अमेरिकमा ट्रम्प समर्थकको हिंसाः अहिलेसम्म चार जनाको मृत्यु
अमेरिकामा संसद बैठक चलिरहेको बेला ट्रम्प समर्थकहरुले भित्रै पसेर प्रदर्शन गर्दा भएको झडपमा अहिलेसम्म चार जनाको मृत्यु भएको छ।
झडपको क्रममा यसअघि एक महिलाको मृत्यु भएको समाचार बाहिर आएको थियो। उनको परिचय खुलाइएको थिएन। उनलाई प्रहरीले हानेको गोली लागेको बताइएको छ। अरु थप तीन जनाको मृत्यु भएको जनाइए पनि उनीहरुको बारेमा केही सूचना दिइएको छैन।
यसैबीच वाशिङ्टनका मेयर म्युरियल बाउसरले पत्रकार सम्मेलन गर्दै संसद भवन क्यापिटल हिलमा प्रहरीको गोलीबाट मृत्यु हुने महिला संसद बैठकभित्र जबर्जस्ती घुस्ने समूहको सदस्य भएको दाबी गरेकी छिन्। सादा पोशाकका सुरक्षाकर्मीले उनलाई रोक्ने प्रयास गरे पनि असफल भएपछि अर्का एक प्रहरी अफिसरले गोली चलाएको उनको भनाइ छ।
मेयर बाउसरका अनुसार मृत्यु हुने अरु तीन जनामा दुई महिला र एक पुरुष छन्। मेट्रो पुलिस विभागका १४ जना पनि घाइते भएको उनले बताएकी छिन्। तीमध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ।
प्रदर्शनस्थलमा दुई वटा पाइप बम पनि फेला परेको छ। एउटा बम संसद भवन क्यापिटल बिल्डिङ नजिक रहेको डेमोक्रेटिक नेशनल कमिटीको कार्यालय रहेको भित्तामा र अर्को रिपब्लिकन नेशनल कमिटीको कार्यालय रहेको स्थानमा भेटिएको जनाइएको छ।
ट्रम्प समर्थकले संसद भवन घेर्नुका साथै भित्र पसेर हिंसा मच्चाएपछि वाशिङ्टन डीसीमा निषेधाज्ञा लगाइएको छ। अहिलेसम्म प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ। तीमध्ये ४७ जना निषेधाज्ञा उल्लंघन गर्नेहरु रहेको बीबीसीले जनाएको छ।
अहिले पनि वाशिङ्टन डीसीमा निषेधाज्ञा जारी छ। ट्रम्पका केही समर्थकले निषेधाज्ञा तोड्ने प्रयास गरिएपछि उनीहरुलाई पक्राउ गरिएको छ। झडपपछि रोकिएको संसदको बैठक पनि सुचारु गरिएको छ। संसद भवनबाहिर अमेरिकी सेना राखिएको छ।