प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २ माघदेखि
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २ माघदेखि सञ्चालन हुने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता त्रिवि क्रिकेट मैदान, कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको फाइनल १७ माघमा हुनेछ।
उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने छ। सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन्।
उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुने छ। दुवै समूहको शीर्ष दुई स्थान बनाउने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्।
राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ।