सकियो एक साता लामो नेपाल एकीकरण मार्ग पदयात्रा
गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर सोमबार सातौँ दिनमा समाप्त भएको छ। उक्त पदयात्रा ६ दिनमा गोरखाबाट काठमाडौँ आइपुगेको थियो।
गोरखाबाट २१ पुसमा शुरु भई धादिङ, नुवाकोट हुँदै उक्त पदयात्रा आइतबार हनुमानढोका आइपुगेको थियो। हिमाली, पहाडी, तराई तथा काठमाडौँका नेवार समुदायलगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाचसहितको सांस्कृतिक प्रस्तुतिका साथ पदयात्रा सोमबार सैनिक मुख्यालयमा पुगेर अन्त्य भएको हो।
पृथ्वी जयन्तीका अवसरमा चन्द्रागिरि, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी (नगरकोट) तथा जङ्गीअड्डाको छतबाट नेपाली सेनाका युनिटले एकैसाथ रिभ्याली बजाएका थिए। सोही अवसरमा भर्खरै स्थापना गरिएको पृथ्वीनारायण शाह अध्ययन केन्द्रको प्रधानसेनापति पूर्णचन्द्र थापाले आज उद्घाटन गरे।
उद्घाटनपछि जङ्गीअड्डाको अडिटोरियममा इतिहासविद् प्राज्ञ जगमान गुरुङबाट पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पु¥याएको योगदान र भावी पिँढीले राष्ट्र र राष्ट्रियताका लागि सिक्नुपर्ने र गर्नुपर्ने कर्तव्यका विषयमा प्रवचन दिए। उक्त अवसरमा नेपाली सेनाले निकट भविष्यमा प्रकाशन गर्न लागेको ‘नेपाल एकीकरणको इतिहास (विसं १८०१–१८७२)’, ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरु’ तथा ‘नेपाली आर्मी एम ए ग्लोरियअस पास्ट’ बारे जानकारी दिइएको थियो।
सो अवसरमा सेनाले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा छनोट भएका कवितालाई पुरस्कारसमेत प्रदान गरियो। महोत्सवमा १० वटा उत्कृष्ट र ३० वटा अन्य कवितालाई छनोट गरी पुरस्कृत गरियो।