५ हजार ३०० पीसीआर परीक्षण, ४३० मा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ३०० नमूनाको पीसीआर परीक्षण गरिएको छ। जसमा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ। यस्तै, अहिलेसम्म १९ लाख ९२ हजार ८५५ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ रहेको छ।
यस्तै, सोही अवधिमा ३९० जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा २३७ जना रहेका छन्।
यस्तै, सोही अवधिमा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मुत्यु हुनेको संख्या १९३२ पुगेको छ।
काठमाडौं उपत्यकामा थपिए २५९ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप १४४ पुरुष र ११५ महिलामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२४१, भक्तपुरमा ८८ र ललितपुरमा २७७ जना सक्रिय संक्रमित छन्।