वामदेव अभियानको अर्थ : पार्टी एकीकरण कि अवसरवाद !
नेकपा दुई समूहमा विभाजित हुँदा तटस्थ बसेका नेता वामदेव गौतमले पार्टी एकीकरणको अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। तर, यसलाई उनको अवसरवाद मात्र भएको अर्थ लगाउन थालिएको छ।
प्रतिनिधिसभाको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरीत राष्ट्रपतिबाट विघटन गराउने कदम गलत र भत्सर्नायोग्य छ।
- ५ पुसमा वामदेव गौतमले जारी गरेको विज्ञप्तिबाट।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका जति पनि रिटहरू छन् ती सबै संवैधानिक इजलासमा लगिएपछि अब असंवैधानिक हुन् भन्न मिल्दैन। त्यसो भएर म चुप लागेको छु।
- २३ पुसमा राष्ट्रिय सभा बैठकमा बोल्दै वामदेव गौतम।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गएको ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटतिर अघि बढेको छ। यतिबेला नेकपाको ओली र दाहाल–नेपाल समूह देशव्यापी कार्यकर्ता भेला, प्रशिक्षण र सभामा व्यस्त छन्।
तर, नेकपा उपाध्यक्ष तथा सचिवालय सदस्य रहेका नेता वामदेव गौतम दुवै समूहलाई एक बनाएर जाने अभियानमा लागेको बताउँछन्। एमाले र माले विभाजन हुँदा त्यसको असर र प्रभाव राम्रोसँग बुझेका गौतमको कदमलाई कार्यकर्ताको एउटा पंक्तिले झिनो आशा मानेको छ। तर, ठूलो पंक्तिले भने उनलाई ‘मौकापरस्त नेता’को रूपमा हेर्छन्।
गौतमका फरक–फरक अभिव्यक्तिले पनि उनका आलोचकलाई शंकाको सुविधा दिएको छ। २०५४ सालमा एमाले विभाजन गर्दा गौतमलाई साथ दिएका नेकपा मालेका महासचिव सीपी मैनाली पनि गौतमको अभियानलाई मौकापरस्त र अवसरवाद भएको बताउँछन्।
गाैतम निकट नेताहरू भने कि ओली, कि नेपाल–दाहाल समूहमा लागिसकेका छन्। दार्चुलाका गणेश ठगुन्ना ओली समूहबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्। दाङका घनश्याम पाण्डे ओली समूहको केन्द्रीय सदस्य छन्। गौतमकी श्रीमती तुलसा थापालाई पनि ओली समूहले केन्द्रीय सदस्यमा राखेको छ।
“प्रधानमन्त्रीको कदम अदालतमा अड्केको छ। सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्यो भने नेकपालाई एक हुने बाध्यता आइलाग्छ, यस्तो अवस्थामा वामदेवको अभियानले ठाउँ पाउन सक्छ”, मैनाली भन्छन्, “त्यसैले अहिले वामदेव पर्ख र हेरको अवस्थामा छन्।” अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गरे नेकपाको ओली समूह बलियो हुने हुँदा गौतम त्यतै लाग्ने उनी बताउँछन्।
गौतम निकट नेताहरू भने कि ओली, कि नेपाल–दाहाल समूहमा लागिसकेका छन्। दार्चुलाका गणेश ठगुन्ना ओली समूहबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्। दाङका घनश्याम पाण्डे ओली समूहको केन्द्रीय सदस्य छन्। गौतमकी श्रीमती तुलसा थापालाई पनि ओली समूहले केन्द्रीय सदस्यमा राखेको छ।
लामो समयदेखि गौतमलाई साथ दिइरहेका गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र पाल्पाका दलबहादुर राना पनि ओली समूहमै छन्। तर, गौतम निकट मानिने बलराम बास्कोटा र वसन्त मानन्धर नेपाल-दाहाल समूहतिर लागेका छन्।
गौतम निकट नेकपा केन्द्रीय सदस्य हरी पराजुली एकता अभियानलाई अवसरवादको रूपमा हेर्नु गलत भएको बताउँछन्। पार्टीलाई एकीकृत राख्न प्रयास गर्नु सकारात्मक विषय भएको उनको भनाइ छ।
माले महासचिव मैनाली भने गौतमले चाहेको भए नेकपा विभाजनमा जानुअघि नै रोक्नका लागि भूमिका खेल्न सक्ने अवस्था रहेको बताउँछन्। “सचिवालयमा प्रचण्डले ल्याएको प्रस्तावलाई वामदेवले समर्थन नगरदिएको भए नेकपाको यो हविगत हुने थिएन”, उनी भन्छन्, “सत्ता र शक्तिका लागि वामदेवको आशक्ति थियो। ओलीले उनलाई धेरै आश्वासन दिएर पनि पूरा गरेनन्। त्यसैले रिस फेर्न अर्को समूहमा लागेर वामदेवले गरेको गल्तीका कारण अहिले नेकपाको यो हविगत भयो।”
फुटतर्फ जानुअघि नै पार्टी एकताको लागि अहिले भनेजस्तो अभियान चलाएर ‘नायक’ हुनसक्ने अवस्थालाई उनी आफैंले समाप्त गरेको मैनालीको भनाइ छ। केन्द्रीय सदस्य पराजुली भने जति बेला पार्टीमा समस्या आउँछ त्यतिबेलै समाधान गर्नुपर्ने बताउँछन्। त्यतिबेला सचिवालयमा गौतमको भूमिकाले अर्थ राख्ने अवस्था नभएको उनको भनाइ छ।
“सचिवालयले गरेका निर्णय कार्वान्यन नै भएका थिएनन्, सचिवालयले निर्णय गरेर मात्र हुँदैनथ्यो, स्थायी समिति र केन्द्रीय कमिटीबाट पास गर्नुपर्दथ्यो,” पराजुली भन्छन् “पुस ४ गते दुई अध्यक्ष (ओली र दाहाल) को बैठकमा वामदेवलाई बोलाइयो, केपी कमरेडले दुई जनाको प्रस्तावलाई खारेज गरेर जाउँ भन्नुभयो। वामदेवले पनि खारेज गरेर मेलमिलाप गरौं भन्नुभयो, प्रचण्डजीले मान्नुभएन। त्यसपछि परिस्थिति बिग्रिएर गयो।”
वामदेवको विगत
तत्कालीन नेकपा एमालेमा वामदेव गौतमलाई कुनै बेला प्रखर, जोसिलो, जुझारु र हक्की नेताको रूपमा हेरिन्थ्यो। २०५१ सालमा तत्कालीन महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा सरकारमा जाँदा पार्टीको जिम्मा वामदेवकै काँधमा आएको थियो। त्यसबेला गौतमले पार्टी संगठनलाई व्यवस्थित बनाएका थिए।
२०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन एमालेले बहुमतभन्दा धेरै स्थानीय निकायमा जीत हात पार्दा गौतमले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। तर, उनले संगठन निर्माणमा जति योगदान गरे, त्यसलाई भत्काउनमा पनि उनलाई जिम्मेवार ठानिन्छ। २०५४ सालमा एमाले विभाजन भएर नेकपा माले बन्दा उनी त्यसको महासचिव थिए।
यो विभाजनपछि २०५६ मा भएको आम निर्वाचनमा एमालेलाई ६९ सिटमा खुम्च्याइदिएको थियो भने कांग्रेसले बहुमत हासिल गरेको थियो। नेकपा मालेले भने एक सिट पनि जित्न सकेको थिएन। एमाले र मालेका उम्मेदवारले प्राप्त गरेको मत जोड्दा पार्टी विभाजनकै कारण एमाले ४० सीटभन्दा बढी स्थानमा हारेको देखिन्छ। यसर्थ, एमालेले फुटकै कारण सुविधाजनक बहुमत ल्याउने अवसर गुमाएको थियो।
२०५४ सालमा माले विभाजन भएको एक हप्तामा नै गौतम र मैनालीको कुरा मिल्न छाडेको थियो। माले गठनपछि केन्द्रीय कमिटीमा सदस्य थप्ने विषयमा कुरा नमिलेको मैनाली बताउँछन्। दुवै पक्षले केन्द्रीय सदस्यमा थप्न आफ्ना पक्षका नेतालाई महत्व दिँदा विवाद भएको थियो।
२०५४ सालमा एमाले विभाजनको कारण महाकाली सन्धि बनेको थियो। त्यतिबेला पार्टी विभाजनका लागि उनलाई सीपी मैनालीले साथ दिएका थिए। तर, गौतम मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)लाई आदर्श मान्थे भने मैनालीको सिद्धान्त ‘नयाँ जनवादी क्रान्ति’ थियो।
त्यतिबेला महाकाली सन्धिको विरोध गर्ने बलियो शक्ति पार्टीमा निर्माण गर्न गौतमलाई सहयोग गरेको मैनाली सम्झन्छन्। “महाकाली सन्धिलाई सच्चाउनका लागि मैले उनलाई साथ दिएको हो। उनले महाकालीको विरोध गर्नेहरू जबजवाला धेरै छन्, त्यसैले नौलो जनवादी कार्यक्रमको प्रस्ताव थाँति राख्नुस् भनेपछि मैले जबजकै छातामुनि रहेर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादलाई घुसाएर अर्को प्रस्ताव तयार पारेको थिएँ।”
पार्टी विभाजन गरेर कांग्रेसँग मिली सरकार बनाउने ‘गौतमको दाउ’ आफूले नबुझ्दा धोका पाएको मैनालीको भनाइ छ। “त्यो दाउ बुझेको भए वामदेवलाई साथ दिने थिइनँ”, उनी भन्छन्। त्यतिबेला गौतमलाई साथ दिएकोमा मैनालीलाई अहिले पनि पश्चताप छ।
२०५४ सालमा माले विभाजन भएको एक हप्तामा नै गौतम र मैनालीको कुरा मिल्न छाडेको थियो। माले गठनपछि केन्द्रीय कमिटीमा सदस्य थप्ने विषयमा कुरा नमिलेको मैनाली बताउँछन्। दुवै पक्षले केन्द्रीय सदस्यमा थप्न आफ्ना पक्षका नेतालाई महत्व दिँदा विवाद भएको थियो।
त्यसपछि दुई नेताबीच सैद्धान्तिक किचलो शुरू भएको थियो। जबजलाई अंगिकार गरे पनि नयाँ जनवाद र अन्य विचारलाई समेत छलफलका लागि स्थान दिने सहमतिसहित दस्तावेजको मस्यौदा तयार भएका थिए। तर, छपाइ गर्दा गौतमले त्यसलाई हटाएको आरोप मैनाली लगाउँछन्।
एमाले विभाजनलगत्तै माले गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सहभागी भयो। त्यसपछिको निर्वाचनम एक सिट पनि नजितेपछि मालेमा विवाद शुरू भयो। लगत्तै एमालेसँगको एकता बहस पनि थालियो। ३ फागुन २०५८ मा मैनाली र केही केन्द्रीय सदस्यलाई छाडेर एमाले र मालेबीच पार्टी एकता भयो।
एकतापछि २०५९ सालमा एमालेको सातौं महाधिवेशन भयो। उक्त महाधिवेशनमा गौतमले केपी ओलीलाई साथ दिएका थिए। आठौं महाधिवेशनमा भने झलनाथ खनालको प्यानलबाट उपाध्यक्षमा निर्वाचित भए। नवौं महाधिवेशनमा गौतमकै सहयोगमा ओली अध्यक्षमा निर्वाचित भए।
२०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनयता ओली र गौतमको सहकार्य हुँदै आएको थियो। गौतमकै सहयोगमा संसदीय दलको नेतामा ओलीले पार्टी अध्यक्ष खनाललाई हराएका थिए। तर, ओली र गौतमबीचमा भएका सत्ता र पदीय बाँडफाँडका सहमति कार्वान्यन नहुँदा दुईबीच खटपट शुरु भएको थियो।