भूगोलमै हराए भूगोलका ज्ञाता
पूर्वी नेपालको घुन्सा गाउँबाट ताप्लेजुङका लागि उडेको तर, गन्तव्यमा नपुगी बाटैमा हराएको हेलिकोप्टरमा सवार धेरै जना देशी–विदेशी विशिष्ट व्यक्तिहरूमध्ये डा. हर्क गुरुङ एक थिए जसलाई सञ्चारमाध्यममा भूगोलविद् र पूर्व राज्यमन्त्री भनेर चिनारी गराइएको छ।
असलमा डा. हर्क गुरुङ को हुन् ?
लमजुङ जिल्लाको ङादी खोला छेउ तराँचे भन्ने गाउँ छ। त्यहाँको एउटा सम्पन्न लाहुरे परिवारमा सन् १९३९ मा एउटा छोरो जन्म्यो जसलाई जेठो छोरो नभए पनि 'ठूला' भन्न थालियो। ९ वर्षको उमेरसम्म उसले स्कुलको मुख देख्न पाएको थिएन। उसको समय लेकको भेडीगोठ, बेँसीको खेत र खोलामा बरालिँदै बितेको थियो।
पेन्सन थाप्न काठमाडौं आउने आफ्ना पिताको टोलीलाई पछ्याउँदै खाली गोडा ऊ सात दिनको बाटो पैदल हिँडेर काठमाडौं आइपुग्यो। पढ्ने अठोटले गर्दा ऊ घरका अरू कसैलाई पत्तै नदिई भागेर पिताको पछि लागेको थियो। त्यसैले ऊ काठमाडौंको दरबार स्कुलमा भर्ना भयो।
लाहुरे परिवारको भएकाले पछि भारतको देहरादून र जालन्धरमा पढ्न गयो। त्यसपछि काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएर आई.ए प्रथम स्थानमा उत्तीर्ण भयो। अनि भूगोल विषयमा उसले पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा बी.ए. अनर्स गर्यो। तत्पश्चात् एडीनवर्ग विश्व–विद्यालयबाट पहिले डिप्लोमा र पछि सन् १९६५ मा भूगोल विषयमा डाक्टेरट गरेर त्यस विषयमा पीएच.डी. गर्ने पहिलो नेपाली बन्यो। यसरी ङादी खोला छेउको ठूला नामक त्यो केटो कालान्तरमा डा. हर्क गुरुङ भनेर चिनिए।
आफ्नो गाउँको शिरानी बनेर बसेका मनास्लु र हिमालचुली हिमशिखर पछिल्तिर के छन् र मर्स्याङ्दी नदी के कारणले गड्गडाएर बग्छ भन्ने जिज्ञासाले उनलाई बाल्यकालमै चिमोट्थ्यो र ज्ञानको एउटा नौलो संसार हेर्न उनी घरबाट भागेका थिए। यो घुमन्ते स्वभावले उनलाई जीवनभर एक ठाउँमा बस्न नदिई ठाउँठाउँमा घुमाइरह्यो- कहिले शिक्षक, कहिले अनुसन्धाता, कहिले योजनाकार र कहिले समाजशास्त्रीका रूपमा।
सन् १९५० को दशकमा नेपालका तराई, पहाड र हिमाली भागको चप्पाचप्पा पैदल घुम्नेमा स्वीस भूगर्भविद् टोनी हागन चिनिन्छन्। उनले नेपालभरि १४ हजार किलोमिटर पैदल यात्रा गरेको कुरा आफ्ना पुस्तकमा खुलाएका छन्।
टोनी हागनले कायम गरेको त्यस कीर्तिमानलाई कुनै नेपालीले चुनौती दिन सक्छ भने डा. हर्क गुरुङले सक्छन्। यो कुरा उनको 'भिन्यात्स् अफ नेपाल' नामक पुस्तकमा समाहित भ्रमण वृत्तान्तहरू र त्यसपछिका उनले लेखेका अन्य विवरणहरूबाट प्रमाणित हुन्छ। नेपालका हरेक भागबारे उनलाई आफ्ना हत्केलाजत्तिकै जानकारी थियो।
उनको त्यत्तिकै गहन अध्ययन र जानकारी गोर्खालीहरूको पल्टने इतिहासको थियो। गोर्खालीहरूको पल्टन इतिहासलाई भित्ता पुर्याएर केलाउने अर्को नेपाली विद्वान् अझसम्म देखिएको छैन। अर्को उनको अभिरुचिको विषय थियो पर्वतारोहणको इतिहास।
डा. गुरुङले नै हो त्यसको इतिहास खोतलेर नेपालका शेर्पाहरूभन्दा पनि अघि पर्वतारोहणको क्षेत्रमा पहिलो पाइला टेक्नेहरू गैरशेर्पा करवLर बुढाथोकी र हर्कवीर थापा थिए भन्ने बताइदिने। थापा र बुढाथोकीले सन् १८९४ मै स्वीट्जरल्यान्डका आल्प पर्वतहरू ब्रिटिसहरूको साथ लागी चढिसकेका थिए। उनलाई पर्वतारोहणको इतिहासको अध्ययनमा मात्र होइन, त्यसमा आफैं संलग्न हुने पनि सोख थियो। थोरै नेपालीलाई थाहा होला उनी एउटा अन्तर्राष्ट्रिय आरोहण दलमा संलग्न भएर सगरमाथाको दोस्रो शिविरसम्म पुगेको कुरा।
डा. हर्क गुरुङको नामसित जोडिने विशेषणहरूमा एउटा 'पूर्व राज्यमन्त्री' पनि हो। तर, उनलाई त्यसै विशेषणमा सीमित राखेर हेरिनु उनको बहुप्रतिभाशाली प्रतिभा र व्यक्तित्वका लागि अन्याय हुन जान्छ। चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक, योजनाविद्, विद्वान् वक्ता के मात्र थिएनन् उनी ?
डा. हर्क गुरुङको नामसित जोडिने विशेषणहरूमा एउटा 'पूर्व राज्यमन्त्री' पनि हो। तर, उनलाई त्यसै विशेषणमा सीमित राखेर हेरिनु उनको बहुप्रतिभाशाली प्रतिभा र व्यक्तित्वका लागि अन्याय हुन जान्छ। चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक, योजनाविद्, विद्वान् वक्ता के मात्र थिएनन् उनी ?
बालकृष्ण समको सान्निध्य र संरक्षणमा चित्रकलातिर प्रवृत्त भएर डा. हर्क गुरुङले कोरेका डाँफे र मुनालका चित्रहरू त आजभन्दा ५० वर्षअघि नै हुलाक टिकटका रूपमा छापिएका थिए। उनी क्याप्टेन भएको ठमेल ११ फूटबल टीमले सन् १९६७ मा त्रिभुवन च्यालेन्ज शिल्ड जितेको थियो। टेनिस त उनी हप्तैपित्छे नबिराई दश काम छाडेर पनि खेल्ने गर्थे।
उनी संयोजक रहेको नेपालको बसाइँसराइ अध्ययन गर्ने समितिले सन् १९८३ मा तयार पारेको प्रतिवेदनका कारण डा. हर्क गुरुङ चर्चित मात्र होइन, आलोचित पनि भए। त्यस विवादास्पद प्रतिवेदनका निष्कर्ष र सुझावहरूको विरोध गर्नेहरूले उनलाई झुण्ड्याउनुपर्छ समेत भनेका थिए। उनको स्पष्ट धारणा भारतसितको खुला सिमानाको आवागमनलाई व्यवस्थित तुल्याउनु पर्छ भन्ने थियो जसलाई त्यस सुझावका विरोधीहरूले सिमाना बन्द गर्नु भन्ने व्याख्या गरेका थिए।
सस्तो लोकप्रियताका पछाडि नलागी आफ्नो ब्रह्मले देखेका सत्य र तथ्य कुरा बोल्थे र लेख्थे डा. हर्क गुरुङ। नत्र आरोहणका लागि नखोलिएको माछापुच्छ्रेलाई तत्काल खोल्नुपर्छ भनी प्रस्ताव राख्ने थिएनन्। नेपालको विकासका समस्या निवारण निम्ति नेपाललाई २५ वटा जिल्लामा पुनर्विभाजन गर्नुपर्ने उनको प्रस्तावले पनि प्रशस्तै चर्चा पाएको थियो केही वर्षअघि।
यता आएर डा. गुरुङको अध्ययन र लेखनमा नेपालको जनसङ्ख्यासम्बन्धी विषयले पनि निकै प्रमुखता पाएको थियो। उनले सन् १९९१ को साथै सन् २००१ को जनगणनाको मिहीन विश्लेषण गरेर अनेक पुस्तक र पुस्तिका तयार पारेका छन्। नेपालको अहिलेसम्मका गतिला वैज्ञानिक एटलसहरू उनकै सम्पादन र संयोजनमा निस्किएका छन्। उनले टोनी हागन फाउन्डेसनका लागि तयार पारेको एटलस यसै हप्ता मात्र प्रेसबाट निस्किएको छ।
जनजाति विषयक अध्ययन उनको अर्को मन पर्ने क्षेत्र थियो। 'फेसेज अफ नेपाल' भन्ने नेपालका जातजातिबारे चिनारी गराउने पुस्तक त उनले मलेसियामा एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुख भएर रहँदा उहीँ लेखी सिध्याएका थिए। उनको विश्लेषणमा कोरा तथ्याङ्कको चिरफार मात्र नभएर नेपाली समाजलाई यसको समग्रतामा बुझ्ने प्रचेष्टा रहन्थ्यो। जनजाति समुदायलाई उनीहरूको समुचित स्थान प्रदान गर्दै विकासको मूलधारमा कसरी समाहित गर्ने भन्ने खोजी हुन्थ्यो।
उनको शैक्षिक प्रशिक्षण र अभ्यासले गर्दा उनका धेरै कृतिहरू अङ्ग्रेजी भाषामा लेखिएका छन्। तर, उनी त्यत्तिकै निपुणतासाथ नेपाली भाषामा पनि लेख्ने गर्थे। उनको यो पकड विविध विषयमा नेपालीमा लेखिएका हिमाल किताबले छाप्न लागेको उनका रचनाहरूको प्रकाशोन्मुख सँगालोमा पनि देख्न सकिन्छ। उनको सोचाइको स्पष्टता लेखाइमा पनि उत्तिकै प्रबल पाइन्छ।
उनको विश्लेषणमा कोरा तथ्याङ्कको चिरफार मात्र नभएर नेपाली समाजलाई यसको समग्रतामा बुझ्ने प्रचेष्टा रहन्थ्यो। जनजाति समुदायलाई उनीहरूको समुचित स्थान प्रदान गर्दै विकासको मूलधारमा कसरी समाहित गर्ने भन्ने खोजी हुन्थ्यो।
केही वर्षयता उनको सृजनात्मक उत्पादनशीलता असाध्यै तीव्र भएको थियो। अफिस कोठामा होस् या घरको अध्ययन कक्षमा, उनी सदैव बायाँ हातमा चुरोट र दायाँ हातमा कलम समातेर बसेका भेटिन्थे। अनि, अघिल्तिरको होचो टेबुलमा हालसालै छापिएका उनका पुस्तकहरूका ताँती प्रदर्शित हुन्थ्यो।
'अदभूत' थियो उनको काम गर्ने क्षमता। उनको जीवनशैली र काम गर्ने ऊर्जा देख्दा त त्यस शब्दको अघिल्ला दुई वर्ण झिक्नु उपयुक्त देखिन्थ्यो। रक्सी त्यत्तिकै पिउन सक्ने, चुरोट छिनछिनमा फुक्नुपर्ने, तास खेल्न परे रात काट्न सक्ने। गजबको समन्वय थियो डा. हर्क गुरुङको जीवनमा विलक्षण विद्वत्ता र नैसर्गिकताको।
उनको कर्मठ जीवनलाई उनले आफ्नो एउटा किताबमा उद्धृत गरेको निम्न तिब्बती उखानले नै चरितार्थ गर्दछ।
सिङ्गै पहाड खाएर पनि मानिसको चित्त बुझ्दैन,
सिङ्गै सागर पिएर पनि उसको तिर्खा मेटिँदैन।
शायद यही मानवोचित असन्तुष्टि र तृष्णाले उनलाई ज्ञानको संसारको एक अथक यात्री बनाएको थियो। उनी थोरै नेपाली अनुहारमध्ये एक थिए जसलाई हामी गर्वसाथ अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउन सक्थ्यौँ र उभिएका पनि थिए।
यस्ता थिए सबैले भूगोलविद् भनी चिनेका डा. हर्क गुरुङ। भूगोलका ज्ञाता उनी आखिर भूगोलमै हराए।
(१६-३१ असोज २०६३, मा हिमाल खबरपत्रिकामा प्रकाशित ।)