मन्त्री गणेशमान टुँडिखेल चक्कर मार्थे
गणेशमानजी साँझ प्राय सदर टुँडिखेल दुइ तीन चक्कर लगाउनुहुन्थ्यो। म पनि सँगसँगै हुन्थेँ। त्यति बेला वहाँ प्रायः मन्त्रिमण्डलका निर्णय सुनाउनुहुन्थ्यो। ती भोलिपल्टका समाचारका विषय बन्थे।
राजकाज मुद्दामा म २०४३ सालमा सदरखोर डिल्लीबजारमा थुनिएको थिएँ। थुनिएको त्यस्तै चार महिना भएको थियो। अपरान्हतिर मलाई भाइ नाइकेले नाम काढेर चिच्याउँदै बोलायो।
बाहिर मान्छे भेट्न आएपछि चिच्याएर बोलाउने चलन रहेछ। ‘भैरव रिसाल’ भनेको सुनेँ। म ढोकामा गएँ। किन हो कुन्नी मान्छे भेट्न आएपछि प्रायः मलाई ढोकाबाहिरको सानो चौरमा जाने सुविधा दिइन्थ्यो। एकजना अधवैँसे अपरिचित मान्छे आउनु भएको रहेछ।
“मैले त चिनिन नि!” मैले भनेँ।
“म अपरिचित नै हुँ, तपाईंलाई भेट्न गणेशमान सिंहज्यूले पठाउनु भएको हो”, यसो भन्दा उहाँको अनुहार हँसिलो थियो। म आश्चर्यचकित भएँ। मलाई पत्याउँ कि नपत्याउँ भयो। केही कुरा भएपछि उहाँ जानुभयो।
यो कुरा मैले बिर्सिदै गएँ। पछि हेक्का नै भएन। नत्र थुनामुक्त भएपछि कृतज्ञता प्रकट गर्न जरुरै जान्थेँ।
पछि माथवर सिंह बस्नेतले गणेशमानजीको आनीबानीबारे बताउनुभयो। उहाँ ख्याल गर्ने मान्छे हुनुहुँदो रहेछ। “तपाईंलाई भेट्न पठाउनुभएकै होला। उहाँ सम्झन र ख्याल राख्न सक्ने मान्छे हो”, भनेपछि पो झस्केँ। उहाँसँगका धेरै सम्झनाहरु रिल जसरी दिमागमा घुम्न थाले।
जेल परेपछि कोही भेट्न आयो भने हौसला बढ्ने रहेछ। सदरखोरमै थुनिएको दिन विश्वकान्त मैनाली आउनुभयो। पछि सुवास नेम्वाङले भेट्न पठाएको भन्दै कोही मान्छे आयो र उहाँले दिएको भनेर रु.१०० छाडिदियो। आनन्ददेव भट्टले एक किलो गेडागुडी ल्याइदिएको सम्झन्छु।
त्योबेला गणेशमानजीले भेट्न पठाएको भन्ने विश्वास लागेको भए झन् कति खुसी हुन्थेँ होला! अहिले त्यस्तो लाग्छ।
गणेशमानजीसँग मेरो चिनजान भएको २०१३ सालको आखिरीदेखि हो। त्यसअघि मैले वहाँलाई चिने पनि वहाँले चिन्नुहुन्न थियो। म जस्तालाई चिन्ने सवाल पनि भएन। त्यस्ता त कति थिए, कति! म ‘हालखबर’ दैनिकमा काम गर्न थालेपछि समाचारदाताको रुपमा चिनिएको हुँ।
वास्तवमा हालखवर पत्रिका नेपाली कांग्रेस पक्षधर थिएन। कांग्रेसको सानो त्रुटि वा कमजोरी पाए पनि हालखबरलाई ठूलो समाचार बन्थ्यो। विश्वेश्वरप्रसाद कोइराला पत्रकार मैत्री स्वभावका थिए। तर, गणेशमानजी अलि अर्कै खालका।
वास्तवमा हालखवर पत्रिका नेपाली कांग्रेस पक्षधर थिएन। कांग्रेसको सानो त्रुटि वा कमजोरी पाए पनि हालखबरलाई ठूलो समाचार बन्थ्यो। विश्वेश्वरप्रसाद कोइराला पत्रकार मैत्री स्वभावका थिए। तर, गणेशमानजी अलि अर्कै खालका। म पनि जल्दोबल्दो उमेरको हुनाले एक किसिमले उरन्ठेउलो थिएँ। काँठे मिजासको, टर्रो।
नेपाली कांग्रेसको कार्यक्रमहरू भएपछि हालखबरले नकारात्मक पक्षबाट समाचार बनाउँथ्यो। कार्यक्रमहरूमा त्रुटि हुनु, कमजोरी हुनु अस्वाभाविक होइन। तर, हालखबर त्यस्ता कुरालाई प्राथमिकता दिन्थ्यो। त्यसकारण पनि गणेशमानजी मलाई चिन्नु हुन्थ्यो।
कांग्रेसको प्रेस सम्मेलनमा म प्रायः पछाडि बस्थेँ। किन हो अगाडि बस्ने हिम्मत हुँदैनथ्यो। म आफैँ होचो, पुड्को मान्छे। त्यसमाथि पनि ‘ब्याक बेञ्चर’ हुँदा छेकिने नै भयो।
गणेशमानजी पनि अग्लो मान्छे होइन। विश्वेश्वर र गणेशमान एकै ठाँउमा उभिँदा त उदेक लाग्ने। विश्वेश्वर अग्लो र गणेशमान होचो।
पत्रकार सम्मेलनहरूमा म आएको नदेखेपछि गणेशमानजीले ‘खै’ गर्नुहुन्थ्यो। ‘भैरव रिसाल आएको छैन?’ भनी सोध्नुहुन्थ्यो। अनि कतिपय विश्वेश्वरले भनेका कुरा मैले ठीकसँग बुझेँ कि बुझिन भनेर स्पष्ट पार्ने, ताकि हालखबरमा छापिँदा ठीकसँग छापियोस्। यसर्थ हाम्रो दोहोरो चिनजान भयो। त्यसकारण म थुनिँदा गणेशमाजीले भेट् पठाउनु भएको होला।
मेरो समाचारको स्रोत
गणेशमान सिंह २००७, २००८ र २०१६ सालमा मन्त्री हुनुभयो। उहाँमा प्रजातन्त्रप्रति आस्था बढी भएर हो कि किन हो ‘प्रजातन्त्र मान्ने तर चल्ती भाषाका संवैधानिक अंगहरू नमान्ने’ कुरा गर्नुहुन्थ्यो। जनताबाट निर्वाचित प्रतिनिधिले बेइमानी गर्दैन भन्ने विश्वास भएर पनि यस्तो भन्नुभएको होला।
२०१६ सालमा बनेको सरकारमा गणेशमानजी निर्माण, सञ्चार र नहर मन्त्री हुनुहुन्थ्यो। त्यति बेला पानी सम्बन्धी जलस्रोत, विद्युत, खानेपानी सम्बन्धी पृथक मन्त्रालय थिएनन्। टेलिभिजन थिएन। त्यसैले सञ्चारभित्र पनि धेरै काम पर्दैन थियो। प्रविधि, संस्कृति, विज्ञान, वातावरण, जनसंख्या, शहरी विकास, रोजगार, भौतिकपूर्वाधार, श्रम, महिला बालबालिका जेष्ठ नागरिक, युवा तथा खेलकुद, सहकारी जस्ता बग्रेल्ती मन्त्रालय थिएनन्। मन्त्री उस्तो व्यस्त थिएनन्।
गणेशमानजी साँझ प्राय: सदर टुँडिखेल दुइ तीन चक्कर लगाउनुहुन्थ्यो। जंगी अड्डाले टुँडिखेलको दक्षिणी भाग कब्जा पनि गरेको थिएन। रत्नपार्क बनेको थिएन। शहीद मञ्च र सैनिक मञ्च थिएनन्। रानीपोखरीको डिललदेखि हालको सैनिक मुख्यालयको डिलसम्मै खुला थियो। बार लगाएको थिएन।
त्यहाँ मलाई नदेखेर गणेशमानजीले ‘भैरवबहादूर खोइ त?’ भनेर सोध्नु भएछ। मेरो नाम बिर्सिएर भैरव रिसाल होइन ‘बहादुर’ भन्नुभएको रहेछ। उहाँले आठ वर्षसम्म पनि मलाई बिर्सिनुभएको रहेनछ। एउटा पत्रकारको रुपमा सम्झिरहनुभएको रहेछ।
गणेशमानजीले टुँडिखेलको चक्कर लगाउँदा म पनि सँगसँगै हुन्थेँ। वहाँ प्रायः मन्त्रिमण्डलका निर्णय सुनाउनुहुन्थ्यो। लोकसेवा आयोगका, महालेखा परीक्षकका, निर्वाचन आयोगका कुरा गर्नु हुन्थ्यो। यी संस्थाले सरकारलाई हात फुकाएर काम गर्न नदिएको गुनासो गर्नुहुन्थ्यो।
यी सबै भोलिको हालखबरका निम्ति महत्वपूर्ण समाचार बन्थे। यसरी गणेशमान सिंह मेरा लागि समाचारको प्रमुख स्रोत हुनुहुन्थ्यो।
१ पुस २०१७ पछि राजनीति बदलियो। राजाले संसद भंग गरे। प्रधानमन्त्री विश्वेश्वरलगायत सबै मन्त्री थुनिए। गणेशमान सिंह पनि थुनिनेमा पर्नुभयो। २०२५ सालमा विश्वेश्वर र गणेशमानहरु जेलबाट छुटेपछि जयबागेश्वरीस्थित तारिणीप्रसाद कोइरालाको घर आउनुभयो। त्यहाँ पत्रकारसँग भेटघाट भयो।
त्यहाँ मलाई नदेखेर गणेशमानजीले ‘भैरवबहादूर खोइ त?’ भनेर सोध्नु भएछ। मेरो नाम बिर्सिएर भैरव रिसाल होइन ‘बहादुर’ भन्नुभएको रहेछ। उहाँले आठ वर्षसम्म पनि मलाई बिर्सिनुभएको रहेनछ। एउटा पत्रकारको रुपमा सम्झिरहनुभएको रहेछ।
नेपाली कांग्रेसले आफ्नै किसिमले राजनीतिक संघर्ष गर्दै थियो । म राससको पत्रकार थिएँ। आफ्नै नीतिअनुसार समाचार दिने/नदिने गर्थेँ। पछि १० जेठ २०३६ मा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गर्नुभयो। राजनीतिक दलहरूमाथिको प्रतिबन्ध हट्यो। दलहरुले खुला गतिविधि गर्न थाले।
जनमत संग्रहमा निर्दललाई जिताइयो । वि.पि.ले त्यो जनमतको परिणामलाई समर्थन गरे ।
गणेशमानले बोल्न खोज्दा बीपीको हस्तक्षेप
जनमत संग्रहको मतदानको दिन साँझ राससबाट साथी इश्वरमान सिंह र म जयबागेश्वरी गएका थियौँ। विश्वेश्वरलाई भेट्न। “मतदान कस्तो भो?” भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “मतदान स्वच्छ र निष्पक्ष रूपमा निर्भीक वातावरणमा सम्पन्न भयो।”
उहाँले गौशाला मतदान केन्द्रमा मत खसाल्नुभएको थियो। ‘मैले मतदान गरेको केन्द्रमा स्वच्छ र निष्पक्ष वातावरणमा मतदान भयो’ मात्र भन्नु पर्नेमा मलुुकभरकै मतदान स्वच्छ निष्पक्ष भयो भन्नु उचित लागेन। मलाई चित्त बुझेन। गणेशमानजी केही भन्न खोज्दै थिए। तर विश्वेश्वरले उनलाई रोकी दिए। विश्वेश्वरको हस्तक्षेप पचाउन मलाई सहज भएन तर, गणेशमानजीले पचाउनुभयो।
सञ्चारको विकास भैसकेको थिएन। त्यसो हुँदा राज्यका सबै ठाउँबाट तुरुन्त खबर आउने सम्भावना नै थिएन। तसर्थ विश्वेश्वरले देशभर जनमत संग्रहको मतदान स्वच्छ र निष्पक्ष भो भन्न हुँदैन थियो।
केही वर्षअघि निः सहाय सेवा सदन वाग्मती किनारमा भएको एउटा समारोहमा गएको थिएँ। प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह हुनुहुँदोरहेछ। त्यहाँ मलाई बोल्न अवसर दिइएको थियो। मैले गणेशमाजीसँग टुँडिखेल घुमेको, पत्रकार सम्मेलनका कुरा, ‘भैरवबहादुर’ भनेर मेरो खोजी गरेको कुरा सुनाएँ।
प्रकाशमानले बोल्ने बेलामा ‘भो भो मैले सकिनँ, भैरवजीसँग मेरा बाका विषयमा मलाईभन्दा बढी थाहा रहेछ’ भनेर हँसाउनुभयो। बढी उमेर बाँचेकाले पनि होला यस्ता कुरामा रमाइलोे हुँदो रहेछ।