राष्ट्रियताकाे पुनर्जागरण
पुनः पृथ्वीजयन्ती मनाउने सरकारी घोषणाले क्रमभङ्गता र नयाँ नेपालका नाममा ऐतिहासिक धरोहर मास्नु आफ्नै अस्तित्व नामेट पार्नु रहेछ भन्ने चेत खुलेको आभास दिलाएको छ।
‘फ्ल्यासब्याक’ मा २०६२–६३ को जनआन्दोलनपछिका दिनहरू नाचिरहेका छन्, जुन बेला ‘नयाँ नेपाल’ र ‘क्रमभङ्गता’ जस्ता शब्दावलीले सुनामी झैं नेपाली इतिहास र स्थापित मानकमाथि धावा बोल्दैथिए।
देशका गौरव र धरोहरहरू धूलिसात् गर्दै नेपाललाई पश्चिमा स्वार्थको नवउपनिवेश बनाउने त्यस चक्रवातमा सबैभन्दा बढी राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, नेपाली भाषाका स्पन्दन भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि परेका थिए ।
कथित नयाँ नेपालका प्रायोजित अभियन्ताहरू क्रमभङ्गताका नाममा राष्ट्रनिर्मातामाथि ‘जाइ कटक’ गर्दै थिए । चीनको असफल सांस्कृतिक क्रान्तिको झलक दिने गरी मुलुकभर उनका सालिक ढालिंदै थियो । हुँदाहुँदा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारअघिको उनको पूर्ण कदको सालिकलाई समेत कपडाले बेरियो ।
वर्षौंदेखि उनको जन्मदिवसमा मनाइँदै आएको राष्ट्रिय एकता दिवस हठात् खारेज गरियो । राष्ट्रनिर्माताको पक्षमा अभिमत दिन सक्ने चिन्तक, लेखक आदिसम्म पाउन हम्मे–हम्मे पर्न थाल्यो । नयाँ नेपालको अन्धवेगमा मानिस ‘कुइरोका काग’ जस्तै भए ।
सात समुद्रपारका मार्क्स र स्टालिनदेखि छिमेकका माओसम्म मुलुकमा पुजिए तर सिंहदरबार प्रवेशद्वारकै राष्ट्रनिर्माताको सालिकको घुम्टो खोलिइएन ।
शायद सिंहदरबार छिर्नेहरूका निम्ति राष्ट्रनिर्माताको सालिक ‘अशोभनीय’ बनिदियो । एउटा सानो कालखण्ड कुनै खग्रास ग्रहणको भाँती पृथ्वीलाई छोपिरह्यो । तर, सूर्यको दिव्य तेजमाथि सधैंभरि ग्रहण लागिरहनु संभव नभए जस्तै, पृथ्वीमाथिको ग्रहण पनि क्षणभङ्गुर भयो ।
दोस्रो जनआन्दोलनपछि सत्ताको मियो समाउन पुगेका गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्ले विना कुनै औचित्य र कारण खारेज गरिदिएको राष्ट्रिय एकता दिवस (२७ पुस) यस वर्षबाट मनाउने निर्णय उनकै विरासत समातेका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले गरेको छ ।
पृथ्वीजयन्ती खारेज गर्दाताकाका गृहमन्त्री कृष्णप्रसाद सिटौला आज एक राजावादीसँगै चुनावमा हारेका छन् । उता, क्रमभङ्गताका भाष्यकार बाबुराम भट्टराई आफ्नै मूलघर माओवादी (पार्टी) सँग क्रमभङ्ग गरी ‘बैरी’ कांग्रेसको सहारामा विजयी भएका छन् ।
पछिल्लो दशक सबैको परीक्षणको कालखण्ड थियो । शायद, राष्ट्रनिर्माता पनि निर्मम परीक्षणबाट गुज्रन अभिशप्त थिए । उनीमाथि अन्धविश्वास र सन्देह गर्ने दुवैथरी यथार्थको धरातलमा उत्रनु थियो ।
अन्धविश्वास यस अर्थमा कि, हिजो पृथ्वीनारायण सबैभन्दा बढी उनकै सन्तति र एकदलीय व्यवस्थाका पक्षपोषकहरूद्वारा भजाइए । उनको सौर्य र गाथा भजाउँदै उनका लायक र नालायक दुवैथरी सन्ततिहरूले आफ्नो शासन सुरक्षित बनाएका थिए ।
लाग्थ्यो, उनी नागरिकका नभई सन्ततिका पेवा हुन् । सन्देह गर्नेहरूका लागि पृथ्वीनारायण शाहवंशका पूर्वज मात्र थिए । त्यसैले शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको बहिर्गमनसँगै उनलाई तिरस्कार गरियो ।
जात र नश्लको साँघुरो पहिचान भन्दा पनि विशाल र स्वाधीन राष्ट्रको अस्तित्वमा आफ्नो परिचय रूचाउनेका निर्विकल्प प्रेरणा स्रोत पृथ्वीनारायण नै हुन्। हिजो अन्धवेगमा जहाँ–जहाँ उनका सालिक ढालिए, त्यहाँ सालिकको पुनस्र्थापनाको पहल हुनु राष्ट्रियताकै पुनर्जागरण हो।
तर सत्य यी दुवैभन्दा पृथक् थियो, जुन समयक्रममा प्रमाणित भइछाड्यो । मुलुक गणतन्त्रमा गएपछि पृथ्वीनारायणको अर्थ र योगदान झन जाज्वल्यपूर्ण भयो । यस मुलुकको चौहद्दी मान्ने चाहे राजावादी हुन् वा गणतन्त्रवादी, लोकतन्त्रवादी हुन् वा वामपन्थी सबैले आफ्नो अस्तित्वको उत्पत्ति पृथ्वीनारायणमा देखे ।
हुन त मुलुकमा उनलाई उपनिवेशवादी, अतिक्रमणकारी, आतङ्ककारी, आततायी आदिको बिल्ला भिराउँदै नश्लवादको पक्षपोषण गर्ने एउटा सानो तप्का नभएको होइन ।
तर, जात र नश्लको साँघुरो पहिचान भन्दा पनि विशाल र स्वाधीन राष्ट्रको अस्तित्वमा आफ्नो परिचय रूचाउनेका निर्विकल्प प्रेरणा स्रोत पृथ्वीनारायण नै हुन् । हिजो अन्धवेगमा जहाँ–जहाँ उनका सालिक ढालिए, त्यहाँ सालिकको पुनस्र्थापनाको पहल हुनु राष्ट्रियताकै पुनर्जागरण हो ।
उदाहरणका लागि, एउटा समूह पोखराको पृथ्वी चोकमा पृथ्वीनारायणको सालिक स्थापना निम्ति संकल्पित देखिन्छ । यस्तो ऊर्जा मुलुकभर संचारित हुँदैछ । समयक्रममा क्रमभङ्गता ‘क्लिसे’ मा परिणत भएको छ ।
राष्ट्रिय दिवसको संकल्प
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई हामीले राष्ट्रिय एकता दिवसका रूपमा मनायौं । राजतन्त्र र प्रजातन्त्र दुवै कालमा गद्दीनसिन राजाको जन्मदिन नै अघोषित राष्ट्रिय दिवस रहन्थ्यो ।
मुलुक गणतन्त्रमा रूपान्तरित भएसँगै २००७ सालदेखि मनाउँदै आएको प्रजातन्त्र दिवस सँगसँगै लोकतन्त्र, गणतन्त्र र अहिले आएर संविधान दिवससमेत थपिएको छ । तर पनि मुलुकभित्र, छरिएका नेपाली डायस्पोरा र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले मनाउने एउटा सर्वमान्य ‘राष्ट्रिय दिवस’ जुर्न सकिरहेको छैन ।
दशक लामो ग्रहणपश्चात् पुनः पृथ्वीजयन्ती मनाइँदै गरिएको परिप्रेक्षमा यसै दिनलाई राष्ट्रिय दिवस कायम गरिनु उचित हुने पंक्तिकारको प्रस्ताव छ। नेपालीलाई स्वाधीन राष्ट्र र स्वतन्त्र पहिचान दिने राष्ट्रनिर्माताको जन्म दिनलाई नै राष्ट्रिय दिवस मनाउनु भन्दा उत्तम अरू के नै हुन सक्छ र !