएका मतुवाली जनजातिले भविष्यमा पनि बाहुनलाई अवश्य फाल्ने छैन। यस्तो कुरा बुझ्नुमा नै सबैको कल्याण निहित छ, अन्यथा यो देशमा शान्तिपूर्ण तरिकाले आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्ति अघि बढाउनु सम्भव हुने छैन।
(जुम्ला, चौधबीसामा कर्णाली इन्स्टिच्यूट खोलेर त्यहाँका जनताको उन्नतिमा लागेका मानवशास्त्री डोरबहादुर विष्टको यो लेख साउन–असोज २०५२ को हिमाल त्रैमासिकमा छापिएको थियो । लेख छापिएकैं वर्षको २७ पुसमा जुम्लाबाट जहाजमा नेपालगञ्ज झरेका उनी त्यसयता हराइरहेका छन् ।)