काठमाडौंले नसुनेरै बिदा भए राम धामी
सुनसरीको इटहरीमा बसेर संगीत कर्म गर्दै आएका राम धामीको ५७ वर्षको उमेरमा आइतबार निधन भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको निधन भएको हो।
कोभिड–१९ का कारण अस्पताल भर्ना भएका उनी केही दिनअघि मात्र संक्रमणबाट मुक्त भएको तर, निमोनियाका कारण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
थारु भाषाको गीत गाएर २०४८ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका धामीको स्वरमा ५० वटा गीत रेकर्ड भएका छन्। उनको संगीतमा झण्डै चार दर्जन गीत अरुले गाएका छन्।
संगीत साधना केन्द्र इटहरीका संस्थापकमध्येका धामी संगीत प्रशिक्षकका रूपमा समेत सक्रिय थिए।
धामीले पहिलोपटक २०७१ सालमा मात्र राजधानीको मञ्चमा गीत गाएका थिए। ४–५ फागुनमा लाजिम्पाटस्थित् थिएटर भिलेजमा आयोजित ‘राम धामी एकल साँझ’ कार्यक्रममा उनले डेढ दर्जन गीत गाएका थिए, जसमा उनकै सिर्जना र नारायणगोपाल, भक्तराज आचार्य, दीप श्रेष्ठका चर्चित गीत थिए।
एकल साँझ हिमाल एशाेसिएसन र थिएटर भिलेजले आयोजना गरेको थियो।
त्यही वर्षको (२०७१) माघमा बसन्त थापा र कवि विप्लव प्रतीकले इटहरीमा भएको एक जमघटमा धामीको प्रतिभा सुनेलगत्तै उनलाई काठमाडौं बोलाउने योजना बनाएका थिए।
एकल साँझमा गाउँदागाउँदै उनले भनेका थिए, “मेरो गीत काठमाडौंले सुन्दैन, यहाँका रेडियोमा बज्दैन।”