हिमाल आरोहणमा पर्यटकीय आकर्षण बढ्दै, ४३ आरोहीले लिए आरोहण अनुमति
काेरोना महामारीले ठप्प भएको पर्यटक आगमनका कारण रोकिएको हिमाल आरोहणमा यो वर्षको जाडो सिजनका लागि ९ टोलीका ४३ आरोहीले आरोहण अनुमति लिएका छन्।
पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले ७ हिमाल आरोहण गर्न ३६ पुरुष र ७ महिला गरी ४३ आरोहीलाई आरोहण अनुमति दिएको हो।
विभागका प्रवक्ता मिरा आचार्यले जारी गरेको एक तथ्यांक अनुसार ६७२६ मिटरको लुजा पीक,६५०६ मिटरको च्युङग्यारी २ आरोहणको अनुमति जारी भएको छ। ६८१४ मिटरको आमादब्लम, ६५२३ मिटरको सुर्मा सरोवर, ५४६७ मिटरको रोकापी, ८१६३ मिटरको मनास्लु र ६०१२ मिटरको थापा पीक आरोहणको अनुमति दिइएको छ।
यी सात हिमालमा आरोहण गर्न अनुमति लिनेमध्ये मनास्लु र आबादब्लमका लागि दुई वटा टोली छन् भने अन्य हिमालका लागि एक/एक टोली छन्।
लुजा, मनास्लुको एक टोली र थापा पीक आरोहण गर्ने तीन टोली नेपाली छन् भने बाँकी टोली विदेशी रहेको पनि पर्यटन विभागले जानकारी दिएको छ। विभागका अनुसार यो वर्षको जाडो सिजनका लागि हालसम्म अनुमति लिएका उक्त नौ टोलीबाट रू. ८ लाख ७९ हजार ६८८ रोयल्टी संकलन भएको छ।
कोरोना महामारीका कारण पर्यटक आमगन नभएर सन् २०२० को वसन्त र शरद ऋतुमा हिमाल आरोहण भएन। सरकारले पर्वतारोहणको लागि अनुमति खुला गरेपछि र कोरोना महमारीपछि यो नै ठूलो टोलीले नेपालमा हिमाल आरोहण गर्न लागेको विभागले जानकारी दिएको छ।
आगामी मार्चदेखि पर्यटकको आरोहण र पदयात्रामा बुकिङ आउन थालेको छ भने हवाई टिकटको लागि पनि विदेशीले बुकिङ गर्न थालेको पर्यटन व्यवसायीले बताएका छन्। यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार पर्यटकीय आकर्ष विस्तारै शुरू हुने देखिएको छ।
कोरोना महामारी शुरू भएदेखि रोकिएको पर्यटकीय गतिविधि अब भने शुरू हुने देखिएकोले पर्यटन व्यवसायीले आशा गर्न थालेको बर्तौला बताउँछन्।