ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस, विद्रोह भड्काएको आरोप
गएको हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवन क्यापिटल हिल्समा हिंसा मच्चाएपछि डेमोक्र्याट सांसदहरुले उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका छन्।
महाभियोग प्रस्तावमा ट्रम्पविरुद्ध विद्रोह भड्काएको र अमेरिकी संसदमा भएको हिंसालाई प्रोत्साहन दिएको आरोप लगाइएको छ। उनीविरुद्धको महाभियोग प्रस्तावमा छलफल र मतदानका लागि बुधबार बिहान ९ बजे हाउस अफ रिप्रिजेन्टेटिभको बैठक बस्नेछ।
संविधानको २५औं संशधोनमार्फत ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आह्वान गर्ने प्रस्ताव हाउस अफ रिप्रिजेन्टेटिभमा पेस भएको थियो। यो संसोधनले राष्ट्रपति आफ्नो कर्तव्य जारी राख्न असमर्थ भए उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपति बन्ने अनुमति दिन्छ। माथिल्लो सदन सिनेट बैठकको अध्यक्षता पनि उपराष्ट्रपतिले नै गर्छन्।
तर, उक्त प्रस्तावको वेस्ट भर्जिर्नियाका रिपब्लिकन सांसदले आपत्ति जनाएपछि हाउस अफ रिप्रिजेन्टेटिभको बैठक सुरु भएको १० मिनेटमै स्थगन भएको थियो। त्यसपछि ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको हो।
सभामुख नैन्सी पेलोसी र डेमोक्र्याटिक सांसदहरु यसअघि नै ट्रम्पलाई ह्वाइट हाउसबाट बाहिर निकाल्न चाहन्थे। पछिल्लो घटनापछि केही रिपब्लिकन सांसद पनि ट्रम्पलाई महाभियोग लगाउने पक्षमा छन्। यसपटक सभामुख पेलोसीकै पहलमा महाभियोग दर्ता भएको हो।
तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट लगाइएको महाभियोग बहुमतले पारित हुनुपर्छ। त्यहाँ डेमोक्र्याटहरुकै बहुमत छ। त्यसपछि माथिल्लो सदन सिनेटमा पनि छलफल हुन्छ। त्यहाँबाट महाभियोग प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक हुन्छ। यहाँ भने रिपब्लिकनहरुको बहुमत छ। तर, केही रिपब्लिकन सांसद ट्रम्पको विरुद्धमा छन्।
अमेरिकाको इतिहासमा ट्रम्प दुई पटक महाभियोग खेप्ने एक्ला राष्ट्रपति भएका छन्। अघिल्लोपटक महाभियोग लगाउँदा संसदले असफल पारे पनि उक्त प्रक्रिया पूरा हुना महिनौँ लागेको थियो। तर, यसपटक नौ दिन मात्र बाँकी छ।
ट्रम्पको कार्यकाल अगामी २० जनवरीमा सकिँदैछ। त्यसपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नेछन्।