पारिवारिक विवादमा बाबुले घरमा आगो लगाए, दुई छोराको जलेर मृत्यु
कालीकोटको नरहरिनाथ गाउँपालिका–७ दुल्लीमा पारिवारिक विवादलाई लिएर बाबुले आफ्नै घरमा आगो लगाउँदा उनका दुई जना छोराको जलेर मृत्यु भएको छ।
बुधबार बिहान बाबु भैरे बटालाले आफ्नै घरमा आगो लगाउँदा उनका छोराहरू १२ वर्षीय छोरा गणेश बटाला र ९ वर्षीय छोरा मनवहादुर बटालाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
घरमा आगो लगाएपछि बाबु भैरेले आफूले पनि विष सेवन गरेको र कान्छो छोरा ४ वर्षीय खगेन्द्र बटालालाई पनि विष सेवन गराएको भेटिएको कालीकोटका प्रहरी प्रमुख, डीएसपी चक्रबहादुर शाहले बताए।
डीएसपी शाहले घरमा आगो लगाउने भैरे र उनको कान्छो छोरा पनि विष सेवन गरेको अवस्थामा भेटिएकोले उनीहरूको अहिले उपचार भइरहेको बताएका छन्। उनका अनुसार बाबु भैरेले आफूसँगै छोराहरूलाई पनि विष सेवन गराएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनास्थलमा कुमालगाउँ प्रहरी चौकीबाट प्रहरी खटिएको र जलेर मृत्यु भएका दुई बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउन लागिएको डीएसपी शाहले बताए। घटनाको बारेमा थप अनुसन्धान कार्यका लागि प्रहरी घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन्।