‘प्रचण्डले कहिल्यै समकालीनहरूसँग काम गर्न सक्नुभएन, अब पनि सक्नुहुन्न’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा प्रतिनिधि सभा विघटन भएसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभक्त भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरेका छन्। दुवै समूहले एक अर्कालाई कारबाही गरेको घोषणा गर्दै सार्वजनिक रूपमै सत्तोसरापको बाटो अंगालिरहँदा हिजो एमाले र माओवादी मिलेर बनेको नेकपाभित्रको पूर्वमाओवादीका अधिकांश नेता तथा कार्यकर्ता दाहाल–नेपाल समूहतिर लागेका छन् भने पूर्वमाओवादीका केही नेता भने ओलीको पक्षमा लागेर सरकारमा मन्त्रीसमेत बनेका छन्। तिनैमध्ये हुन्, खानेपानी मन्त्री मणिचन्द्र थापा। नेकपामा पैदा भएको योबिघ्न संकटका बेला उनले किन ओली समूह रोजे र सरकारमा गए ? प्रस्तुत छ थापासँग हिमालखबरका लागि लक्ष्मी बस्नेतले गरेको कुराकानीको सारसंक्षेप:
अप्ठ्यारो अवस्थामा मन्त्री हुनुभएको छ, कस्तो अनुभव भइरहेको छ ?
निश्चित रूपमा यो अप्ठ्यारो अवस्था हो। तर, कसै न कसैले यो अवस्थालाई सम्हालेर अगाडि बढ्नै पर्ने हुन्छ। अहिले सरकार र हाम्रो पार्टी निर्वाचनको तयारीमा छ। यो महत्वपूर्ण जिम्मेवारीसँगै विकास निर्माणका कामलाई पनि अघि बढाउनुपर्नेछ। मुख्यतः देशलाई स्थायित्वतर्फ लैजाने मक्सदका साथ यो सरकार बनेको हो। अहिले हाम्रो पार्टी नै विभाजनको चरणमा पुगेकाले अलिकति संकट र अस्थिरता जस्तो त देखिएको छ। तर, निर्वाचनमार्फत् नै स्थायित्वतर्फ जान सकिन्छ भन्ने उद्देश्यसाथ हामी काम गरिरहेका छौं।
तपाईंको राजनीतिक विगत हेर्दा पदको लोभ नगर्ने व्यक्तिको रूपमा लिइन्थ्यो। तर, यस्तो कठिन परिस्थितिमा तपाईं मन्त्री बन्न जानु भयो। यो निर्णय स्वाभाविक लाग्छ ?
सबै परिस्थितिका आधारमा हेर्ने हो भने मैले त्यति रूचि गरेको थिइनँ। तर, प्रधानमन्त्रीले नै तपाईं सरकारमा आउनुपर्छ भनेर आग्रह गरिसकेपछि मैले पनि त्यसलाई स्वीकार गरें। उहाँले पर्यटन, शिक्षा, खानेपानी मध्ये कुनै एक मन्त्रालयको कुरा गर्नुभएको थियो। सरकारमा जाने निर्णय गरिसकेपछि मैले जुन मन्त्रालय भए पनि हुन्छ भनेको थिएँ। यसमा मेरो कुनै डिमान्ड थिएन।
पूर्वमाओवादीका धेरै नेता र कार्यकर्ता पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा लाग्दा तपाईंले चाहिँ किन केपी शर्मा ओलीलाई रोज्नुभयो ?
मुख्यतः दुई पार्टीको एकता भएर नेकपा बनिसकेपछि प्रथम अध्यक्षको रूपमा केपी शर्मा ओली र दोस्रो अध्यक्षको रूपमा क. प्रचण्ड हुनुहुन्छ। त्यसकारण एकले अर्को रोज्यो भन्ने राजनीतिक अर्थ लगाइनुहुन्न। मैले प्रथम अध्यक्ष रोजेको हुँ।
दोस्रो, दुईटा पार्टीको एकता भइसकेपछि पूर्वएमाले वा पूर्वमाओवादी भन्ने कुरा नै गलत हो। केही साथीहरूले त्यो तर्क गरिरहनु भएको छ, त्यो ठिक होइन।
तेस्रो, कमरेड केपी ओली स्थायित्वको पक्षमा हुनुहुन्छ र पार्टीको नेतृत्व दोस्रो र तेस्रो पुस्तालाई हस्तान्तरण गर्न तयार हुनुहुन्छ।
चौंथो, उहाँले महाधिवेशनपछि पार्टीको नेतृत्व कमरेड प्रचण्डलाई हस्तान्तरण गर्छु भनिसक्नुभएको थियो। दुई वर्षपछि हुने निर्वाचनमा पनि म लड्दिनँ र भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर अरु साथीहरूलाई उम्मेद्वार बनाउँछु भनेर स्वयं प्रचण्ड कमरेडलाई उहाँले बाटो खोलिदिनुभएको थियो। त्यसपछि पनि त्यो बाटोलाई बन्द गर्ने काम चाहिँ प्रचण्ड कमरेड र माधव कमरेडले गर्नुभयो। उहाँहरू पार्टीे फुटतिरको प्रक्रियामा लाग्नुभयो।
आफ्नै पार्टीको सरकारलाई ढाल्न अविश्वासको प्रस्ताव दर्ता गर्न लागिसकेपछि सिंगो कम्युनिष्ट आन्दोलनलाई बचाउन केपी कमरेडले लिएको स्टेप कमरेड प्रचण्डले लिएको स्टेपभन्दा प्रगतिशील र व्यावहारिक लाग्यो। त्यसकारण मैले केपी ओलीलाई समर्थन गरेँ। केपी ओलीको काम गर्ने स्टाइल र कमरेड प्रचण्डको काम गर्ने स्टाइलमा फरक छ। केपी कमरेडले कन्स्ट्रक्सन अर्थात् स्थायित्वमा ध्यान दिनुहुन्छ।
तपाईं पूर्वमाओवादीको नेता, दाहाललाई अझ राम्रोसँग चिन्नुहुन्छ। एमाले र माओवादीको एकीकरणपछि दाहालको कार्यशैली फरक भएको हो कि ?
प्रचण्ड कमरेडको व्यवहार अलिकति अस्थिर छ। इतिहासमा पनि उहाँले आफ्नै पार्टी बचाउन नसकेको, आफ्नै समकालीन नेताहरू डा.बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव (नेत्रविक्रम चन्द) हरूलाई समेटेर लैजानेभन्दा पनि उहाँहरूको सम्हालिइसकेको ठाउँमा हस्तक्षेप गर्ने खालको अथवा कन्स्ट्रक्सनभन्दा डिस्ट्रक्सन जस्तो व्यवहार गर्नुभएको म देख्छु। त्यसकारण अहिलेको आवश्यकता कन्स्ट्रक्टिभ सोंचको हो। त्यो सोंच चाहिँ केपी कमरेडमा छ भन्ने मरो दृष्टिकोण हो।
तपाईंले स्थायित्वको सोंच केपी शर्मा ओलीमा देखें भनिरहँदा एमाले हुँदादेखि नै माधवकुमार नेपाललगायत शीर्ष नेताहरू उहाँसँग असन्तुष्ट थिए। एकीकरणपछि पनि उहाँ नै मुख्य अध्यक्ष हुनुभो, प्रधानमन्त्री पनि आफैं हुनुहुन्थ्यो। असन्तुष्ट स्वरहरूलाई मत्थर पार्न नसक्नु त ओलीको पनि कमजोरी होइन र ?
मैले यसमा प्रचण्ड कमरेडकै बढी कमजोरी देख्छु। दुई पार्टीको एकता भइसकेपछि महाधिवेशनसम्म सहमतिमा जाने भन्ने प्रिन्सिपल छ। सहमतिमा जाने प्रिन्सिपललाई माधव कमरेडसँग मिलेर प्रचण्ड कमरेडले बहुमतीयमा लैजानुभयो। बहुमतीयमा लगिसकेपछि पार्टीको मूल प्रिन्सिपलबाट उहाँ (प्रचण्ड) विचलित भइसक्नुभयो। अर्को, माधव कमरेड र केपी कमरेडको बीचमा विगतमा रहेको पूर्वएमालेको अन्तरविरोधमा कमरेड प्रचण्ड प्रवेश गर्नुभयो। त्यसरी प्रवेश गर्नु नै गलत थियो।
महाधिवेशनसम्म दुई अध्यक्षले नै पार्टी र सरकारको नेतृत्व गर्ने कुरा सैद्धान्तिक आधार हो र सहमतिको महाधिवेशन गरिसकेपछि पार्टी एकता पूर्ण हुन्छ। पार्टी एकताले पूर्णता नपाउँदासम्म प्रचण्ड र केपी कमरेडकै एकता चाहिँ पार्टीको मूल प्रिन्सिपल हो। त्यो प्रिन्सिपलबाट प्रचण्ड कमरेड भड्किनुभो र माधव कमरेडको साथ लिएर केपी कमरेडलाई कमजोर पार्ने अथवा सत्ताबाट हटाउने सोंचमा देखिनुभो। यो विघटनवादी सोंच हो। त्यसैले केपी कमरेडको कमजोरी भन्दा पनि प्रचण्ड कमरेड चाहिँ मूल प्रिन्सिपलबाट विचलित भएको कारणले यो परिस्थिति सिर्जना भएको हो।
तपाईंले दाहालको कार्यशैलीमै प्रश्न उठाउनुभयो। दुई पार्टीको एकीकरणपछि उहाँ यस्तो हुनुभएको हो कि पहिलेदेखि नै यस्तै यस्तै हुनुहुन्थ्यो भन्न खोज्नु भएको हो ?
यो ठीक प्रश्न हो। उहाँले पहिला मोटो मशाल हुँदा मोहनविक्रम सिंहलाई हटाउनुभयो। मोहन वैद्य किरण नेकपा मशालको पाँचौ महाधिवेशनबाट महामन्त्री बन्नुभयो। मोहन वैद्यलाई पनि एक किसिमले सरप्राइज दिएर आफैं पार्टीको महामन्त्री बन्नुभयो। त्यसपछि उहाँ अविच्छिन्न रूपले ३४ वर्षसम्म पार्टीको अध्यक्ष हुनुहुन्छ।
अर्को कुरा, पार्टीको अध्यक्ष हुँदा उहाँले कहिल्यै आफ्ना समकालीन नेताहरूसँग काम गर्न सक्नुभएन। मोहनविक्रम, मोहन वैद्य, निर्मल लामा, बाबुराम भट्टराई कोहीसँग पनि काम गर्न सक्नुभएन। त्यसको पछाडि उहाँको एकल नेतृत्व वा एकल अधिनायकत्वको सोंच जिम्मेवार छ।
पूर्वएमालेमा केपी कमरेड र माधव कमरेडबीच अन्तरविरोध भए पनि पूर्वएमाले सही ढंगले चलिरहेको थियो। उहाँहरूले पार्टीभित्रको अन्तरसंघर्षलाई पार्टीभित्रको जनवादका आधारमा हल गर्नुभएको थियो। तर, अहिले कमरेड प्रचण्डले पूर्वएमालेमा खेलेर एमालेको हिजोको विरासत अन्त गर्ने स्थितिमा पुग्नुभो। त्यसैले मैले फेरि त्यही शब्द प्रयोग गरेँ, कमरेड प्रचण्डको चाहिँ गतिशिलताको नाममा अराजकतावादी सोचाइ छ। उहाँको सिद्धान्त निर्माण होइन, विनिर्माण हो, विनिर्माण। उहाँको त्यही सिद्धान्तको रिफ्लेक्सन अहिले देखिएको हो।
त्यसो भए पुष्पकमल दाहाल र माधवकुमार नेपाल लामो समयसम्म सँगै रहन सक्नुहुन्न ?
मेरो विश्लेषण के छ भने अहिले केपी ओलीले नेतृत्व गर्नुभएको नेकपामा कुनै समस्या छैन। उहाँको एकल नेतृत्व छ, त्यो नेतृत्व सर्वस्वीकार्य छ। तर, प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको नेकपामा जुन समस्याबाट केपी ओली गुज्रिनुभयो, त्यही समस्या त्यहाँ ट्रान्सफर हुन्छ र उहाँहरूको एकता लामो समय रहँदैन।
उहाँहरूको एकता विचारको आधारमा भएको एकता होइन। काममा एकरूपता भएकाले एक भएको नभई केपी कमरेडलाई कमजोर पार्न उहाँविरुद्ध भएको अलाएन्स हो। त्यो कुनै पार्टी होइन। किनभने त्यो विचारको छलफल, कुनै सिद्धान्त वा संस्कृति र संस्कारको एकताबाट बनेको होइन। केपी ओलीको विरुद्धमा बनेको गठबन्धन भएकाले लामो समय टिक्ने आधार म देख्दिनँ। त्यहाँ थुप्रै विजातीय धार र विचारहरू छन् जसलाई एकताबद्ध गर्ने क्षमता माधव नेपालले पनि राख्नुहुन्न, प्रचण्डले पनि राख्नुहुन्न। धेरै शक्तिहरूलाई मिलाउने क्षमता प्रचण्डसँग भएको भए पूर्वमाओवादीको यो हालत हुने थिएन।
तपाईंलाई नेकपा फेरि एउटै होला जस्तो लाग्छ ?
निर्वाचनसम्म जाँदा कतै मिलेर चुनाव लड्ने वा चुनावमा कार्यगत एकता गरेर जान सकिन्छ कि भन्ने सम्भावना छ। किनभने चुनावी राजनीति छुट्टै कुरा हो।
प्रदेश सरकार गठन र विघटनबारे पनि जोडघटाउ शुरू भइसक्यो, जसमा कांग्रेस निर्णायक हुने देखिन्छ। यसबारेमा कांग्रेससँग केही कुरा भएको छ ?
प्रस्ताव दर्ता भइसकेपछि छलफल त होला तर, अहिले नै औपचारिक रूपमा वा अजेण्डाको रूपमा चाहिँ कुनै छलफल भएको छैन।
केही प्रसंग बदलौं। प्रधानमन्त्रीले सरकारलाई काम गर्नै नदिइएका कारण प्रतिनिधि सभा विघटन गर्नुपर्यो भन्नुभएको छ। के सरकार सञ्चालन कसरी गर्ने भन्ने बारे सत्तारूढ पार्टीको नीति नहुँदा अप्ठ्यारो परेको हो ?
सरकार सञ्चालनका लागि पार्टीले सुझाव र सल्लाह दिने हो, हस्तक्षेप गर्ने होइन। तर, प्रचण्ड र माधव कमरेडले चाहिँ हस्तक्षेप गर्न कोसिस गर्नुभयो। केपी कमरेडले सल्लाह र सुझाव माग्नुभयो तर, उहाँहरूले आफूले भनेअनुसार गर्नुपर्छ भनेर हस्तक्षेप गर्नुभयो।
सरकार अविच्छिन्न उत्तराधिकारी संस्था हो, पार्टीको सल्लाह र सुझाव चाहिँ स्वीकार गर्नुपर्छ। सरकार त जनताको सार्वभौमसत्ता हो, पार्टीको हस्तक्षेप सरकारमा अलि बढी भयो भने आमजनताको प्रतिनिधित्व गर्न सक्दैन।
पछिल्लो समय प्रचण्ड र माधव कमरेडले पार्टीको कुरा केपी ओलीले मान्नुभएन भन्ने जुन आरोप लगाउनु भयो, त्यो सही थिएन। पार्टीको सल्लाह सुझाव मान्नुपर्छ तर, पार्टीको निर्णय सरकारले जस्ताको तस्तै स्वीकार गर्नुपर्छ भन्ने हुन सक्दैन।