स्रोत नखुलेको ८ लाख रूपैयाँसहित रौतहटमा एक जना पक्राउ
स्रोत नखुलेको ८ लाख रूपैयाँसहित रौतहटमा एक १७ वर्षीय किशोर पक्राउ परेका छन्। भारतबाट नेपाल रकम भित्र्याएको आरोपमा बाराका एक किशोरलाई रौतहट प्रहरीले पक्राउ गरेको हो।
रौतहटको मौलापुर नगरपालिका–५ मा बाराको सिम्रौनगढ नगरपालिका–१ खजानी गाउँका लक्ष्मण साहका १७ वर्षीय छोरा धीरेन्द्र साहको झोलाबाट स्रोत नखुलेको अवैध नेपाली आठ लाख रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
भारतबाट नेपालतर्फ आएका साहले चढेको प्रदेश १–०२०४२ प २०० नम्बरको पल्सर मोटरसाइकललाई जाँच गर्दा साहले बोकेको झोलाबाट आठ लाख रूपैयाँ बरामद भएको प्रहरीको भनाइ छ।
साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।