कोभिडका कारण नेपाली वायुसेवाले साढे १७ अर्ब गुमाए, निगमलाई मात्रै पाँच अर्ब घाटा
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय, आन्तरिक उडानका जहाज तथा हेलिकोप्टरसहित हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसम्मको आम्दानी घटेको छ। नेपाली वायुसेवाले मात्रै करीब एक वर्षमा रू. १७ अर्ब ६२ करोड गुमाएका छन्।
कोरोना भाइरस संक्रमण (कोभिड–१९) का कारण नेपालका आन्तरिक वायुसेवाले हालसम्म रू. १७ अर्ब ६२ करोड गुमाएका छन्। आन्तरिक उडानका १० हेलिकोप्टर र नौ वटा नियमित उडानका वायुसेवा कम्पनीले कोभिडका कारण उडान गर्न नपाउँदा र यात्रु नभएका कारण जहाज थन्काएर राख्नुपरेका कारण उडान घाटा बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेल कोभिड–१९ को प्रभावले नेपाली वायुसेवाहरूमा नेपाल वायुसेवा निगमले करीब रू. ५ अर्ब गुमाएको बताउँछन्। अन्य वायुसेवामा आन्तरिक उडानका १० हेलिकोप्टर र अरु नौ वायुसेवाले कम्पनीहरूले करीब रू. १० अर्ब ६२ करोड गुमाए भने हिमालय एअरलाइन्सले करीब रू. २ अर्ब बराबरको आम्दानी गुमाएको सम्बन्धित वायुसेवा कम्पनीले प्राधिकरणलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
नेपाल वायुसेवा निगमले करीब रू.५ अर्ब, आन्तरिक उडानका १० हेलिकोप्टर र अरु नौ वायुसेवाले कम्पनीहरूले करीब रू. १० अर्ब ६२ करोड गुमाए भने हिमालय एअरलाइन्सले करीब रू. २ अर्ब बराबरको आम्दानी काेभिड महामारीकै कारण गुमाएका छन्।
प्राधिकरणका अनुसार मार्च–नोभेम्बर २०२० सम्मको तथ्यांकमा मात्रै उक्त उडान घाटा भएको हो। वायुसेवाको उडान कम भएको, पूर्ण क्षमतामा नउडेका र अन्तर्राष्ट्रिय उडानमा यात्रु अभाव भएको हुँदा यो घाटा अझै बढ्ने अनुमान गरिएको छ।
वायुसेवाले आम्दानी गुमाएकै कारण नियामक निकाय उड्डयन प्राधिकरणले पनि मार्च-नोभेम्बर १०९ को तुलनामा सन् २०२० को सोही अवधिमा करीब ८० प्रतिशतले आम्दानी घटेको बताएको छ। यो अवधिमा प्राधिकरणको रू. ५ अर्ब ६९ करोडले आम्दानी घटेको प्राधिकरणमा महानिर्देशक पोखरेलले जारी गरेको एक तथ्यांकमा उल्लेख छ।
कोरोना महामारीका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई यात्रु ७२ प्रतिशसम्मले घटेका छन्। सन् २०१९ मा नेपाली आकास प्रयोग गर्ने अन्तर्राष्ट्रिय उडानका हवाई यात्रु ४१ लाख ३८ हजार ४८२ रहेको थियो। यो संख्या सन् २०२० को नोभेम्बरसम्ममा १० लाख ३९ हजार ३२२ मात्रै रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
आन्तरिक उडानका सन् २०१९ मा ३१ लाख ८८ हजार ४७९ यात्रु रहेकोमा सन् २०२० को नोभेम्बरसम्ममा १० लाख ३० हजार २९६ मात्रै रहेको छ। आन्तरिक उडानमा करीब ६४ प्रतिशतले यात्रु घटेको उक्त तथ्यांकमा उल्लेख छ। कोरोना महामारीका कारण यात्रामा प्रतिबन्ध लागेकै कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान ८६ प्रतिशत र आन्तरिक उडानमा ७३ प्रतिशतले घटेको पनि प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
नेपालबाट हाल अन्तर्राष्ट्रिय उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रबाट हिमालय एअरलाइन्सको मात्रै नियमित उडान छ। श्री एअरलाइन्सले यात्रु चार्टरको अनुमति पाएको र महमारीका कारण यात्रु सेवामा यसको योगदान निकै न्यून छ।
कोरोना महामारीका कारण यात्रामा प्रतिबन्ध लागेकै कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान ८६ प्रतिशत र आन्तरिक उडानमा ७३ प्रतिशतले घटेको छ।
अन्तर्राष्ट्रिय उडानमा बुद्ध एअरले पनि उपस्थिति रहेको भएपनि कोरोना महामारीपछि यसको अन्तर्राष्ट्रिय उडान ठप्प छ। बुद्धले काठमाडौंबाट भारतको पौराणिक शहर वनारसमा नियमित उडान गर्दै आएको थियो।
आन्तरिक उडानमा भने नेपाल वायुसेवा निगम, बुद्ध, यती, तारा, सिम्रिक, समिट, श्री, सिता र सौर्य एअरलाइन्सले उडान गर्छन्। हेलिकोप्टरमा मनाङ, श्री, फिस्टेल, कैलाश, अल्टिच्युड, हेलि एभरेष्ट, माउन्टेन र प्रभु हेलिकोप्टरले उडान गर्छन्।
कोरोना महामारीपछि आन्तरिक वायुसेवाले विस्तारै आफ्नो लय समाउन खोजेका छन्। सबै आन्तरिक वायुसेवाले आन्तरिक उडानका यात्रुलाई दृष्टिगत गरेर प्याकेज ल्याउने र सञ्चालन खर्च धान्नेको लागि भएपनि उडान गरिरहेका छन्।
हेलिकोप्टरको भने अघिकांश उडान उद्धार र पर्यटकीय दृश्यावलोकन हो। पर्यटक नआएका कारण अधिकांश हेलिकोप्टरले काम पाएका छैनन्। पर्यटक नभएको र व्यापार पनि करीब ठप्प नै रहेको भएकै जहाज थन्काएर राख्नुपर्दा घाटा चुलिँदै गइरहेको वायुसेवा सञ्चालन संघको भनाइ छ।