प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दा बृहत् इजलासमा पठाउन न्यायाधीशले सुझाएको भन्ने समाचारको सर्वोच्चद्वारा खण्डन
प्रतिनिधि सभा विघटनिवरूद्धका मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई सुझाएको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
२१ पुसमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलिराम कुमारको निधन भएकोमा शोक प्रस्ताव पारित गरी समवेदना व्यक्त गर्न २३ पुसमा सर्वोच्च अदालतमा आकस्मिक रूपमा फूलकोर्ट बसेको थियो। सर्वोच्च अदालतका न्यायाधीशहरू संलग्न उक्त बैठकमा शोक प्रस्ताव पारित गरेपछि संवैधानिक इजलासले सुनुवाइ गरिरहेका प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउन सर्वोच्चकै न्यायाधीशहरूले सुझाएको समाचार सार्वजनिक भएको थियो।
हिमालखबरले पनि उक्त समाचार प्रकाशन गरेको थियो। समाचार प्रकाशन भएको दुई दिनपछि सर्वोच्च अदालतका प्रवक्ताले विज्ञप्ति निकालेर समाचारप्रति ध्यानाकर्षण भएको र उक्त दिन शोक प्रस्ताव पारित गर्नेबाहेकका विषयमा छलफल नभएको स्पष्ट पारेका हुन्।
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा १३ वटा रिट अहिले विचाराधीन रहेका छन्।