सहकारीमा झण्डै रू. ५ खर्ब बचत संकलन, ८८ हजारलाई रोजगारी
देशैभरका २९ हजार ८८६ सहरकारी संस्थाले रू. ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ बचत संकलन गरेका छन्। यो बचत संकलनबाट रू. ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३८१ कुल ऋण लगानी भएको सहकारी विभागले गरेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।
विभागले साउन–कात्तिक २०७७ सम्म सातै प्रदेश तथा स्थानीय तहहरूसंगको सहकार्यमा उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो। प्रतिवेदन अनुसार मुलुकभर सञ्चालित सहकारीको कुल शेयर पूँजी रू. ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८०३ रहेको छ।
देशका विभिन्न स्थानमा रहेका यी सहकारी संघसंस्थाले ८८ हजार ३०९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको पनि विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलले जानकारी दिएका छन्।
पौडेलले जारी गरेको विभागको उक्त प्रतिवेदन अनुसार संघीय सरकार अन्तर्गत १२५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७५९ वटा सहकारी संस्था क्रियाशील रहेका छन्।
देशभर छरिएर रहेका यी सहकारी संघसंस्थामा ७३ लाख ७ हजार ४६२ सदस्य आवद्ध छन्। कुल सदस्यमध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेको तथ्यांकले देखाउँछ।
सहकारी संघसंस्थामा ७३ लाख ७ हजार ४६२ सदस्य आवद्ध छन्। कुल सदस्यमध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेको तथ्यांकले देखाउँछ।
विभागको अध्ययन प्रतिवेदन अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १० हजार ४१८ वटा सहकारी संस्था छन्। सबैभन्दा कम कर्णालीमा एक हजार ९६७ वटा सहरकारी संस्था रहेको प्रतिवेदनमा उल्लेख छ। अन्य चार प्रदेशमध्ये प्रदेश-१ मा ४ हजार ७३७, प्रदेश-२ मा ४ हजार १५३, लुम्बिनीमा ३ हजार ७५५ र सुदूरपश्चिममा २ हजार ६० वटा सहकारी संस्था रहेको तथ्यांकमा उल्लेख छ।
तथ्यांकले पाँच हजार सहकारी संस्था घटेको देखाएको छ। अध्ययन अगाडि मुलुकभर ३४ हजार ८३७ सहकारी संघसंस्था रहेको देखिएपनि पछिल्लो अध्ययनबाट ५००० सहकारी संस्था घटेको छ।
सहकारी संस्था एकीकरण भएका र निष्कृयका कारण उक्त संख्या घटेको विभागको भनाइ छ। विभागले शून्य लागतमा देशभरका सातवटै प्रदेश तथा ७५३ स्थानीय सरकारको सहकार्यमा गरेर तथ्यांक संकलन गरेको हो।