सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यमको बाध्यता
शहरी क्षेत्रका अधिकांश सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यममा पढाउन शुरू गरेका छन्। विद्यार्थी तथा अभिभावक आकर्षण गर्न अंग्रेजी माध्यममा जानुपर्ने बाध्यता रहेको विद्यालयहरू बताउँछन्।
राष्ट्रिय शिक्षा नीति, २०७६ मा ‘नेपाली भाषाको शिक्षणलाई प्रवर्द्धन गर्दै नेपाली मौलिक कला, संस्कृति, सामाजिक अध्ययन सम्बन्धी विषय नेपाली भाषामा पठनपाठन गरिनेछ तर, बहुभाषी कक्षाकोठामा मातृभाषामा आधारित बहुभाषी शिक्षण पद्धतिलाई प्रोत्साहित गरिनेछ’ भन्ने उल्लेख छ।
तर, अधिकांश सामुदायिक विद्यालयहरूले राष्ट्रिय शिक्षा नीतिको मर्मविपरीत अंग्रेजी माध्यमबाट पठनपाठन गरिरहेका छन्। र, यो क्रम दिनानुदिन बढ्दो समेत छ। पाठ्यक्रम विकास केन्द्रका प्रमुख केशवप्रसाद दाहाल अभिभावक तथा विद्यार्थीलाई आकर्षित गर्न सामुदायिक विद्यालयहरू अंग्रेजी माध्यम रोज्न बाध्य भएको तर्क गर्छन्।
“हाम्रो मुख्य उद्देश्य नेपाली भाषाको शिक्षणलाई प्रवर्द्धन गर्दै नेपाली भाषाबाट नै पठनपाठन गर्नु हो तर, अभिभावक र विद्यार्थीको रूचि अंग्रेजी माध्यममा छ”, दाहाल भन्छन्, “विद्यालयले अंग्रेजी माध्यम अपनाएनन् भने विद्यार्थी नै नपाउने जोखिम रहेकाले विद्यालय बाध्य हुँदै गइरहेका छन्।”
अहिले अंग्रेजी माध्यमबाट पढाउन विद्यालयको स्रोत, क्षमता अनुसार भन्दा पनि पढाउनै पर्ने बाध्यता सिर्जना हुँदै गएको प्रधानाध्यापकहरूको अनुभव छ। ललितपुरको कुपन्डोलस्थित् प्रगती उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे भन्छन् “कसैको रहर मात्रै भन्दा पनि बजार अनुसार आवश्यक हुँदै गएको भाषा भएकोले अंग्रेजी माध्यममा पढाउनुपर्ने अवस्था छ।”
अंग्रेजी माध्यममा पढाउन थालेपछि नीजि विद्यालय पढ्ने विद्यार्थीहरू पनि अहिले सामुदायिक विद्यालयमा भर्ना भइरहेको घिमिरे बताउँछन्। विद्यार्थीको आवश्यकता अनुसार सामुदायिक विद्यालयले पढाउने भएपछि नीजिमा महंगो शुल्कको मार खेपिरहेका अभिभावक पनि सामुदायिक विद्यालयप्रति आकर्षित हुन थालेका छन्।
अंग्रेजी माध्यममा पढाउँदा सामुदायिक विद्यालयप्रति आकर्षण बढेको विद्यालयहरूको पनि अनुभव छ।
नेपालभर ३५ हजार सामुदायिक विद्यालय छन्। यी विद्यालयहरूमध्येबाट कति विद्यालयले अंग्रेजी माध्यममा अध्यापन गराइरहेका छन् भन्ने यकीन तथ्यांक भने छैन। शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याल केही जिल्लाका केही विद्यालयहरूले अंग्रेजी माध्यमबाट पढाइरहेको बताउँछन्।
उनकाअनुसार विद्यार्थी तथा अभिभावकको अंग्रेजी भाषाप्रतिको मोहले नीजि विद्यालय जान थालेपछि सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यम रोज्न बाध्य भइरहेका छन्।
“अंग्रेजी भाषा जान्नु नै राम्रो शिक्षा हो भन्ने अभिभावक तथा विद्यार्थीहरूको बुझाइ र चाहनाका कारण सामुदायिक विद्यालयहरू अंग्रेजी माध्यम रोज्न बाध्य छन्”, उनी भन्छन्।
अहिले अंग्रेजी माध्यममा पढाउँदा सामुदायिक विद्यालयप्रति आकर्षण बढेको विद्यालयहरूको पनि अनुभव छ।
सुनसरीको धरानस्थित् पब्लिक उच्च माविमा नेपाली माध्यमबाट पढाउँदा विद्यार्थीको संख्या घटेको प्रधानाध्यापक इन्द्रमोहन झा बताउँछन्। अभिभावक र विद्यार्थीको अंग्रेजी भाषाप्रतिको लगावकै कारण यसो भएको निष्कर्षपछि अंग्रेजी माध्यम रोज्नुपरेको उनी बताउँछन्।
यसपछि विद्यालयले शिक्षकलाई तालिम दिने तथा नयाँ शिक्षक राखेर अंग्रेजी माध्यमबाट अध्यापन शुरू गर्यो। त्यसपछि हरेक वर्ष विद्यार्थीको संख्या बढेको प्रधानाध्यापक झाको दाबी छ।
यो वर्ष भर्ना नै बन्द गर्नुपरेको उनले बताए। उनले भने “अंग्रेजी भाषा जान्नु नै स्तरीय शिक्षा हो भन्ने आमबुझाइका कारण यस्तो भइरहेको छ। अहिले नीजि विद्यालयहरूबाट पनि विद्यार्थीहरू यहाँ पढ्न आइरहेका छन्।”
सुर्खेतको अमरज्योती माध्यामिक विद्यालयमा दुवै माध्यमबाट अध्यापन भइरहेको प्रधानाध्यापक खगेन्द्र थापाले बताए। अंग्रेजी माध्यमबाट पढाउँदा विज्ञान र प्राविधिक विषय लिएर पढ्न सहज हुने भएकोले अधिकांश विद्यार्थीहरू अंग्रेजी माध्यम रोज्ने गरेको थापाको भनाइ छ।
ताप्लेजुङको सिरिजंघा नगरपालिकाका केही विद्यालयहरू आगामी वर्षदेखि अंग्रेजी माध्यममा जाने तयारी गरिरहेको तेल्लोक माध्यामिक विद्यालयका प्रधानाध्यापक रुकमान थेवे बताउँछन्। उनी भन्छन् “अब गाउँ-गाउँमा पनि बोर्डिङ स्कुलका प्रभाव बढ्दै गइरहेको छ। त्यसैले गर्दा सामुदायिक विद्यालयहरू पनि अंग्रेजी माध्यममा रोज्नुपर्ने अवस्था आएको छ।”
भोजपुरको जनसेवा आधारभूत विद्यालयले भने नेपाली माध्यमबाट नै पठनपाठन गरिरहेको प्रधानाध्यापक थीरबहादुर खत्रीले बताए। उनका अनुसार धेरै अभिभावकहरू अंग्रेजी माध्यमबाट पढाइ होस् भन्ने चाहना राख्ने गरेका छन्। तर, अंग्रेजी माध्यममा पढाउँदा विद्यालयमा आर्थिक भार पर्न जाने भएकोले यो बाटो नरोजेको उनको भनाइ छ।
“हाम्रामा सरकारको पाठ्यक्रमलाई निर्दिष्ट हुने गरी शिक्षक छन्। अरु शिक्षक थप्न आर्थिक भार पर्न जान्छ”, उनले भने, “अंग्रेजी माध्यममा जान नसकेपनि अभिभावकहरूको रूचिका कारण स्थानीय विषयमा ऐच्छिक अंग्रेजी थप्ने कि भन्ने नगर शिक्षा समितिमा छलफल भइरहेको छ।”
भोजपुरको जनसेवा आधारभूत विद्यालयकी शिक्षक बालकुमारी राई भने शैक्षिक गुणस्तर उकास्न अंग्रेजी माध्यम जरुरी नरहेको बताउँछिन्। “शैक्षिक गुणस्तर उकास्न अंग्रेजी माध्यमबाट पढाउनुपर्छ भन्ने छैन। विद्यार्थीको पढाइ सुधार गर्नका लागि शिक्षकसँगै अभिभावकले पनि मिहिनेत गर्नुपर्छ”, उनी भन्छिन्- “सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको अभिभावकमा चासो कम देखिन्छ।”
राष्ट्रिय शिक्षा नीतिले आधारभूत तहमा अनिवार्य नेपाली भाषाका साथै सम्बन्धित विद्यार्थीको मातृभाषालाई पढाइको माध्यम बनाइनुका साथै गणित र विज्ञान विषयलाई अंग्रेजी भाषाबाट पनि अध्यापन गर्न सकिने व्यवस्था गरेको छ।
शिक्षा विकास समन्वय ईकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेल काठमाडौंका अधिकांश सामुदायिक विद्यालयहरू अंग्रेजी माध्यममा गएको बताउँछन्। कर्मचारी, शिक्षक लगायतका छोराछोरीहरू संस्थागत विद्यालयमा पढ्न जाने र सामुदायिकमा विद्यार्थी नै नहुने हुँदा सामुदायिक विद्यालयहरू अंग्रेजी माध्यममा जान बाध्य भएको उनको भनाइ छ। अहिले बाध्यताले सकी–नसकी अंग्रेजी माध्यममा गइरहेको उनी बताउँछन्।
भन्छन् “सामुदायिक विद्यालयका सबै शिक्षकहरू अंग्रेजीबाट पढाउन सक्ने छैनन्। विद्यालयले सामान्य तालिम दिएर पढाउन लगाइरहेका छन्। जानेर पढाउनु र सकी-नसकी पढाउनु फरक हुन्छ।”
उनका अनुसार शिक्षक राख्नका लागि विद्यालयसँग आयस्रोत नहुने र अभिभावक पनि शुल्क तिर्न गाह्रो मान्ने कारण सामुदायिक विद्यालयहरू अहिले समस्यामा परिरहेका छन्। जबरजस्ती अंग्रेजी माध्यममा जाँदा पढाइ पनि राम्रो नभएको उनी बताउँछन्।
संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावक सचेत नहुँदा पनि पढाइ राम्रो नहुने उनको तर्क छ।
“सबै नभए पनि सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा पढाउने अभिभावक शिक्षाप्रति सचेत हुन्छन्,” पौडेले थप्छन् “बालबालिकाको पढाइ राम्रो बनाउन शिक्षकसँगै अभिभावकको पनि मिहिनेत हुन्छ। तर, सामुदायिक विद्यालयमा शिक्षकले जति गर्यो त्यत्ति हो।”
सरकारले विद्यालयको स्रोत र क्षमता अनुसार अंग्रेजी अथवा नेपाली भाषामा पढाउन पाइने सुविधा दिएपनि नेपाली माध्यममा पढाउन प्रोत्साहित गरिरहेको पाठ्यक्रम विकास केन्द्र प्रमुख दाहालको भनाइ छ।
राष्ट्रिय शिक्षा नीतिले आधारभूत तहमा अनिवार्य नेपाली भाषाका साथै सम्बन्धित विद्यार्थीको मातृभाषालाई पढाइको माध्यम बनाइनुका साथै गणित र विज्ञान विषयलाई अंग्रेजी भाषाबाट पनि अध्यापन गर्न सकिने व्यवस्था गरेको छ। सोही अनुसार पाठ्यपुस्तक समेत तयार पारेको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकृत गणेशप्रसाद भट्टराईले बताए।