कसले ल्याइदेला कैलीलाई काठमाडौं ?
बाजुराको बडीमालिका नगरपालिका– ६ कोर्धकि कैली बडुवाल अहिले ३६ वर्षकी भइन्। उनले जन्मदेखि नै राम्ररी देख्न सक्दिनथिन्। जुन समस्या अहिले झन् झन् बढ्दै गइरहेको छ।
उनी मात्र होइन अहिले उनकी दुई छोरीमा पनि यही समस्या देखिएको छ। आर्थिक अभावले उपचार गर्न नसक्दा यी आमाछोरीले दृष्टिविहीन जीवन बाँचिरहेका छन्।
उनी सिधा हेर्दा मात्र अलिअलि देख्न सक्छिन्। माथि, तल थर्दा उनलाई कठिन हुन्छ। दिउँसो ३/४ बजेपछि उनी पूरै दृष्टिविहीन हुन्छिन्। उनलाई लागिरहन्छ– स्वास्थ्य सेवा राम्रो पाइने सुगुम ठाउँमा भएको भए यो समस्या झेल्नुपर्दैनथ्यो कि !
“म राम्ररी देख्न सक्दिनँ, गाउँमा मलाई उकाली–ओराली गर्न गाह्रो हुन्छ। पहिला पहिला त म अल्झेर धेरै नै लड्थेँ तर, अहिले बानी भइसक्यो,” बडुवाल भन्छिन्।
कैलीलाई आफूलाई समस्या भएको भन्दा पनि आफ्ना दुई छोरी पार्वती (१०) र बिनिता (६) लाई पनि उस्तै समस्या भएकोमा धेरै पीडा छ।
पार्वतीको जन्मपश्चात् उनका पिताले उनलाई गाउँमा आयोजना भएको स्वास्थ्य शिविरमा लगे। त्यसबेला पार्वती शिशु भएकीले स्वास्थ्यकर्मीले उनीहरूलाई पर्खिन भने। पार्वती कसरी विकसित हुन्छिन् त्यसपछि मात्र थप प्रक्रिया अवलम्बन गर्न सकिने बताए।
त्यसपछि उनीहरू कुनैपनि फलोअपका लागि गएका छैनन्। बिनितामा पनि उस्तै समस्या भएपछि कैली बडुवाल भाग्यलाई दोष दिइरहेकी छन्। “गरिबीले मात्र नपुगेर, हुँदाहुँदा दुईटै छोरीले पनि मै जस्तो दुःख भोग्नुपर्ने भयो”, उनी भन्छिन्।
पार्वती कक्षा २ मा अध्ययनरत छिन् भने बिनिता पनि विद्यालय भर्ना भएकी छिन्। तर, उनी विरलै मात्र विद्यालय जान्छिन्। पार्वतीलाई लेखपढ गर्न गाह्रो हुन्छ। उनको विद्यालयकी शिक्षिकाका अनुसार उनी धेरै नै समय लिने र खाली किताब एकोहोरो हेरिरहने मात्र गर्छिन्।
कैली भन्छिन् “स्कुल जान त एकदम रहर गर्छे। तर, के गर्नु मनले पढ्ने भन्छ, आँखाले अक्षर देख्दैन।
कैली दुवै छोरीको भविष्यलाई लिएर निकै चिन्तित छिन्। घरमा कमाउने उनका श्रीमान् मात्र हुन्। उनीहरूको अवस्थाले गर्दा बडुवालका श्रीमान मजदूरीका लागि टाढा जान सक्दैनन्।
कैलीको परिवार निम्नवर्गीय छ। खेतीपातिको कामले उनीहरूलाई खान पुग्नै मुश्किल हुन्छ। सामान्य परिवारका भएकैले उनीहरूको आँखाका डाक्टरसँग पहुँच छैन। आफ्नो आँखाको समस्या के हो र यसको उपचार हुन सक्छ कि सक्दैन भन्ने पनि उनीहरूलाई थाहा छैन।
काठमाडौंस्थित् तिलगंगा आँखा अस्पतालले आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचार गर्ने गरेको छ। तर, कैली बडुवालका लागि बाजुराबाट काठमाडौंसम्मको यात्रा खर्च र काठमाडौंमा लाग्ने बसाइँ खर्च जुटाउन असम्भव छ।
तिलगंगा अस्पतालका आँखा विशेषज्ञ डा. श्याम व्यास उनीहरूलाई कसैले काठमाडौं ल्याउन सक्ने हो भने बिरामीको अवस्था हेरेर उपचार गर्न सकिने बताउँछन्। उनका अनुसार यो समस्या जन्मजात भएकाले वंशाणुगत पनि हुन सक्छ।
“अटोसोमल डोमिनेन्टमार्फत् यस्तो समस्या हुन सक्दछ। यदि कुनै अरु स्वास्थ्य समस्या तथा दृष्टिको समस्या छैन भने निको पार्न सकिन्छ”, डा. व्यास भन्छन्, “यो केवल कस्मेटिक करेक्सन हुनेछ। यदि उनलाई काठमाडौं ल्याउन सकिन्छ भने अनि हामी समस्या मूल्यांकन गरी उपचार गर्न सक्छौं।”
थप तस्वीर:
शब्द र तस्वीर : किशोर महर्जन/ फोटो.सर्कल।