कसरी संसारकै उच्च वायुप्रदूषित शहर बन्यो काठमाडौं ?
मौसमी अवस्थाका कारणले प्रदूषित हावा उपत्यकाभित्रै ठप्प भएर निस्कन पाएको छैन। त्यसमा आगो बाल्दा निस्किएको धुँवा, डढेलो, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण र सवारी साधनको उत्सर्जन थपिएपछि काठमाडौं उपत्यकाको वायुको गुणस्तर असाध्यै खतराको तहमा पुगेको छ।
हिजो सोमबार बिहानैदेखि आकाश धुम्म छ ।
सोमबार बिहानै छिटफुट वर्षा भएपनि यसले काठमाडौंको वायुमा रहेको आँखाले देख्न नसकिने धूलोका मसिना कण पखाल्न सकेन । बादलले आकाश ढाकेपछि त काठमाडौंको वायु नै उकुसमुकुस बन्न पुग्यो ।
धेरैले वरिपरिको हावामा धुँवाको गन्ध मात्रै होइन्, आँखा, घाँटी पोल्ने समस्या पनि बढेको अनुभव गरेका छन् ।
सोमबारदेखि नै उपत्यकामा वायु प्रदूषणको तह उच्चस्तरमा पुगेको छ । वायुको गुणस्तर सूचकांक (एक्यूआई) मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ, जसअनुसार काठमाडौंको एक्यूआई गए राती ६०० सम्म नाघेको अमेरिकी दुतावासको वायु मापन केन्द्रको तथ्यांक छ।
यसले काठमाडौंलाई संसारकै उच्च प्रदूषित शहरको स्थानमा पुर्यायो । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि हिजो सोमबार दिनभरि वायुको गुणस्तर मापक सूचकांक ४०० भन्दा माथि रहेको देखाएको थियो । आज पनि वायु प्रदूषणको तह खतराको स्थितिमा छ । यद्यपि, अपरान्हपछि भने वायु प्रदूषणको तह केही घटेर एक्यूआई जोखिमको स्तरभन्दा तल झरेको छ ।
एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरुपमा बुझाउँछ । एक्युआई जति बढ्दै गयो उति घातक मानिन्छ। एक्युआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ।
विश्व स्वास्थ संगठनको मापदण्डअनुसार, एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्युआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ । एक्युआई २०१ भन्दा माथि पुगेमा धेरै अस्वस्थकर हुने मानिन्छ । तर, यो ३०१ भन्दा माथि पुगेमा भने वायु प्रदूषण डरलाग्दो र धेरै घातक हुने मानिन्छ ।
वायुको गुणस्तरका हिसाबले यो आपतकालीन स्थिति हो । यस्तो खालको वायुले सबै समूहका मानिसलाई असर गर्छ । काठमाडौंमा अहिले यस्तै खतरनाक स्थिति छ । अर्थात, विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा काठमाडौंको वायु प्रदूषण १५ गुणा धेरै छ ।
वातावरणविद् भुषण तुलाधरका अनुसार, आन्तरिक र बाह्य दुबै कारणले वायु प्रदूषणलाई खतरानक तहमा पुर्याएको हो । यसको एउटा प्रमुख कारण इन्भर्सन भनिने वायुमण्डलमा हावाको प्रसार थुनिने अवस्था हो ।
अर्थात, जमीनको सतहभन्दा माथिको हावा न्यानो भएर माथितिर बहन नपाउँदा हावा ढकनले ढाकेजस्तो बनेको छ । जसले गर्दा उपत्यकाको प्रदूषित हावा चार भञ्याङ कटेर बाहिरिन पाएको छैन। यदि बादल नलागेको अवस्था हुने थियो भने पश्चिमबाट चलेको हावाले काठमाडौंको प्रदूषित वायुलाई स्वाट्टै सोहरेर साँगा भञ्याङ कटाइदिन्थ्यो ।
अर्को कारण, सवारी साधनले गरेको उत्सर्जन हो । कोरोना भाइरसको संक्रमण रोक्न लगाइएको बन्दाबन्दीमा अधिकांश सवारी साधन रोकिए । बन्दाबन्दी खुलेपछि पनि सवारी साधनको जोरबिजोर प्रणाली कायमै राखियो जसले गर्दा कयौं सवारी साधन सडकमा निस्किएनन् । तर, पछिल्ला दिनहरुमा सडकमा सवारी साधनको चाप बढेको छ, यससँगै वायु प्रदूषणको तह पनि उकालो चढेको वातावरणविद् तुलाधर बताउँछन् ।
तुलाधर चिसो बढेर मध्य ठण्डी भएकाले गाउँघर र शहरमा समेत आगो बालेर ताप्नेको संख्या बढेको हुनसक्ने बताउँछन् । दाउरा र अन्य वस्तु बाल्दा त्यसबाट ठूलो मात्रामा धुँवा निस्किन्छ । भारतको उत्तर प्रदेश र बिहारमा जाडो याममा धानका ठूटा, पराल आदि बाल्ने चलन छ।
भारतको उत्तरी क्षेत्रका उद्योगले उत्सर्जन गर्ने प्रदूषण पनि नेपाल भित्रिन्छ । नेपालकै तराईमा पनि जाडो बढेसँगै दाउरा, गुइँठा जलाउने तथा घुर तापिन्छ । यो धुँवा उड्दै काठमाडौं खाल्डोमा छिरेपछि यहाँको वायुको गुणस्तर खस्किन्छ । त्यसमाथि, अहिले कास्की, लमजुङ, धादिङ आदि स्थानमा डँढेलो लागेको नासाको स्याटेलाइट तस्वीरले देखाएको छ । सुख्खा याम शुरु भएसँगै डढेलो बढ्दा वायुमण्डललाई प्रदूषित हुन सहयोग गर्छ ।
वातावरणविद् अहिलेको प्रदूषणले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइसकेकाले सरकारले तत्काल आपतकाल घोषणा गरेर आवश्यक कदम लिन ढिला गर्न नहुने बताउँछन् । सरकारले २०७६ माघमा पारित गरेको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनाअनुसार एक्युआई ३०० नाघेमा विपद्को रुप लिने भनिएको छ ।
यो कार्ययोजनाले खुला रुपमा फोहोर बाल्ने काम तत्काल र पूर्ण रुपमा रोक्न स्वयंसेवक परिचालन गर्ने, सडक सफा गर्न ब्रुमरको व्यापक प्रयोग गर्ने, उपत्यका बाहिरबाट आउने सवारी साधन रोक्ने, उपत्यकाको उद्योग बन्द गर्ने लगायतका उपाय अपनाउने उल्लेख छ । तर, सरकारले अहिलेको संकटबाट पार पाउन ठोस योजना अघि सारेको छैन । वातावरण विभागले विज्ञप्ति निकालेर केही समयसम्म अहिलेको प्रदूषणको स्थिति कायमै रहनसक्ने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
वातावरणविद् तुलाधर सरकारले तत्कालै मापदण्डलाई लागू गर्नुपर्ने बताउँदै धुँवा फाल्ने सवारी साधनलाई हिडडुलमा रोक, स्थानीय तहका परिचालनमार्फत आगो र फोहोर बाल्न रोक लगाउनुपर्ने बताउँछन्।
“सर्वसाधारण आफैंले सकभर निजी गाडी नचलाउने, आगो नबाल्ने गरेर सहयोग गर्न सक्छन् । अर्कातिर, अत्यावश्यक काम नपर्दासम्म घरबाहिर नजाने र जानै पर्दा मास्क लगाउने गर्नुपर्छ, जसले प्रदूषणको असर कम गर्न सकिन्छ,” उनी भन्छन् ।
त्यसो त, नेपालमा सधैं हिउँद महीनाहरुमा वायु प्रदूषणको जोखिम बढ्छ । पानी कम पर्ने, वायुमण्डलमा हावाका विभिन्न तहको प्रसार कम भएर प्रदूषित हावा चलायमान नभई ठप्प भइराख्ने, आगो बाल्ने गतिविधि आदिका कारण हिउँदमा बढी प्रदूषण हुन्छ।
विभिन्न अध्ययनहरुका अनुसार, नेपालमा हरेक वर्ष वायु प्रदूषणका कारण ३७ हजारभन्दा धेरैको ज्यान जान्छ । वायु प्रदूषणले मुटु र फोक्सोका बिरामी, बालबालिका, वृद्धि तथा श्वासप्रश्वासका रोगीलाई थप प्रभावित पार्छ । यसले कोभिड–१९ का बिरामीलाई गम्भीर अवस्थामा धकेल्न सक्ने जोखिम रहेको पनि विभिन्न जानकारहरुले बताउँदै आएका छन्। विश्व वायुको अवस्था, २०२० प्रतिवेदनका अनुसार, वायु प्रदूषणले मधुमेह, मुटु र फोक्सोका बिरामीमा देखिएको कोभिड–१९ को असरलाई थप गम्भीर बनाउनसक्छ ।