आन्तरिक राजश्व कार्यालयको कर इसेवाबाटै, घन्टौ लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति
देशैभरका आन्तरिक राजश्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। करदाताहरूले आन्तरिक राजश्व कार्यालयहरूको राजश्व इसेवाबाट भुक्तानी व्यवस्था तय भएको छ।
अबदेखि करदाताले आन्तरिक राजश्व विभाग अन्तरगतका कुनैपनि राजश्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो। इसेवामा यो सेवा उपलब्ध भएसँगै राजश्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने र घन्टौको समय खर्चनुपर्ने झन्झटबाट मुक्ति मिलेको छ।
करदाताले आन्तरिक राजश्व विभाग अन्तर्गतका कुनैपनि राजश्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क इसेवाबाटै बुझाउन सकिने सुविधा दिइएकाे हाे।
इसेवा अकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिनेछ भने इसेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी पनि गर्न सकिन्छ।
इसेवामार्फत् कर भुक्तानी गर्न सकिने सुविधाबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा भन्छन्, ‘‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उद्देश्य राखेको थियो। सोही अनुसार इसेवाले सहकार्य गरेर अनलाइन भुक्तानीको व्यवस्था मिलाएको हो।’’
उनका अनुसार सरकारको अनलाइन भुक्तानीको नीतिलाई इसेवा कार्यान्वयन गर्ने अभियानमा लागेको मात्रै हो। यो कार्यसँगै सबे सरकारी कार्यालयलाई डिजिटल भुक्तानीको माध्यममा जोड्दै नगदरहित अभियानलाई अगाडि बढ्न सकिने पनि सापकोटा बताउँछन्।
यसबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झन्झटबाट मुक्ति मिल्ने दाबी पनि सापकोटाको छ।
हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध छ। इसेवाले छिट्टै मोबाइलबाट भुक्तानी गर्न सकिने सुविधा पनि थप्ने जानकारी दिएको छ। इसेवामार्फत् कर तिर्नका लागि सर्वप्रथम आन्तरिक राजश्व कार्यालयको वेबसाइटमा अनलाइन माध्यमबाट मात्रै भुक्तानी हुने व्यवस्था गरेको छ।