एक शैक्षिक सत्र पढाएका त्रिविका आंशिक प्राध्यापकलाई करारमा राख्ने सहमति
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एक शैक्षिक सत्र पढाएका आंशिक प्राध्यापकलाई सम्बन्धित क्याम्पसको आवश्यकताअनुसार शिक्षण सहायक (करार) मा राख्ने सहमति गरेको छ।
त्रिवि र आन्दोलनरत आंशिक प्राध्यापक सघंबीच गएराति भएको सात बुँदे सहमतिमा करारमा राख्ने बुँदा पनि समेटिएको हो। सहमतिसँगै आंशिक प्राध्यापकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
त्रिवि र संघबीच सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्य, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने सहमति भएको छ। यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने छन्। त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन्।
सघंका प्रचार विभाग सदस्य सुरेश भट्टराईका अनुसार एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ। सहमतिमा विश्वविद्यालयका तर्फबाट वार्ता समितिका संयोजक सहप्राध्यापक विष्णुप्रसाद खनाल र सघंका तर्फबाट मोहनप्रसाद घिमिरेलगायतको हस्ताक्षर छ। हाल त्रिविमा करिब दुई हजार आंशिक प्राध्यापक छन्।