पाहुना नआए पनि थपिदै छन् पर्यटन पूर्वाधार
महामारीपछि पर्यटकीय गतिविधि ठप्प छ। पर्यटकको चाप पुरानै अवस्थामा कहिलेबाट फर्कने हो निश्चित छैन। तर व्यवसायीहरु आशावादी भएकै कारण धमाधम थपिदै छन्, पर्यटकीय पूर्वाधार।
नेपालमा कोरोना महमारीको प्रभाव देखिनुअघि सन् २०२० को पहिलो तीन महिना दुई लाख १५ हजार १११ पर्यटक आइसकेका थिए। कोरोना नियन्त्रण गर्न सरकारले बन्दाबन्दी घोषणा गरेपछि भने पर्यटक आगमन प्रायः ठप्प नै भएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ।
विभागका अनुसार बन्दाबन्दीपछिको ६ महिना अर्थात गएको अप्रिलदेखि सेप्टेम्बरसम्म पर्यटक आगमन करिब ठप्प नै भयो। त्यति बेला नेपाल आउनेमा नेपाली मूलका विदेशी नागरिक, महामारी अध्ययन गर्न आउने संघसंस्थाका पदाधिकारी र आफन्त भेट गर्न आउने तर, विदेशमा बस्ने नेपालीमात्रै थिए। सरकारले पर्वतीय पर्यटकका लागि खुला गरेपछि भने मासिक दुई हजार पर्यटक आउन थालेका छन्। गएको नोभेम्बर र डिसेम्बरमा पनि औषत मासिक दुई हजार पर्यटक आए। महामारी सुरु भएपछि नेपालमा जम्मा १४ हजार ९७४ विदेशी पर्यटक मात्रै आएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ।
कोरोनाभाइरसको नयाँ ‘भेरिएन्ट’ पहिलोपटक भेटिएको बेलायतमा संक्रमितको संख्या ह्वात्तै बढेका छन्। उड्डयन प्राधिकरणले सो मुलुकबाट आउने विदेशी नागरिकलाई प्रवेश प्रतिबन्ध लगाएको छ। अन्य देशबाट आउने पर्यटकलाई होटल क्वारेन्टिन अनिवार्य गरिएको छ।
विभागका सूचना अधिकारी टेकनारायण पौडेल सरकारले औपचारिक रूपमा पर्यटक आगमन खुला नगरेको बताउँछन्। उनी भन्छन्, ‘‘अहिले पनि नेपालमा आउने विदेशी पर्यटकको लागि अनअराइभल भिसा खुलेको छैन्। पूर्व स्वीकृति लिएर वा सम्बन्धित देशको दूतावासबाटै भिसा लिएर आउनेलाई मात्रै प्रवेश दिइएको छ।’’ महामारीको जोखिम कम हुन थालेपछि सरकारले पर्यटक आगमनमा सहजीकरण पनि गर्दै जाने हुँदा आगमन बढ्ने अपेक्षा पौडेलको छ।
त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थल कार्यालका अनुसार दैनिक अन्तर्राष्ट्रिय यात्रु नै जम्मा एक हजारदेखि एक हजार १०० मात्रै हुन्छन्। नेपाल आउने विदेशीमध्ये चिनियाँको संख्या बढी छ। नेपाली नागरिक जाने र आउने क्रम मात्रै बढी रहेकोले पर्यटकको गतिविधि कम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
कोरोनाभाइरसको नयाँ ‘भेरिएन्ट’ पहिलोपटक भेटिएको बेलायतमा संक्रमितको संख्या ह्वात्तै बढेका छन्। उड्डयन प्राधिकरणले सो मुलुकबाट आउने विदेशी नागरिकलाई प्रवेश प्रतिबन्ध लगाएको छ। अन्य देशबाट आउने पर्यटकलाई होटल क्वारेन्टिन अनिवार्य गरिएको छ। यसरी नेपाल आउने पर्यटक नोभेम्बरमा एक हजार ९४७र डिसेम्बरमा एक हजार ९६५ जना थिए।
पर्यटन व्यवसायीका अनुसार आगामी मार्च अप्रिलको लागि भने बुकिङ शुरु भएको छ। होटल, पदयात्रा र वायुसेवा कम्पनीमा मार्चदेखि आउने पर्यटकले बुकिङ गरिरहेका छन्। पर्वतारोहण र पदायात्रामा जाने पर्यटकले बुकिङ गर्न थालेको व्यवसायी बताउँछन्। पर्यटन विभागका अनुसार सन् २०२१ को जाडो मौसमका लागि ९ आरोहण दलबाट ४३ जना पर्यटकले आरोहण अनुमतिसमेत लिइसकेका छन्।
नयाँ होटल बन्ने क्रम जारी
एक वर्षदेखि पर्यटक ठप्प भए पनि नयाँ होटल आउने क्रम भने रोकिएको छैन्। वैशाख २०७७ बाटै सञ्चालन तयारी गरिएको पाँचतारे होटल मेची क्राउन कोरोनाका कारण पाँच महिना ढिलो भएको एक सञ्चालक बलराम सापकोटा बताउँछन्। डेढ अर्ब लगानीको यो होटलमा १०५ कोठा छन्। सापकोटा भन्छन्, ‘‘कोरोना महामारीका कारण होटल सञ्चालन भदौ १ गतेबाट मात्र गर्न सक्यौँ। अहिले १० प्रतिशत कर्मचारीबाट सेवा शुरु भएको छ। होटलको क्षमताको तुलनामा मुस्किलले पाँचदेखि सात प्रतिशत मात्रै पाहुना हुन्छन्।’’
आधुनिक र सुविधासम्पन्न होटल भएपनि सिमित सेवा र सुविधा मात्रै दिनुपरेको सञ्चालक बताउँछन्। होटल निर्माण सकिएपछि पाहुना कुरेर बस्न मात्र औपचारिक खुला भएको घोषणा गरिएको उनीहरुको भनाइ छ।
बबरमहलको होटल बसेरा बुटिकका अध्यक्ष विशाल पण्डित महामारीको शुरुआतमै होटल निर्माण गरिसकिए पनि बन्द गर्नु परेको बताउँछन्। अहिले उक्त होटललेपनि थोरै कर्मचारी राखेर सिमित सेवा दिइरहेको छ।६० वटा कोठाको यो होटलले केही दिनअघि मात्र औपचारिक सञ्चालनमा ल्याएको हो। होटलमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी पूरा भइसकेको भएपनि पाहुनाकै पर्खाइमा बसिरहेको पण्डित बताउँछन्।
नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डमा हायात रिजेन्सी, र्याडिसन, सोल्टी, फेयरफिल्ड म्यारिओट, अलफ्ट, ताज र होलिडे इन होटल भित्रिइसकेका छन्। फ्रेन रेसिडेन्सी, हिल्टन, शेराटनसहितका अन्तर्राष्ट्रिय ब्रान्ड पनि भित्रिने तयारीमा छन्।
गोरखामा होटल लिगलिग मनास्लु भ्यू होटल पनि जनवरी पहिलो सातादेखि सञ्चालनमा आएको छ। होटलमा रु.७ करोड लगानी गरेकोसञ्चालक मानबहादुर पौडेल बताउँछन्। गोरखा पालुङटार पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई दृष्टिगत गरेर सञ्चालनमा ल्याइएको होटलको निर्माण भने केही समयअघि नै सकिएको थियो।
महामारीकै बेला विदेशी चेनको चारतारे स्तरको होटल पनि नेपाल भित्रिएको छ। अमेरिकी चेन होटेल तथा रिसोर्ट ब्राण्ड विन्ड्हृयामले ठमेलमा ‘रमाडा इनकोर बाई विन्ड्हृयाम’का नामले सेवा शुरू गरेकोछ। ८० मुलुकमा नौ हजार होटल विस्तार गरिसकेको रमाडाको सञ्चालक नेपालसम्म आइपुगेको हो। गैरआवासिय नेपाली गोपाल पंगेनीसहितको समूहले भित्र्याएको यो होटल २४ पुसदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डमा हायात रिजेन्सी र्याडिसन, सोल्टी, फेयरफिल्ड म्यारिओट, अलफ्ट, ताज र होलिडे इन होटल भित्रिइसकेका छन्। फ्रेन रेसिडेन्सी, हिल्टन, शेराटनसहितका अन्तर्राष्ट्रिय ब्रान्ड पनि भित्रिने तयारीमा छन्। होटल संघ नेपालका प्रथम उपाध्यक्ष तथा प्रवक्ता विनायक शाहका अनुसार देशैभर चार हजार कोठाका तारेस्तरका होटल निर्माणाधीन छन्। यी होटल कतिपय बनिसकेका र कतिपय निर्माणको अन्तिम चरणमा छन्। निर्माण पूरा भएका होटल दुई चार महिना ढिला गरे पनि सञ्चालन गर्नै पर्ने शाह बताउँछन्।
होटल पूर्वाधारमा धमाधम लगानी भइरहे पनि महामारी मत्थर हुने आशामा धेरै व्यवसायी बसेको पोखरामा पाँचतारे रिसोर्ट बनाइरहेका होटल सांग्रिलाका कार्याकारी निर्देशक प्रवीण पाण्डे बताउँछन्। उनी भन्छन्, ‘‘होटल अब ६ महिनामा नै तयारी भएर आउन सक्ने अवस्थामा पुगिसकेको छ। सञ्चालनमा ल्याउँदा पाहुना आउने टुंगो नभएको र त्यसै राखे हालसम्मको लगानी खेर जाने हुँदा थप समस्या सिर्जना हुने चिन्ता छ।”
हवाई क्षेत्र निरन्तर सक्रिय
महामारीकै बीचमा सौर्य एअरले एउटा जहाज थप गरेको छ। नयाँ कम्पनी मुस्ताङ एअरलाइन्सले पनि हेलिकप्टर भित्र्याउँदैछ। मुस्ताङले एअर डाइनेष्टिको एक हेलिकोप्टर खरिद गरिसकेको छ। थप दुई वटा हेलिकप्टर ल्याउने भएको छ।
आन्तरिक उडानमा अग्रणी वायुसेवा कम्पनी बुद्ध एअरले दुर्गम क्षेत्रमा उडान गर्ने योजना बनाइरहेको छ। यो वायुसेवाले सन् २०२२ को सेप्टेम्बरबाट दुर्गममा उडान थाल्ने तयारी गरेको जनाएको छ। त्यसका लागि यशोधरा एअरलाइन्स स्थापना गरिने प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
बुद्धले सुगम गन्तव्यका लागि पनि दुई वटा एटीआर जहाज थप्नी उनी बताउँछन्। ती जहाज तीन महीनाभित्र आइसक्नेछन्। तीसहित बुद्धका जहाज संख्या १५ पुग्नेछ।
कोरोना महामारीले बजार खुम्चाएपछि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यती र बुद्ध एअरले आन्तरिक भ्रमण प्याकेज ल्याएका छन्। यी एयरलाइन्सले अहिले आन्तरिक पर्यटकबाटै पर्वतीय उडान शुरु गरेका छन्।
आन्तरिक पर्यटकका लागि वायुसेवा कम्पनीले सस्तो भाडामा सेवा दिएर स्थापित हुने प्रयास गरेका छन्। जसले गर्दा हवाई यातायात आम नेपालीको पहुँचमा भएको सकारात्मक सन्देश प्रवाह भइरहेको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैला बताउँछन्। आन्तरिक उडानमा पनि दुई वटा एटीआर जहाज थप गरेर उडान क्षमता बढाउने गरी योजना बनिरहेको पनि बर्तौला बताउँछन्।
यती एअरले दुई वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी पनि गरिरहेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सार्क मुलुकभित्र उडान गर्ने गरी तयारी भइरहेको यतीको भनाइ छ। प्रवक्ता बतौलाका अनुसार १२५ सिट क्षमताको न्यारो बडी जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ। उनी भन्छन्, “त्यसका लागि पर्यटन मन्त्रालयबाट अन्तर्राष्ट्रिय उडानको इजाजत पाइसकिएको छ। उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमति पाउने प्रक्रियामा छौँ।”
पर्यटकीय पूर्वाधार तयारीमा व्यवसायीको चासो
महामारी मत्थर हुन थालेपछि पर्यटक बोलाउन पर्यटकीय पूर्वाधार तयारी अवस्थामा राख्नुपर्ने व्यवसायीहरु बताउँछन्। पूर्वाधारको अभाव हुन दिन नहुने र सेवा सुविधा तथा गुणस्तरमा पनि गुनासो नहुने गरी संरचना अहिले नै बनाउनुपर्ने उनीहरुको छ।
पर्यटक आउँदा विमानस्थलबाटै पीसीआर गराउने र आकर्षण गर्ने योजनाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरु बताउँछन्। हवाई मार्गबाट काठमाडौं आउने पर्यटकका लागि विशेष सुविधा दिन सरकारी कार्यक्रम आउनुपर्ने हानका द्वितिय उपाध्यक्ष तथा साङ्ग्रिला होटलका कार्यकारी निर्देशक प्रवीण पाण्डेको भनाइ छ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्चुत गुरागाईं सरकारले आन्तरिक पर्यटकदेखि विदेशीसम्मलाई दिने सेवा सुविधामा सहजीकरण गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, “अहिलेदेखि नै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर सहज वातावरणका लागि आवश्यक नीति बनाउनुपर्छ। आन्तरिक पर्यटन प्रवर्दन गर्दै व्यवसायलाई राहत प्रदान गर्नु पहिलो हो।”
पर्यटक आउँदा विमानस्थलबाटै पीसीआर गराउने र आकर्षण गर्ने योजनाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरु बताउँछन्। हवाई मार्गबाट काठमाडौं आउने पर्यटकका लागि विशेष सुविधा दिन सरकारी कार्यक्रम आउनुपर्ने हानका द्वितिय उपाध्यक्ष तथा साङ्ग्रिला होटलका कार्यकारी निर्देशक प्रवीण पाण्डेको भनाइ छ।
तत्कालै ठूला पूर्वाधार बनाउन नसके पनि भएकै पर्यटकीय संरचना, ट्रेकिङ ट्रेल मर्मत गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न तालिम दिने र सुरक्षा संयन्त्र बनाउने जस्ता काम गर्न ढिला गर्न नहुने पर्यटनविद् दीपकराज जोशी बताउँछन्। अबको पर्यटन एकैपटक नभएर संसारभरी नै विस्तारै चलयामा हुने छ। यसको लागि आन्तरिक तयारी तीव्र हुनुपर्ने जोशीको भनाइ छ।
पर्यटन मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला सरकारले गर्नुपर्ने तयारी गरिरहेको बताउँछन्। पर्यटक ल्याउन र सेवा दिन पर्यटकीय पूर्वाधार तयारी अवस्थामा नै रहेको उनको भनाइ छ। उनी भन्छन्, “सरकारले २० लाख पर्यटक भित्र्याउने गरी गरेको तयारी र अवाश्यक पूर्वाधार अहिले नै भएकोले अब नीति निर्माणदेखि नयाँ मापदण्डसहितको कानून बनाउने काम मात्रै हो।”
पर्यटकको गतिविधि गर्ने र आकर्षित गर्ने काम पर्यटकीय संघसंस्थाले गरिरहेको पनि कोइराला बताउँछन्। पर्यटक एकैपटक नआउने र बिस्तारै पुनरुत्थान हुने हुँदा सोही अनुसारको सेवा सुविधा दिने गरी पूर्वाधार तयार भइरहेको उनी बताउँछन्।
सरकारको काम निराशाजनक !
पर्यटनसँग सम्बन्धितसहित विभिन्न ११ वटा व्यवसायिक संघसंस्थाले कारोना प्रभावित व्यवसायीलाई सरकाले बेवास्था गरेको भन्दै महामारी पीडित सर्वपक्षीय पेशा व्यवसायी संघर्ष समितिले असन्तोष व्यक्त गरेको छ। समितिमा पर्यटक सवारी यातायात संघ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, होटल संघ नेपालसहितका संस्था छन्। सरकारले आफ्ना माग सुनुवाइ नगरे आन्दोलन गर्ने चेतावनी ती संघसंस्थाले दिएका छन्।
यसअघि महामारीले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले गठन गरेको कार्यदल नै सक्रिय हुन सकेन। पर्यटन व्यवसायीको माग अनुसार राहत र पुनरुत्थानका कार्यक्रम समेत आउन सकेनन्।
सरकारको असफलता यतिमा मात्र सीमित रहेन। चालु आर्थिक वर्ष २०७७/७८ देखि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हरेक नेपाली नागरिकले कर तिर्ने आधारमा प्रतिव्यक्ति रु.५० हजारसम्म अनुदान दिएर ‘देश दर्शन’मा पठाउने पर्यटन मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयले रोकिदियो। आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने गरी ल्याउन खोजिएको यो योजनाले महामारीमा सरकारलाई आर्थिक भार पर्ने अर्थ मन्त्रालयको जिकिर छ।
देशदर्शन कार्यक्रम अगाडि बढाउन तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गएको १० असोजमा बानेश्वरको एभरेष्ट होटलबाट कार्यक्रको लोगो र खाका औपचारिक रुपमा सार्वजनिक गरिसकेका छन्। कार्यक्रम सफल बनाउन नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका नाममा रु.५३ अर्ब खर्च गर्नुपर्ने प्रस्ताव गरेको थियो। त्यसको लाभ भने कम्तिमा रु.५५ अर्ब हुने तथ्यांक पनि बोर्डले निकालेको थियो।
महामारीमा बाह्य पर्यटक नआउँदा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यो प्रस्ताव गरिएको बोर्डले जनाएको छ। महामारीको वर्षको रुपमा चिनिएको सन् २०२० मा जम्मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक मात्र नेपाल आए।
सन् २०१९ मा नेपाल आएका ११ लाख ९७ हजार १९१ पर्यटक आएका थिए। यसको तुलनमा सन् २०२० मा ८०.७८प्रतिशत कम पर्यटक नेपाल आए। एक वर्षमा आएका पर्यटकको यो अहिलेसम्मकै सबैभन्दा कम संख्या हो। यति ठूलो संख्यामा पर्यटक आगमन ऋणात्मक भएको पनि पहिलो पटक नै भएको पर्यटन मन्त्रालयको तथ्यांकले देखाउँछ।