१५ वर्षपछि पक्राउ परे गैँडा तस्कर
गैँडा सिकार गरेको तथा खाग तस्करको प्रमाणित भएका एक जना मुद्दा चलेको १५ वर्षपछि पक्राउ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा माडी नगरपालिका– ५ का ४८ वर्षीय शनिचरा महतो छन्। अधिकारीका अनुसार उनलाई निकुञ्ज प्रशासनले २७ मंसीरमा पक्राउ गरेको हो।
२०६२ असारमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध त्यही वर्ष १२ असोजमा मुद्दा दायर गरिएको थियो। मुद्दाको फैसला २० पुस २०६४ मा हुँदा उनलाई १५ वर्ष कैद र रु.१ लाख जरिवाना तोकिएको थियो।
फरार रहेका अवस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो। उनी २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबी गरेको छ। उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ।
महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताका रुपमा लिएका छन्। पछिल्लो समय निकुञ्जमा चोरी शिकारी बढेको छ। साउनयता तस्करले मारेका चार गैँडा फेला परेपछि निकुञ्जमा निगरानी बढाइएको छ।