लालिनाको प्रभावका कारण यसवर्ष हिउँदे वर्षा कम हुने
यस वर्ष हिउँदे वर्षा नहुँदा देशभरका प्रमुख शहरहरूमा वायु प्रदूषणको मात्रा वृद्धि भएको छ। वातावरण विभागका अनुसार तीन दिनअघि प्रदूषित काठमाडौं उपत्यकाको वायुको गुणस्तरमा केही सुधार आएको छ। तर, हेटौंडा, जनकपुर, विराटनगर लगायतका शहरहरूमा प्रदूषणको मात्रा उच्च रहेको छ।
बिहीबार दिउँसो २ बजे जनकपुरमा पीएम २.५ को मात्रा १४८.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। त्यसैगरी, विराटनगरमा ७३.९, हेटौंडामा ४७.८ पुग्यो। काठमाडौं उपत्यकामा बिहानको समयमा पीएम २.५ को मात्रा वायुमा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्नेमा त्यो भन्दा बढी हुने गरेको छ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार हिउँदे वर्षा हुँदा वायु मण्डलमा भएको धुलो र धुँवाका कणहरू पखालिने र प्रदूषण कम हुने अवस्था हुन्थ्यो। तर, वर्षा नभएपछि धुलोको मात्रा वृद्धि भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मंसीरदेखि अहिलेसम्म हिउँदे वर्षा नै भएको छैन। १६ मंसीरदेखि १७ फागुनसम्म हिउँदे वर्षाको समय हो। विभागका अनुसार सुदूरपश्चिम प्रदेशका बझाङ र कर्णाली प्रदेशका हुम्लामा मात्र सामान्य वर्षा भएको छ। पछिल्लो २४ घण्टामा बझाङको चयनपुरमा १० मिलिमिटर वर्षा भएको छ भने मुगुको ताल्चामा ११.३४ मिलिमिटर वर्षा भएको छ।
विभागका अनुसार यसवर्षको हिउँदमा वर्षा सरदर भन्दा कम र तापक्रम औसतभन्दा बढी हुने हुने पूर्वानुमान गरिएको छ। वर्षा ४० देखि ५० प्रतिशतले कम हुने अनुमान गरिएको हो। विभागकी वरिष्ठ मौसमविद् कँडेलका अनुसार नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमि वायुको रहने गर्दछ।
तर, भूमध्यरेखाको पूर्वी प्रशान्त महासागरको लालिना प्रणाली विकसित भएको छ। जसले गर्दा नेपालमा पश्चिमबाट प्रवेश गर्ने पश्चिमि वायुको प्रभाव घट्ने र त्यसले वर्षा कम हुने आंकलन गरिएको हो।
विभागका अनुसार स्थान र ऋतु विशेषका आधारमा सरदर वर्षाको मापन गरिएको छ। जस्तो कि, दार्चुलामा १०० मिलिमिटर भन्दा कम वर्षा भयो भने त्यसलाई सरदर भन्दा कम वर्षा भनिन्छ भने १२० देखि १८० मिलिमिटरलाई औसत र १८० मिलिमिटर भन्दा बढी वर्षालाई सरदर भन्दा बढी वर्षा भएको मानिन्छ। काठमाडौंमा ६० मिलिमिटर भन्दा बढी वर्षा भयो भने त्यसलाई सरदर भन्दा बढी वर्षा भएको मान्छि।
८ मंसीर २०७७ मा सम्पन्न भएको दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चको बैठकले हिउँदे वर्षा र तापक्रमको पूर्वानुमान गरेको हो। उक्त मञ्चमा नेपालसहित भारत, म्यानमारलगायत दक्षिण एशियाका ९ देश रहेका छन्। उक्त मञ्चले यसवर्ष हिउँदको समयमा नेपालमा तापक्रम सरदर भन्दा बढी हुने पूर्वानुमान गरेको छ।
प्रदेश-१, प्रदेश-२, बागमती र सुदूरपश्चिम प्रदेशको अकिकांश भागहरू, गण्डकी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको मध्य तथा उत्तरी भागमा औसत तापक्रम सरदरभन्दा ४० देखि ५० प्रतिशत बढी रहने पूर्वानुमान गरिएको छ।