राष्ट्रिय सभामा प्रधानमन्त्रीले भने- ‘प्रतिनिधि सभा कुनै हालतमा पुनर्स्थापना हुन सक्दैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा कुनै पनि हालतमा पुनर्स्थापना हुन नसक्ने बताएका छन्। राष्ट्रिय सभा बैठकमा उठेका प्रश्न एवं समसामयिक विषयमा आइतबार वक्तव्य दिँदै उनले संविधानको व्यवस्थानुसार सरकारको सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको दाबी गरे।
“यो राजनीतिक प्रश्न हो, यो आवश्यकताको सिद्धान्तअनुसार गरिएको हो”, उनले भने।
उनले नेपालको संविधानको धारा ७६ (७) ले प्रतिनिधि सभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्दै संविधानले तोकेबमोजिम जाँदा मुलुकमा अस्थिरता नहुने बताए।
ओलीले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिएपछि प्रतिनिधि सभा विघटन गरिएको स्पष्ट पारे।
भारत र चीनबाट भएका पछिल्ला केही नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले भने, “नेपालको भलो चिताउने मुलुकबाट आउँछन्, कुरा गर्छन् र जान्छन्।”
उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आगामी १ माघदेखि भारत भ्रमण गर्ने जानकारी दिँदै उक्त भ्रमणमा द्विपक्षीय हित, नेपालको नयाँ नक्शालगायत विषयमा छलफल हुने बताए।