राजा नरेन्द्रदेव लगायतको मूर्ति भूगोलपार्कमा तत्काल प्रतिस्थापन नगर्न सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले भूगोलपार्कमा तत्कालै राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य र ललीतज्यापुको संयुक्त मूर्ति प्रतिस्थापन नगर्न आदेश दिएको छ।
यी तीन जनाको संयुक्त शालिक पाटन त: बहालस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर परिसरमा रहेको छ। काठमाडौं महानगरपालिका-२२ स्थित भूगोलपार्कमा पनि यिनै तीन जनाको संयुक्त शालिक राख्न खोजिएको थियो।
तर, भूगोलपार्कमा राख्न खोजिएको सालिक पाटन तःबहाल स्थित रातो मत्स्येन्द्रनाथको मन्दिर परिसरमा रहेको सालिकको स्वरुप नै परिवर्तन हुने गरी बिकृत रूपमा निर्माण गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
अधिवक्ता पदम श्रेष्ठले ऐतिहासिक व्यक्तिहरूको मूर्ति निर्माण गर्दा मूर्तिको वास्तविक स्वरुप नै परिवर्तन गरिएको र त्यसले समाजमा नकारात्मक सन्देश फैलिने भन्दै निर्णयहरुलाई बदर गराउन सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
हनुमानढोका संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भूगोलपार्कमा तीन जनाको मूर्ति राख्न खोजिएको थियो।
सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानले आज एकल इजलासबाट तत्काल मूर्ति प्रतिस्थापन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएका हुन्। साथै उनले सरकारका नाममा १५ दिनभित्र पेश गर्न भन्दै कारण देखाउ आदेश पनि दिएका छन्।
आगामी २९ पुसमा दुवै पक्षको बहस सुनेपछि सर्वोच्च अदालतले आजको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय गर्नेछ।
राजा नरेन्द्रदेव रातो मत्स्येन्द्रनाथ ल्याउने राजा हुन्। उनीसँगै तान्त्रिक बन्धुदत्त आचार्य र रथचक्र ललितज्यापूको मूर्ति तःबहाल स्थित रातो मत्स्येन्द्रनाथ मन्दिर परिसरमा छ।
त्यस्तै मूर्ति भूगोलपार्कमा स्थापना गर्न खोजिएको थियो। भूगोलपार्कमा राख्न खोजिएको मूर्तिमा तान्त्रिक गुरू बन्धुदत्त आचार्यको दायाँ हातमा बज्र र बायाँ हातमा बज्रयुक्त घण्टी तथा शिरमा पञ्चबुद्धको मुकुट लगाएको देखाइएको छ। यसले तान्त्रिक बन्धुदत्त आचार्यको पहिचान गुम्ने र तःबहालको मूर्तिमा भएको पहिचान पनि फरक पार्ने सर्वोच्चमा पेश गरेको निवेदनमा दावी गरिएको छ।