डोनाल्ड ट्रम्प तत्काल पदबाट नहटे महाभियोग लगाउने चेतावनी
अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नैन्सी पेलोसी तथा कंग्रेसका डेमोक्र्याट सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट तत्काल हट्न आग्रह गरेका छन्। अन्यथा महाभियोग लगाएर हटाउने उनीहरुले चेतावनी दिएका छन्।
ट्रम्प समर्थकले बुधबार संसद भवन क्यापिटल हिल्समा आक्रमण गरेपछि डेमेक्र्याटिक नेताहरुको यस्तो चेतावनी आएको हो। डेमोक्र्याटिक सिनेटर चुक सुमरले ट्रम्पलाई तत्काल राष्ट्रपति कार्यालयबाट हटाउनु पर्ने बताए। त्यसलगत्तै सभामुख पेलोसीले उनीमाथि महाभियोग लगाउन सकिने बताइन्।
उनलाई महाभियोग लगाउन रिपब्लिकन पार्टीका सांसदको पनि सहमति चाहिन्छ। अहिलेसम्म केही रिपब्लिकन सांसदले मात्र महाभियोग लगाउन समर्थन जनाएका छन्।
उता नवनिर्वाचित राष्ट्रपति जो बाइडनले बुधबारको घटना अमेरिकी इतिहासकै कालो दिन भएको बताएका छन्। उनले त्यो असन्तोष नभएर अराजकता भएको बताए। उनले भने, “क्यापिटलमा उनीहरु प्रदर्शनकारी थिएनन्, घरेलु आतंकवादी थिए।”
उता ट्रम्पले भने एक भिडिओ सन्देश जारी गर्दै आफूले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्ने बताएका छन्। नियमानुसार उनले २० जनवरीमा ह्वाइट हाउस छाड्नुपर्छ।
डिसेम्बर २०१९ मा पनि ट्रम्पविरुद्ध महाभियोग चलेको थियो। दोस्रोपटक पनि चुनाव जित्न युक्रेनसँग गलत तरिकाले सहयोग मागेको उनलाई आरोप लागेको थियो। दोस्रोपटक पनि महाभियोगको प्रक्रिया शुरु भए दुईपटक महाभियोगको सामना गर्ने उनी पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।