एकै टोलमा तीन वर्षमा ३० जनाको क्यान्सरबाट मृत्यु, के होला पूरै देशको हाल ?
सर्लाहीको हरिवन नगरपालिकाको घुर्क्यौली गाउँका गोले टोल, धनपति टोल र सिद्धार्थ टोलका २०० घरमा १४०० जति मानिस बस्छन्। यहाँका सात जना मानिस अहिले क्यान्सरको उपचार गराइरहेका छन्। बितेका तीन वर्षमा यहाँका ३० जना मानिस क्यान्सर लागेर बितिसकेका छन्।
सर्लाहीको घुर्क्यौली गाउँको सिद्धार्थ टोलकी उमाकुमारी साह १० कक्षामा पढ्छिन्। शुरूमा उनलाई एलर्जी आयो। एलर्जीको औषधि गरिन् तर औषधि लगाउँदा एकछिन निको भएजस्तो गर्थ्यो तर फेरि आइहाल्थ्यो। कसैले हल्का पिट्दा पनि डाम बस्थ्यो। ज्वरो आउँथ्यो।
औषधि खाँदा निको भएन। त्यसपछि उनी जाँच गराउन भारत गइन्। त्यहाँ डाक्टरले सिटी स्क्यान गरेर फोक्सोमा मासु पलाएको छ भने। छिटै काठमाडौं अथवा पटना गएर इलाज गर्न सल्लाह दिए।
उनी भोलिपल्टै काठमाडौं गइन्। त्यहाँ थप जाँच गरियो। उनलाई केमो र रेडियो थेरापी दिइयो।
सर्लाहीको हरिवन नगरपालिकाको घुर्क्यौली गाउँका गोले टोल, धनपति टोल र सिद्धार्थ टोलका २०० घरमा १४०० जति मानिस बस्छन्। यहाँका सात जना मानिस अहिले क्यान्सरको उपचार गराइरहेका छन्। बितेका तीन वर्षमा यहाँका ३० जना मानिस क्यान्सर लागेर बितिसकेका छन्।
१,४०० मानिस भएका ठाउँमा तीन वर्षमा ३० जना क्यान्सरले गर्दा बित्नु भनेको दुई प्रतिशतभन्दा अलि बढी मानिस क्यान्सरबाट बित्नु हो। यहाँकै जस्तो अवस्था नेपालभरमा हुने हो भने बितेका तीन वर्षमा ६ लाख पचास हजार जति नेपाली क्यान्सरबाट बितिसकेका हुनेथिए। घुर्क्यौलीमा जस्तै गरी नेपालभर क्यान्सर लाग्ने हो भने नेपालमा अहिले १ लाख पचास हजार क्यान्सरका बिरामी हुनेथिए।
डाक्टरको निगरानीमा रहेर उपचार गरिरहेका २५ देखि ३० जना बिरामीको मृत्यु बितेका दुई वर्षमा भएको छ, हरिवन नगरपालिका-५ का वडाध्यक्ष नागेन्द्र साहले बताए।
यहाँका १४/१५ वर्षदेखि ७० वर्षसम्मका मानिसलाई घाँटी, फोक्सो, टाउको, छाला, पाठेघर, स्तन र रगतको क्यान्सर भएको छ। क्यान्सर लाग्नेमा महिला र पुरुष दुवै छन्।
“मेरो भाइलाई फोक्सोमा भएको थियो। त्यहाँका एकजनालाई पनि फोक्सोको क्यान्सर भएको थियो। अनि त्यहाँ एकजनालाई घाँटीको कि केको क्यान्सर भएको भन्थ्यो। त्यहाँका मोक्तान बा रगतको क्यान्सर भएर मरे। अनि ऊ त्यहाँ तल्तिरका दुईजना पनि त्यसरी नै बिते। त्यो टोलमा पनि दुईजना क्यान्सरै भएर बिते भन्थे”, धनबहादुर घिसिङले बताए।
उमाकुमारीको परिवार अलि सम्पन्न हुनाले र उनमा क्यान्सर भएको कुरा अलि चाँडै पत्ता लागेकाले उनको उपचार हुनसक्यो। “मेरो जस्तो परिवार सबैलाई दिओस्। मेरो जस्तो बाबाममी सबैलाई दिओस्”, उमाकुमारीले भनिन्।
उमाकुमारी पछि स्टाफ नर्स बनेर बिरामीहरुको सेवा गर्न, गरीब र इलाज गर्न नसक्नेहरूको सित्तैमा उपचार गर्न चाहन्छिन्।
तर, यहाँका सबैले उमाले पाए जस्तो अवसर पाउँदैनन् किनभने उनीहरूसँग उपचार गर्ने पैसा हुँदैन। सिद्धार्थ टोलका रफ मियाको परिवारसँग दुई कठ्ठा घडेरी र बाह्र कठ्ठा बारी छ। यसमा गरेको खेतीले यो परिवारलाई खान पुग्दैन। त्यसैले उनीहरूले अर्काको जग्गा कमाउने गरेका छन्।
अहिले रफीको परिवारमा गरीबीमाथि क्यान्सरको मार परेको छ।
रफीलाई पहिले घाँटी दुख्यो। आफ्नो घरछेउमा पाइने औषधि खाँदा ठीक भएन। त्यसपछि उनी भरतपुर गए। त्यहाँ चेक गर्दा उनलाई क्यान्सर भएको पत्ता लाग्यो। त्यसपछि केही समयसम्म उनले दबाइ खाए। तर, पैसा नभएर नियमित औषधि खान सकेका छैनन्।
“अहिले क्यान्सर छ कि छैन भनेर चेक गराएको छैन। अहिले छ कि छैन थाहा छैन। हामी जान्दैनौँ, डाक्टरले जान्दछ”, रफीले भने। अस्पताल जान, डाक्टरलाई देखाउन र जाँच गराउन पैसा नभएकाले उनले जाँच गराएका छैनन्।
पहिले राम्रो भएको उनको आवाज अहिले दबेको छ।
रफीलाई क्यान्सर लागेको केही समयपछि छोरा लिप्लालाई पनि रोग लाग्यो।
“पहिले ठीक थियो। घुम्दै फिर्दै गरेका बेलामा छोरा बिरामी भयो। उसको शरीर काम्न थाल्यो। दिसापिसाब नरोकिने भयो। हामीलाई दशा लाग्यो। निकै ठाउँमा देखायौँ। ठीक भएन”, उनले भने।
रफीको परिवारको आम्दानीले क्यान्सर लागेका बाबुको थप जाँच र छोरा दुवैको उपचार गर्न सकिँदैनथ्यो। त्यसैले बाबु रफीले छोराको उपचार गराउने विचार गरे। गाउँलेहरूको समेत सहयोग लिएर लिप्लालाई वीरगञ्ज लगे।
“वीरगञ्जमा राखेँ। ठीक भएन। वीरगञ्जको डाक्टरले गर्दा बिग्रन्छ भनेर घर ल्याएँ। बिमार झन् बढ्यो। त्यसपछि वडाध्यक्ष सुरेन्द्र साहलाई भन्यौँ। र काठमाडौं पठायौँ। त्यहाँ टाउकोको पछाडिको भागको अपरेसन गरिदिए। दुई लाख रूपैयाँ लाग्यो। अहिले राम्रो छ”, रफीले भने।
छोराको उपचारमा लागेको खर्चको ऋण कसरी तिर्ने भन्ने रफीलाई थाहा छैन। “अब केही बेच्नुपर्छ कि कहाँबाट ल्याउनुपर्छ केही ठेकान छैन”, रफीले भने।
रफीको छिमेकी टोलकी फेकिनीदेवीको हालत झन् नराम्रो छ। उनलाई पहिले छालाको रोग लागे जस्तो देखियो। पछि स्तनमा गाँठो बढ्दै गयो। उनलाई यो क्यान्सर हो जस्तो लागेको छ। तर, पैसा नभएकाले जचाउन जान सकेकी छैनन्।
“कहीँ लानलाई पैसा हुनुपर्छ। पैसा छ कोही छ, पैसा छैन कोही छैन। पैसा छ भने दुनियाँले चिन्छ। पैसा छैन भने कसैले चिन्दैन। गाउँघरकाले होस् वा शहरकाले होस्। पैसा लिएर जानुस् डाक्टरले चिन्छ। पैसा छैन भने डाक्टरले ‘भाग, भाग’ भन्छ”, फेकिनीका श्रीमान् सिनाइ महतो सुँडीले भने, “हामीले कहीँ लगेनौँ। गाविस-नगरपालिकाको क्लिनिकमा लग्यो। मलम दिएको छ।”
फेकिनीका श्रीमान् सिनाइलाई दमको बिमार छ। यसअघि उनले उपचारका लागि वडा कार्यालयबाट नगद सहयोग पाएका थिए। त्यसैले यसपालि फेकिनीको बिराम जचाउन सहयोग पाउन वडा कार्यालयमा सहयोग मागे। वडा कार्यालयले सहयोग दिनुको सट्टामा क्यान्सर लागेको हुनाले उपचार गरिदिनु भनी सिफारिश गरिदियो। त्यस्तो सिफारिशले केही काम नगर्ने हुनाले जँचाउन जाने विचार छाडिदिए- स्तनको गाँठो बढिरहेकाले जँचाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि।
“अब यस्तो छ हालत। जचाँउन कसरी जानू ?”, सिनाइले चश्माको देब्रे आँखामा बुढी औँला घुसारेर भने। चश्माको त्यो आँखामा शिशा नभएकाले उनको औँला छिर्यो।
यहाँका प्रायः सबै मानिसलाई आफ्नो जीविका चलाउन धौ धौ छ। त्यसैले क्यान्सरको उपचार गर्न लाग्ने खर्च जुटाउन आफ्नो जीविकाको आधार बेच्नुपर्छ।
सिद्धार्थ टोलका जग्गीलाल साहले यसै गर्नुपर्यो।
५/६ वर्षदेखि जग्गीलालको शरीर दुख्थ्यो। ढाड र खुट्टा चिसा भए। उपचारस्वरूप उनले तातोपानी खाए, तातोपानीले शरीर धोए। बेलुका लसुन तेल तताएर मालिस गरे। त्यति गर्दा केही समय अलि आराम भएजस्तो हुन्थ्यो। रोग बढेजस्तो लागेपछि पोहर फागनुमा उनी वीरगञ्ज गएर डाक्टरलाई देखाए। डाकटरले क्याल्सियम खाऊ भने। त्यो खाँदा आराम भएकाले उनी डाक्टरले बोलाएको समयमा डाक्टरकहाँ गएनन्।
अस्ति कोरोना महामारी फैलिएका बेला चिया र पाउरोटी खाँदै गर्दा जग्गीलालको शरीर बेस्कन काम्यो। संयोगले एउटा एम्बुलेन्स उनको घर नजिकै आइपुगेको थियो। त्यसैमा हालेर हरिवनको अस्पतालमा पुर्याए। उनी बेहोस थिए। अस्पतालले अन्तै लैजाओ भनिदियो।
त्यसपछि रोग पत्ता लगाउन निकै झन्झटिलो र खर्चिलो प्रकृयामा लाग्नुपर्याे। जग्गीलाललाई उनका छोराले भरतपुर लगे। त्यहाँको निजी अस्पतालले टाउकोमा ट्युमर भएको शंका गर्याे तर, बिरामी भर्ना गर्न मानेन। कोरोनाले गर्दा होटल/लज बन्द थिए। त्यसैले छोराले उनलाई काठमाडौंको वीर अस्पताल लगे।
त्यहाँ कोरोनाको उपचार गर्ने हुँदा अरू बिरामीलाई नहेर्ने भनेपछि काठमाडौंकै निजी अस्पतालमा १५ दिन राखेर अनेक जाँच गरियो। त्यहाँ आफूले देखाइरहेका डाक्टर आउन छाडेपछि फेरि वीर अस्पताल लगियो। त्यहाँबाट ट्रमा सेन्टरमा राखियो। त्यहाँ बायोप्सी गरेर त्यसको जाँचका लागि पठाइयो। त्यो रिपोर्ट आएपछि उनलाई तेस्रो चरणको क्यान्सर भएको पत्ता लाग्यो।
जग्गीलालले गोरु गाढामा सामान ओसारेर अलिअलि थप आम्दानी गर्थे। क्यान्सरको उपचार गराउन एक लाख १० हजार रूपैयाँमा गोरु बेच्नुपर्याे। गोरु नभएपछि सामान ओसारेर हुने आम्दानी सुक्यो।
यहाँका अधिकांश मानिस क्यान्सरको शंका लागेपछि हरिवन बजारको नमूना सामुदायिक अस्पताल जान्छन्।
क्यान्सरका लक्षण भएका बिरामी फाट्टफुट्ट आइराख्या छन्। ब्रेन ट्युमरका क्यान्सर कम हुन्छन्। सर्सर्ती हेर्दा छाला, छाती, फोक्सो र पित्तथैलीको क्यान्सरका बिरामी आउँछन्, नमूना सामुदायिक अस्पतालका डा. अनिलकुमार चौधरीले भने।
यहाँका डाक्टरले क्यान्सरको शंका लागेपछि भरतपुर अथवा काठमाडौंका अस्पतालमा पठाउँछन्। केही बिरामी भारत पनि जान्छन्।
सरकारले क्यान्सर लगायतका केही रोगको उपचार गर्न विपन्नलाई सहयोग गर्ने गरेको छ। क्यान्सर भएको पत्ता लागेपछि अस्पतालमा लागेको खर्चको एक लाख रूपैयाँसम्म सरकारले बेहोर्छ। तर, यति पैसाले क्यान्सरको उपचार खर्चको एक छेऊ पनि भेट्दैन।
“क्यान्सर लागेपछि बायोप्सी गर्नुपर्छ। सीटी स्क्यान गर्नुपर्छ। धेरै जना मानिस पैसा नभएकाले जँचाउन सक्नुहुन्न। सरकारले गरीबलाई अलि धेरै सहयोग गरिदिए हुने..”, उमाकुमारी भन्छिन्।
यहाँका मानिसहरूले के अनुभव गरेका छन् भने क्यान्सर लागेको थाहा पाइञ्जेलमा उपचार गर्न निकै ढिलो भइसकेको हुँदोरहेछ। त्यसले गर्दा क्यान्सर लागेका यहाँका धेरै मानिसको ज्यान गइसकेको छ।
“क्यान्सर रोग पहिले चिनिँदैन। धेरै अस्पताल चहार्नुपर्छ। अन्तिममा चिनिन्छ। तबसम्ममा ऊ धेरै नै नराम्रो अवस्थामा पुगिसकेको हुन्छ। हुनेले त दबाइ-पानी गर्ला। अलिकति छाँक्कछिँक्क गरेपछि डाक्टरकहाँ पुग्ला। नहुने मान्छे त बिरामले नगलेसम्म अस्पताल जान सक्दैन”, धनबहादुर घिसिङले भने।
सूर्यबहादुर स्याङ्तानका बुबालाई त्यस्तै भयो जो २०७५ सालमा बित्नुभयो। भदौमा बिरामीलाई काठमाडौं लगेर जाँच शुरू गर्दा असोजमा गएर क्यान्सर पत्ता लाग्यो। त्यसपछि काठमाडौंबाट भरतपुर लगेर थप जाँच गर्दा अन्तिम अवस्थामा पुगेको पत्ता लाग्यो।
“तपाईँको बुबाको रोग अन्तिम अवस्थामा पुगेको छ, उहाँको आयू इलाज गर्दा डेढ दुई महीना हो, नगर्दा पनि त्यति नै हो भनिसकेपछि हामीले घरमा ल्याएर आयुर्वेदिक दबाइ दिएर बिरामीको मन बुझाउने बाटो गर्याैं”, सूर्यबहादुरले भने।
क्यान्सर लाग्दा, त्यसमाथि पनि निकै ढिलो भएपछि मात्र रोग पत्ता लाग्दा क्यान्सर लाग्ने मानिस र परिवारलाई ठूलो मार पर्छ, उनीहरूले धेरै दुःख खप्नुपर्छ।
“क्यान्सर लागेका बिरामीलाई दुई/तीन महीना उपचार गरायो। पैसा पनि सकिन्छ, मान्छे पनि मर्छ”, धनबहादुर स्याङतानले भने, “उपचार नगरौँ भएन, उपचार गर्दा बाँचेकाले खाने बाटो रहँदैन।”
क्यान्सर लागेका मानिसले कोरोनाजस्ता झट्टै सर्ने भनी ठानिएका रोग लागेका मानिसले जस्तो छिमेकीको छि:छि र दुर्दुर् सहनु पर्दैन। तर, यहाँ अलि फरक छ। एकै ठाउँमा यति धेरै मानिसलाई क्यान्सर लागेकाले अहिले यहाँका मानिसलाई नजिक र टाढाका छिमेकीले बहिस्कार जस्तै गरेका छन्।
“अन्तका मानिससँग यहाँको मानिसको बिहेवारी हुन छाड्यो”, वसन्त घलानले भने।
“भोजभतेर, पूजाआजामा बोलाएका पाहुनाले यहाँको पानी खाँदैनन”, सूर्यबहादुर स्याङतानले भने।
गरीबी, त्यसमाथि क्यान्सर, क्यान्सरमाथि छिमेकीको बहिष्कार। यी सबै कुरा एकै पटक सहनु परेको छ यहाँका मानिसले।
यहाँका यति धेरै मानिसलाई क्यान्सर लाग्नुका कारणबारे विभिन्न मानिसले विभिन्न अड्कल गर्छन्। कसैले थाहा छैन भन्छन्।
“पानीले भयो कि ? के ले भयो ? यहीँकालाई भयो। यहीँको पानी खानेलाई भयो तर के ले भयो थाहा छैन”, रफीले भने।
यहाँका मानिसले धेरै पहिलेदेखि तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीमा विषादीको प्रयोग हुँदै आएको छ। यहाँका मानिसका विचारमा विषादी छिटेन भने तरकारी राम्रो हुँदैन। ठण्डीले गर्दा दाग लागेपछि ब्यापारीले तरकारी किन्दैनन्। त्यसैले हानिकारक छ थाहा पाइपाई पनि मानिसहरू विषादी छर्छन्।।
सुरेन्द्र लामा भन्छन्, “मेरो घरमा फूलबारी थियो। बेलुकासम्म फूल ठीकै थिए। बिहान उठ्दा सबै फूल झोक्राएका थिए। के भएर यस्तो भयो भन्दा थाहा पाएँ, मेरो घरभन्दा पश्चिमपट्टीको खेतमा झार मार्ने विषादी छरेछन्। त्यसका हावाले गर्दा मेरा फूल मरेका रहेछन्। त्यस्तो विषाक्त विष छ। झार मार्ने नाममा या कीरा मार्ने नाममा या उत्पादान बढी गर्ने नाममा यस्तो भइरहेको छ।”
आर्सेनिक मिसिएको पानी ल्याउने पम्प ।
यसरी प्रयोग भएको विषादीले पनि क्यान्सर लगाएको हुनसक्ने अनुमान मानिसहरूले गरेका छन्। तर, कृषिविज्ञहरूको विचार अलि फरक छ।
“विषादीकै प्रभावले नै हो भनेर यकिन त गर्न सकिँदैन। हुन पनि सक्छ भन्ने सम्भावना चाहिँ हो”, कृषि ज्ञान केन्द्र, सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले भने।
कसैले यहाँको पानीले गर्दा क्यान्सर लागेको हो भन्छन्। यहाँका मानिसहरू पहिले इनारको पानी खान्थे। पछि स्यालो ट्युबवेलको चलन आएपछि त्यसको पानी खान थाले। जमिनमुनिको पानीको सतह तल गएपछि इनार सुके। त्यसपछि धेरै समय मानिसले ट्युबवेलको पानी खाए।
यहाँका केही ट्युबवेलको पानी जाँच्दा त्यसमा मानिसले खान नहुने मात्रामा आर्सेनिक पाइयो। खानेपानी तथा ढलनिकास व्यवस्थापन कार्यालयको जनकपुरधाममा रहेको पानीको गुणस्तर जाँच गर्ने प्रयोगशालाले दिएको रिपोर्ट अनुसार, यहाँको खानेपानीमा आर्सेनिकको मात्रा प्रतिलिटर ०.६३ मिलिग्राम पाइयो। सरकारको मापदण्डअनुसार, एक लिटरमा ०.०५ मिलिग्रामभन्दा बढी आर्सेनिक हुनुहुँदैन।
छिमेकीसँग तेतरीदेवी साह ।
यहाँका मानिसहरू चिनी मिलले फालेको पानीले गर्दा पनि यस्तो समस्या आएको ठान्छन्। यी टोलभन्दा डेढ किलोमिटर जति उत्तरमा ३५ वर्ष पहिलेदेखि इन्दू शंकर चिनी मिल चलिरहेको छ। यसले उखु पेल्ने सिजनमा एक दिनमा ४५ हजार क्वीन्टलसम्म उखु पेल्छ। चिनी र रक्सी बनाउने क्रममा निस्कने पानी प्रशोधन नगरिकन फाल्छ जसले गर्दा यहाँको पानी प्रदूषित भएको छ।
धनबहादुर घिसिङले भने, “अरु ठाउँमा पनि दबाइ हाल्छन् तर पनि यहीँको मान्छेलाई बढी क्यान्सर लाग्नुको अर्थ पानीबाट त फैलिएको होला जस्तो लाग्छ। विषादी छिटेको अनाज, तरकारी त सबै ठाउँमा खाइराखेका छन् तर त्यहाँका मान्छेलाई भन्दा यहाँका मान्छेलाई क्यान्सर किन बढी लाग्यो त ? कारण त पानी नै होला ?”
यो चिनी कारखानाले अन्यत्रका चिनी कारखानाले जस्तो उखुको पैसा किसानलाई दिन बाँकी राखेको छैन। अरूले जसरी उखु किन्न बिचौलिया पनि राखेको छैन। यति गुण हुँदाहुँदै पनि यसले फालेको अप्रशोधित पानी र धुवाँले असर पार्याे भनेर यहाँका बासिन्दाले आन्दोलन गरेका थिए।
तर, मिलका अधिकारी अलि फरक कुरा गर्छन्। मिलका उत्पादन प्रबन्धक गिरिराज निरौलाले भने, “चिनी फ्याक्ट्रीबाट निस्कने पानी त्यति प्रदूषित हुँदैन। डिस्टिलरी प्लान्टको पानीले प्रदूषण नगरोस् भनेर प्रशोधन प्लान्ट जडान गर्दैछौँ।”
सर्लाही जिल्लामा १२५, हरिवन नगरपालिकामा १६ वटा इँटाभट्टा छन्। यी बस्ती इँटाभट्टाले घेरिएका छन्। यसबाट निस्कने धुवाँले पनि क्यान्सर गराएको हो कि भन्ने अनुमान गरिएको छ।
सिद्धार्थ टोल
यहाँका मानिसको खानेपानीको समस्या हटाउन केही प्रयास पनि भएका छन्। स्यालो ट्युबवेल सुकेपछि ५०/६० फिट मुनिबाट पानी तानेर खान स्थानीय बासिन्दालाई नगरपालिकाले सहयोग गरेको थियो।
यसरी निकालेको पानीमा आर्सेनिकको मात्रा बढी भएको रिपोर्ट आएर हाहाकार भएपछि इन्दू शंकर चिनी मिलले यी टोलमा ट्यांकरबाट खानेपानी बाँड्यो। पछि ८० फिट गहिरो ट्युबवेल गाडेर त्यहाँको पानी जम्मा गर्न तीनवटा ट्यांकी राखिदियो। अहिले यहाँका मानिस त्यही पानी खाने गर्छन्।
प्रदेश सरकारले धेरै गहिरो ठाउँबाट पानी निकालेर बाँड्ने योजना बनाएको छ। तर, त्यसको गति ढिलो छ। पानीको समस्या समाधान भइहाले पनि क्यान्सर फैलाउने अरू कारकतत्व यथावत हुनसक्छन् किनभने क्यान्सर के कारणले फैलिएको हो भन्ने बारेमा राम्रोसँग अध्ययन भएको छैन।
क्यान्सर यति धेरै फैलनुका कारणबारे अड्कल मात्र गरिएकाले, यकिनसाथ कसैले केही भन्न नसकेकाले यो समस्या भविष्यमा पनि ज्यूँकात्यूँ रहिरहने छाँट छ।
यहाँका जागरुक मानिसको प्रयासले यहाँ फैलिएको क्यान्सर रोगसम्बन्धी जानकारी बाहिर आयो। नेपालका धेरै गाउँशहरको अवस्था घुर्क्यौलीको जस्तै छ।
ती ठाउँमा पनि क्यान्सरको अवस्था यस्तै छ कि ?
हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०) बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रशारण भइरहेको भिडियो म्यागाजिन 'सग्लो समाज' को दोस्रो अंककाे सामग्रीमा आधारित।