गोरखा राज्य विस्तारकाे अनौठो अभ्यासः भौगोलिक विजय, सांस्कृतिक पराजय !
पराजित राज्यहरूलाई आफ्नो राज्यमा विलय गराउने परम्पराको विपरीत आफैं पराजित राज्यमा विलय हुन जाने अनौठो प्रवृत्ति गोरखा राज्य विस्तारमा देख्न पाइन्छ।
राज्यहरूको निर्माण प्राकृतिक घटनाबाट नभइ मानवीय कार्यबाट हुन्छ। प्रायः त युद्ध नै हुने गरेको पाइन्छ। वर्तमान नेपालको स्वरूप निर्धारण पनि युद्धबाटै भएको हो। युद्धपछि पराजितमाथि राजनीतिक, सांस्कृतिक, आर्थिकलगायत प्रभुत्व जमाइन्छ। तर, यस विपरीत अन्यत्र विरलै हुने घटना नेपालमा भएका छन्।
पृथ्वीनारायण शाहको नाम वर्तमान नेपालको भौगोलिक स्वरूपसँग स्वतः जोडिन्छ। नेपाल राज्यको निर्माणको बहसमा उनका विरोधी र समर्थक दुवैले तर्कहरू उनीमाथि नै केन्द्रित गर्छन्। यसले स्वत: उनको योगदानलाई स्पष्ट पार्छ।
राजा पृथ्वीनारायण शाहलाई आधुनिक नेपाल निर्माणको श्रेय दिइन्छ। तर, इतिहासमा यस्तै श्रेय दिन मिल्ने वा त्यस्तै चरित्रका अन्य नेपाली राजाहरूका सम्बन्धमा खासै चर्चा हुने गरेको पाइँदैन। आफ्नो राज्य सीमालाई अक्षुण्ण राख्ने वा उल्लेख्य विस्तार गर्ने राजाका रूपमा लिच्छविकालका राजा मानदेव (प्रथम) र मध्यकालका राजा यक्ष मल्ललाई लिइन्छ।
पृथ्वीनारायण शाह र उनका पूर्वजहरू पहिल्यैदेखि तत्कालीन नेपाल राज्यको सामाजिक तथा सांस्कृतिक जीवनबाट प्रभावित थिए। गोरखामा वाणिज्य व्यवसायको विकासका लागि नेपालका व्यापारीहरूलाई आमन्त्रण गरिएको थियो। गोरखा दरबारको वास्तुसंरचना पनि तत्कालीन नेपालमा प्रचलित नै थियो।
ती राजाहरूभन्दा पृथ्वीनारायण शाहको प्रवृत्ति अलि फरक देखिन्छ। यिनको पुरख्याैली राज्य गोरखा थियो र त्यही राज्यलाई विस्तार गरी आधुनिक नेपालको निर्माण गरेका हुन्। सीमा विस्तारपछि तत्कालीन नेपाल तथा अन्य भूक्षेत्रलाई आफ्नो कूलपरम्पराबाट आएको गोरखा राज्यमा विलय गर्न उनलाई कसैले रोक्न सक्दैनथ्यो। तर, उल्टो उनले आफ्नो साम्राज्य नै तत्कालीन नेपालमा गाभ्न ल्याए। यस घटनालाई इतिहासकार बाबुराम आचार्यले राजनीतिक रूपमा गोरखाको विजय भए पनि सांस्कृतिक रूपमा पराजयको रूपमा अर्थ्याएका छन्।
गोरखा राज्यको निर्माणका सन्दर्भमा लिगलिगकोट छुुटाउन मिल्दैन। लिगलिगकोटमा दशैंका बेला दौड प्रतियोगिता हुने र विजयी व्यक्ति वर्ष दिनका लागि राजाको रूपमा नियुक्त हुने चलन थियो। उक्त परम्परागत दौड प्रतियोगिताको माध्यमबाट द्रव्य शाह सन् १५५९ मा राजा भएका थिए।
सोही वर्ष छिमेकी राज्य गोरखा जितेर आफ्नो लिगलिगकोट राज्यलाई द्रव्य शाहले गोरखामा नै विलय गराएका थिए। त्यही गोरखाका शाह वंशकै राजा पृथ्वीनारायण शाहले युद्धको माध्यमबाट तत्कालीन ‘नेपाल’ लगायत अन्य राज्यहरूलाई पनि पराजित गरे। द्रव्य शाहले जस्तै उनले पनि गोरखा साम्राज्यको सम्पूर्ण भूभागलाई पराजित राज्य नेपालमा विलय गरे। अनि आफू नेपालको राजा बने।
पृथ्वीनारायण शाह र उनका पूर्वजहरू पहिल्यैदेखि तत्कालीन नेपाल राज्यको सामाजिक तथा सांस्कृतिक जीवनबाट प्रभावित थिए। गोरखामा वाणिज्य व्यवसायको विकासका लागि नेपालका व्यापारीहरूलाई आमन्त्रण गरिएको थियो। गोरखा दरबारको वास्तुसंरचना पनि तत्कालीन नेपालमा प्रचलित नै थियो। गोरखाको पोखरीथोक नगरवास्तुुकला पनि तत्कालीन नेपालमा प्रचलित वास्तुकलाबाट भिन्न छैन।
पृथ्वीनारायण शाहको उपदेश संग्रह भनिएको ग्रन्थ ‘दिव्योपदेश’ अनुसार उनले तत्काल तीन राज्यमा विभाजित नेपाललाई चन्द्रागिरि पर्वतबाट हेरेर यसको राजा हुने लालसा पालेका थिए।
उनी गोरखाको राजकुमार भए पनि तत्कालीन नेपालका तीनमध्ये एक राज्य भक्तपुर दरबारमा उनको हुर्काइबढाइ भएको थियो। त्यसैले उनी यहाँको वस्तुस्थितिसँग परिचित भइसकेका थिए। यसबाट बुुझिन्छ, उनमा तत्कालीन गोरखाभन्दा नेपालप्रति बढी लगाव थियो। गोरखालाई नेपालमा विलय गरिसकेपछि उनी कहिल्यै फर्केर गोरखा गएको पाइँदैन। उनका उत्तराधिकारीमध्ये पनि गोरखा जाने पहिलो राजा महेन्द्र वीरविक्रम शाह हुन्।
सिंजा जित्ने नागराज ङारीका राजा
विजय गरेको राज्यमा आफ्नो राज्य मिलाउने अर्का राजा हुन्, नागराज। यी राजाको चर्चा उति साह्रो हँदैन। तर, नेपालको इतिहास अध्ययनमा उनी कोशेढुुंगा हुुन्।
राजा नागराजको पुर्ख्याैली राज्य तिब्बतको ङारी प्रदेश थियो। तिब्बतका राजा स्रङ–चङ–गाम्पोको वंशज लाङ्दार्मा (इ.सं. ७९९–८४१)को हत्यापछि विशाल तिब्बती साम्राज्य विघटन भएको थियो। यही क्रममा बनेको एक राज्य ङारी थियो।
संभवतः त्यस राज्यभन्दा सिंजा उपत्यकाको वैभव बढी थियो। वाणिज्य व्यवसायका दृष्टिले सिंजा सँधै गुलजार हुन्थ्यो। किनमेल गर्न तथा अन्य कामका लागि पनि उताबाट सिंजामा आउनुपर्थ्यो। त्यसैले राजा नागराज सिंजामाथि लोभिनु स्वाभाविक थियो।
नागराजले आफ्नो भूमि कतिसम्म फैलाए भन्ने तथ्य त खुल्दैन, तर गढवाल बाराहाटस्थित् बुद्धमूर्तिको पादपीठमा रहेको अभिलेखअनुसार उनी कम्तीमा त्यहाँसम्म पुगेको निर्क्योल हुन्छ। उनैका वंशज पृथ्वी मल्लले स्थापना गरेको दुल्लुस्थित् कीर्तिखम्बमा नागराजको उल्लेख भएको छ।
नागराजले आफ्नो भूमि कतिसम्म फैलाए भन्ने तथ्य त खुल्दैन, तर गढवाल बाराहाटस्थित् बुद्धमूर्तिको पादपीठमा रहेको अभिलेखअनुसार उनी कम्तीमा त्यहाँसम्म पुगेको निर्क्योल हुन्छ। उनैका वंशज पृथ्वी मल्लले स्थापना गरेको दुल्लुस्थित् कीर्तिखम्बमा नागराजको उल्लेख भएको छ। सोही अभिलेखसँग मिल्दोजुुल्दो ‘श्रीपाली वंशावली’मा नागराजको अझ विस्तृत उल्लेख पाइन्छ। वंशावलीमा खारीबाट आएका नागराजले बडुवाल, रावल, पाल, थापा, खड्का, विष्ट र जाड राजाहरूसँग मुकाबिला गरी तिनीहरूलाई मारी राज्य बढाएको उल्लेख छ।
भूमि विस्तारका क्रममा राजा नागराज दक्षिण झरेर वर्तमान कर्णाली क्षेत्रसहित विस्तृत भूभागमाथि मात्रै अधिकार गरेर ङारी नै फर्कन सक्थे। तर, नयाँ राजधानी वर्तमान जुम्ला जिल्लाको सिंजा उपत्यकालाई बनाए। त्यसअघि ‘खसान’ नामबाट जानिने क्षेत्रकै पृष्ठभूमिमा ‘खस साम्राज्य’ भनिन थाल्यो। उनका योग्य उत्तराधिकारीहरूले भूमि विस्तार गरेर वर्तमान भारतको बोधिगया र पूर्वमा नेपालमण्डलको सीमा त्रिशुली नदीसम्मै पुर्याएका थिए।
निकै अघिदेखि नै खसान क्षेत्रका रूपमा चिनिएको र विभिन्न राज्यमा टुक्रिएको कर्णाली क्षेत्रका विभिन्न सानाठूला राज्यमाथि अधिकार गरी उनले बनाएको राज्य कालान्तरमा खस साम्राज्यका रूपमा चिनियो। खस साम्राज्य पन्ध्रौं शताब्दीतिर विघटन हुने क्रममा टुक्रिएका बाइसे र चौबीसे राज्यहरू वर्तमान नेपालको सरहदभित्र पर्छन्।
पराजित नै मूलराज्य
पराजित राज्यलाई आफ्नो मातहतमा राख्ने नभएर बरु तिनै पराजयी राज्यमा आफू विलय हुने अनौठो प्रवृत्तिको अध्ययन गर्दा त्यहाँ स्थानीयकरण हुने प्रकृया पनि बडो रोचक पक्ष हो। कर्णाली क्षेत्रमा खस साम्राज्यको स्थापना हुनुअघि नै बौद्ध धर्मको प्रवेश भइसकेको देखिन्छ। खस समुदाय यहाँ प्रवेश गर्नुअघि काश्मीर क्षेत्रमा लामो समय बसेको थियो। त्यहीँ उनीहरूको सम्पर्क बौद्ध धर्मावलम्बीसँग भएको थियो।
पाँचौं–छैठौं शताब्दीमा कर्णाली क्षेत्रमा प्रवेश गरेको भए पनि आफ्नो प्रभाव विस्तार गर्ने क्रममा उक्त क्षेत्रको नाम ‘खसान’ राख्न सकिएको थियो। पछि आएका पाल पनि बौद्ध नै थिए।
खसान क्षेत्रमा खस र पाल दुुई प्रभावशाली समुदाय एउटै बज्रयानी बौद्ध धर्मावलम्बी भएको र तिब्बतको ङारीबाट आएर शासन हत्याएको राजवंश पनि बज्रयानी बौद्ध धर्मकै पक्षपाती रहेका कारण उनीहरूलाई स्थानीयकरण हुन गाह्रो भएन। शासकहरूको विवाह पाल तथा खसहरूसँग नै हुने गरेको पनि अभिलेख लगायतका विभिन्न ऐतिहासिक प्रमाणबाट पुष्टि हुन्छ।
राजा नागराज भनौं वा पृथ्वीनारायण शाह, सुखी र समृद्धिमै आकर्षित भएका हुन्। दिव्योपदेशमा पृथ्वीनारायण शाहद्वारा व्यक्त विचारमा पनि स्थानीय कला र संस्कृतिको संरक्षण तथा विकासमा जोड दिएको पाइन्छ। बाह्य आक्रमणबाट रैथाने कला संस्कृति जोगाउने चिन्तन कम महत्वपूर्ण होइन।
तर, त्यसको विपरीत आजभोलि शासकीय दम्भ थोपर्दै स्थानीय भाषा, साहित्य, कला, संस्कृतिलगायत सभ्यताका अवयवहरूमा खलल पुर्याउने काम भइरहेको छ। इतिहासको एक कालखण्डमा भएको युद्धको हार र जितको सम्झाैताबाट वर्तमान बनेको भए पनि अहिलेको शासकीय संरचनाका कारण पुरानो घाउ चहर्याउन दिनु कदापि हितकारी छैन।