बसोबास गरेको ३४ वर्षपछि लालपुर्जा दिने तयारी
कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका ८५ घरपरिवारसँग आफूले खनजोत गर्ने जग्गाको लालपुर्जा नै छैन। उनीहरु ३४ वर्षदेखि यही ठाउँमा छन्। तर, अब जग्गाको लालपुर्जा पाउने खबरले खुसी छन्।
शिवरत्नपुरका जोखनलाल चौधरी २०४३ सालमा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने उक्त ठाउँको ऐलानी पर्ती जग्गामा आएर बसे। उनी सात कठ्ठा जमिनमा खेतीपाती गर्छन्। “ऐलानी पर्ती जग्गा जोतभोग गरेको ३४ वर्ष भइसक्यो, तर, हालसम्म जग्गाको मालिक बन्न पाएको छैन”, उनी भन्छन्।
जग्गाको लालपूर्जा नहुँदा जोखनलाललाई कतिपय सरकारी कामकाज गर्न अवरोध भएको छ। ब्यांकबाट ऋण सुविधा लिन पनि पाएका छैनन्। “छिमेकी गाउँवासीले पनि भूमिहीन भनेर हेप्छन्”, उनले गुनासो गरे।
भूमिहीन परिवारलाई २०४३ सालमा तत्कालीन नेता शिवलाल डाँगीले शिवरत्नपुरमा बसाएका थिए। त्यति बेला विभिन्न ठाउँबाट भूमिहिनहरु आएका थिए। प्रत्येक परिवारले कम्तीमा ६ कठ्ठादेखि डेढ विघासम्म ऐलानी जमिन उपभोग गर्दै आएका छन्। लालपुर्जा नभएकै कारण उनीहरुले विभिन्न झमेला झेल्नु परेको वडा नं. ७ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्त कमलप्रसाद चौधरी बताउँछन्।
भूमिहीन परिवारलाई २०४३ सालमा तत्कालीन नेता शिवलाल डाँगीले शिवरत्नपुरमा बसाएका थिए। त्यति बेला विभिन्न ठाउँबाट भूमिहिनहरु आएका थिए। प्रत्येक परिवारले कम्तीमा ६ कठ्ठादेखि डेढ विघासम्म ऐलानी जमिन उपभोग गर्दै आएका छन्।
अब भने उक्त ठाउँका भूमिहीनलाई जग्गा दिने प्रक्रिया अगाडि बढाइएको छ। लालपुर्जा दिनका लागि भूमि समस्या समाधान आयोग र गाउँपालिकाबीच सम्झौता पनि भइसकेको छ। सम्झौतानुसार १० वर्षदेखि ऐलानी तथा पर्ती जग्गामा बस्दै आएका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न सकिनेछ।
गाउँपालिकाले लगत संकलनका लागि कर्मचारी खाटाउने तयारी गर्दैछ। गाउँपालिका अध्यक्ष लाजुराम चौधरी उक्त कामका लागि कर्मचारी आह्वान गरिसकेको बताउँछन्। “हामीले कार्यपालिकाबाट निर्णय गरिसकेका छौं, तथ्यांक संकलनको लागि कर्मचारी भर्ना र कार्यालय व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ”, चौधरी भन्छन्।
उनका अनुसार शिवरत्नपुर, मोहनपुर लगायतका गाउँका भूमिहीनलाई जग्गाको लालपूर्जा वितरण गर्ने तयारी छ। त्यसबाहेक विपतपुर, रामपुर, मिलनपुर, भुईयाँफाँटा, मँझरा, बैजपुर, मनिकापुर, खरेटी, बनकट्टा लगायतमा पनि अव्यवस्थित बसोबास छ। “अव्यवस्थित बसोबासीको लगत पनि लिएर आयोगमा पठाउँछौं”, उनी भन्छन्।
खनजोत गर्दै आएको जग्गाको लालपुर्जा पाउने भएपछि शिवरत्नपुरका स्थानीय खुसी छन्। स्थानीय रामचरण चौधरी भन्छन्, “मैले ३४ सालदेखि डेढ बिघा जग्गा उपभोग गरे पनि त्यसको प्रमाण छैन। तर, अब लालपुर्जा पाइन्छ भन्ने सुनेको छु। जग्गाको मालिक बन्ने सपना पूरा हुने खबरले असाध्यै खुशी छु।”
लालपुर्जा नहुँदा राज्यका विभिन्न सेवा सुविधा उपभोग गर्नबाट पनि बञ्चित भइरहेको उनी बताउँछन्। “खानेपानीका लागि पनि लालपुर्जा चाहिन्छ। ब्यांक र सहकारीबाट ऋण लिनका लागि पनि लालपुर्जा नै खोज्छन्। लालपुर्जा नभएर सुविधा लिन पाइएन”, उनी भन्छन्।
तीन दशकदेखि सोही ठाउँमा बस्दै आएकी ललिता चौधरी पनि लालपुर्जा पाउने कुराले हर्षित छिन्। “जग्गाको लालपूर्जा वितरण हुने कुरा सुनेका छौं’, खुशी नहुने त कुरै भएन। बरु चाँडै पाए राम्रो हुन्थ्यो”, उनी भन्छिन्।