ग्लोबल आईएमई ब्यांक र हेफर इन्टरनेशनलबीच कृषि कर्जा सम्झौता
ग्लोबल आईएमई ब्यांक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे।
समझदारी पत्र अनुसार ग्लोबल आईएमई ब्यांकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेति, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने हेफर इन्टरनेशनलले सहकारीको सिफारिसमा साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ।
यो समझदारीले गुल्मी जिल्लाका महिला, सिमान्तकृत तथा पूजीँ अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरूको जीवनस्तर उकास्न उल्लेख्य योगदान पुर्याउने छ। यससँगै ब्यांकले ब्यांकिङ साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्नेछ।
मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आईएमई ब्यांकले सबै क्षेत्र र वर्गसम्म ब्यांकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ब्यांकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा ब्यांकके २६४ शाखासहित ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी, ब्यांकले १७ भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
साथै, हेफर इन्टरनेशनलले हालसम्म ४१ जिल्लामा २ लाख ५४ हजार भन्दा बढी गरीब, पिछडिएका परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीवीकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ।
ग्लोबल आईएमई ब्यांकले आफ्नो पहुँच तथा सेवा केन्द्रको उपभोग गर्दै हेफर नेपालले पहिचान गरेका सामाजिक महिला उद्यमी सहकारी तथा सोसँग सम्बद्ध महिला उद्यमीहरूलाई ब्यांकसँग जोड्दै सेवा प्रदान गर्नेछ।