वायु प्रदूषण बढेपछि वातावरण विभागको आग्रह : घरबाहिर निस्किँदा विशेष सावधानी अपनाऔं
काठमाडौं उपत्यकामा सोमबारदेखि वायु प्रदूषण अत्याधिक बढेपछि वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन अपील गरेको छ।
बालबालिका, वृद्धवृद्धा एवं दम, खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन विभागको अनुरोध छ।
मंगलबार विज्ञप्ति जारी गर्दै विभागले काठमाडौं उपत्यकामा बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएको बताएको छ।
यस्तै, उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरू नेपालगंज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले विशेष सावधानी अपनाउन भनिएको छ।
‘फोहोर बाल्दा र आगो बाल्दा समेत वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ’, विभागको विज्ञप्तिमा भनिएको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण यस्तै रहन अथवा अझै खराब समेत हुने संभावना रहेको हुनाले विशेष सावधानी अपनाउनुहुन अनुरोध गरिन्छ।’