वैधानिक रुपमै शिकार गरिने जनावर नाउरको गणना हुन सकेन
कोरोनाभाइरस महामारीका कारण यो वर्ष ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन। पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना अब एक वर्ष पछाडि धकेलिएको छ।
गत असोज÷कात्तिकमा नाउर गणना गर्ने आरक्ष कार्यालयको योजना थियो। यसअघि २०७२ सालमा गणना गर्दा दुई हजार २०२ नाउर भेटिएका थिए। गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गरिने कोटा निर्धारण गर्छ। पछिल्लो गणनापछि वर्सेनि २० नाउरको शिकार कोटा तोकिएको छ।
कार्यालयका रेञ्जर दीपेन्द्र पोखरेलका अनुसार आउँदो वर्ष नाउरको गणना गरिनेछ। “चैत÷वैशाखसम्मै आरक्षको उच्च भेगमा हिउँ नपग्लने भएकाले त्यो याममा पनि गणना सम्भव हुँदैन, अब अर्को वर्ष हुन्छ”, उनले भने। ढोरपाटनमा प्रायः गरी असोज÷कात्तिकतिरै नाउर र झारलको गणना गरिन्छ।
विभागले हरेक पाँच÷पाँच वर्षमा नाउर र झारलको गणना गर्नुपर्ने प्रावधान बनाएको छ। झारलको पनि अर्को वर्ष गणना हुनेछ। २०७३ मा गरिएको गणनामा ३८८ झारल फेला परेका थिए। जुन सङ्ख्या २०६८ मा गरिएको गणनामा भन्दा १०३ ले बढी हो। उक्त गणनामा ४२ समूहमा झारल भेटिएका थिए।
सबैभन्दा ठूलो ५१ वटा झारलको समूह देखिएको थियो। तीमध्ये ३२७ झारलको लिङ्ग पहिचान भएकामा बाँकीको पहिचान हुन सकेको थिएन। उक्त गणनापछि विभागले वर्षमा ११ झारलको शिकार कोटा निर्धारण गरेको छ।
आरक्षका प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा रेञ्जर, भरिया र शिकारमा अनुभवी स्थानीयवासीसमेतको सहभागितामा नाउर र झारलको गणना गरिन्छ। नाउर र झारल बाख्रा प्रजातिमा पर्ने जनावर हुन्। बर्सेनि असोज÷मङ्सिर र फागुन÷वैशाख गरी दुई याममा ढोरपाटनमा शिकार खुला हुन्छ।
कोरोनाभाइरस महामारीका कारण यो वर्षको पहिलो शिकार याम (असोज–मङ्सिर)मा जम्मा एक नाउर र एक झारलको शिकार भएको रेञ्जर पोखरेलले बताए। विभागले शिकारका लागि बोलपत्र खोले पनि विदेशी शिकार खेल्न अनिच्छुक देखिए।
अघिल्लो वर्षको दोस्रो शिकार याममा बन्दाबन्दीका कारण आरक्षमा शिकार नै खुला भएन। शिकार हुन नसक्दा राजस्व पनि गुम्यो। सात शिकार कम्पनीले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन्।
शिकारका लागि आरक्षमा सात ब्लक तोकिएको छ। सुर्तिबाङ, फागुने ब्लक बागलुङमा, घुस्तुङ, दोगाडी, सेङ र सुनदह ब्लक रुकुम पूर्वमा पर्छ। यस्तै म्याग्दीमा बार्से ब्लक पर्छ। प्रत्येक ब्लकमा नाउर र झारल शिकारको वार्षिक कोटा तोकिन्छ। सुर्तिबाङ ब्लकमा भने नाउरको शिकार गर्न रोक लगाइएको छ।
साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि विदेशी शिकारी ढोरपाटन आउँछन्। एक जना शिकारीले रु.३० देखि ३५ लाखसम्म शिकारमा खर्चन्छन्। दुई वर्षअघि एउटा नाउर शिकारको रु.१३ लाख ५१ हजार र झारल शिकारको रु.१३ लाख ५० हजार तिर्न कम्पनी तयार भएका थिए।