पर्यटन बोर्ड बल्ल संघीय संरचनामा, सातै प्रदेशमा पर्यटन कार्यालय स्थापना
नेपाल पर्यटन बोर्डले सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ। बोर्डले आइतबारबाट ती कार्यालयमा कर्मचारीसमेत खटाएको छ। प्रदेश कार्यालयमा प्रबन्धकसहित एक अधिकृतलाई खटाएको बोर्डका निर्देशक तथा प्रवक्ता मणिराज लामिछानेले बताए।
पर्यटन प्रवर्द्धन र पर्यटकीय सेवाका लागि बोर्डले सबै प्रदेशमा कार्यालय स्थापना गरेको हो। प्रदेश-१ र गण्डकी प्रदेशमा भने सूचना केन्द्रसहितको कार्यालय स्थापना गरिएको पनि उनले बताए। पर्यटकको चलहपलह बढी हुने र सेवाग्राहीको चाप हुने स्थानमा पर्यटन कार्यालयसहितको सूचना केन्द्र स्थापना गरिएको हो।
अन्य प्रदेशमा भने पर्यटन कार्यालय मात्र स्थापना गरिएको बोर्डले जानकारी दिएको छ। बोर्डले संघीय संरचना अनुसार सेवा दिने गरी कार्यालय स्थापना गरेको हो। बोर्डले प्रदेशमा-१ को विराटनगरमा कार्यालय स्थापना गरेको छ। यो कार्यालयमा प्रबन्धक दिवाकर राणा र अधिकृत सुदन सुवेदीलाई खटाएको छ।
प्रदेश-२ को कार्यालय जनकपुरमा राखेर त्यहाँ प्रबन्धक समीर बज्राचार्यको साथमा अधिकृत रविन रेग्मीलाई खटाएको छ।
बागमती प्रदेशमा केन्द्रीय कार्यालय र पोखरामा कार्यालय रहेकोले यी दुई बाहेक अन्य प्रदेशका नयाँ कर्मचारीसहितको नयाँ कार्यालय स्थापना गरिएको बोर्डले जानकारी दिएको छ। पोखरास्थित् कार्यालयमा काँशीराज भण्डारी निर्देशकका रूपमा कार्यरत छन्।
बोर्डका अनुसार लुम्बिनी प्रदेशमा प्रबन्धक लिला बानियाँ र अधिकृत सन्तोष थापा खटिएका छन्। कर्णाली प्रदेशमा प्रबन्धक खड्गविक्रम शाह खटिएका छन भने सुदूरपश्चिम प्रदेशमा रोहिणी खनाल प्रबन्धक र अधिकृत शिवराज पाण्डे खटिएको बोर्डका प्रवक्ता लामिछानेले बताए।