८२ का हुन्थे हर्क गुरुङ
ख्यातिप्राप्त भूगोल र योजनाविद् हर्क गुरुङको शुरूआती जागिरे जीवनले यस्तो संयोग जुराएको थियो, उनी र मैले एउटै कार्यकक्षमा ६ महीना पत्रकारिता कर्म गरेका थियौं।
विकास योजना र संरक्षणको क्षेत्रमा डा.हर्क गुरुङको विद्वत्तासँग अपरिचित को होला र ! यी भूगोल तथा योजनाविद्को सरसङ्गतबाट उनको तीक्ष्णताको गहिराइ नजिकैबाट नियाल्न पाएँ मैले। कहिले एउटै कार्यालयको सहकर्मी भएर काम गरें, कहिले संरक्षण कार्यमा सँगै हिंडें। लप्पनछप्पन नगर्ने उनी हक्की थिए।
२०२१ सालताका डा.गुरुङ र मैले राष्ट्रिय समाचार समिति (रासस) मा करीब ६ महीना सँगै काम गर्यौं। बेलायतको विश्वविद्यालयमा विद्यावारिधिको शोधपत्र बुझाएर आएका उनी पत्रकारिताको जागिरे भएका थिए। म नेपाली डेस्कमा थिएँ, उनी खेलकुदको रिपोर्टिङ गर्नुका साथै अंग्रेजी डेस्क हेर्थे। तेजिला थिए, समाचारको अनुवाद छिटो गर्थे।
उनले केहीपछि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरे। उनी योजना आयोगको सदस्य र पछि उपाध्यक्ष भए। नेपाल वातावरण पत्रकार समूह (नेवापस) का निम्ति उनी अभिभावक जस्तै थिए। हामीलाई अप्ठेरो पर्दा र नयाँ कामका लागि सल्लाह माग्दा व्यावहारिक राय दिन्थे।
ताप्लेजुङ यात्रा
ताप्लेजुङको सदरमुकाम फुङलिङमा नेवापसले जिल्ला विकास समितिको सहयोगमा छलफल कार्यक्रम राखेको थियो, २०५६ चैतमा। कञ्चनजंघा हिमाललाई ताप्लेजुङको विकास एवं संरक्षणमा के कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा आयोजित कार्यक्रमका प्रमुख अतिथि थिए, डा.गुरुङ।
त्यो बेला माओवादी विद्रोहको मिर्मिरे मात्र पुगेको थियो ताप्लेजुङमा। कार्यक्रम राखेकै दिन माओवादीले बन्द आह्वान गरेछ। कार्यक्रम भोलिपल्ट सारेर त्यो दिन स्थानीयसँग अनौपचारिक गफगाफ मात्र भयो। गफगाफमा डा.गुरुङले मुन्धुमको चर्चा गरेर उपस्थित लिम्बू समुदायलाई लठ्ठै पारेका थिए। त्यो प्रभावले पनि कञ्चनजंघा संरक्षण र विकास परियोजनामा स्थानीयको साथ पाउन धेरै काम गर्यो।
पञ्चायतकालमा केही समय वन तथा भूसंरक्षण राज्यमन्त्री भएका विष्णु मादेनले डा. गुरुङको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए। भोज खाएर हामी होटल फर्कंदै थियौं।
मादेनले डा. गुरुङलाई आत्मीय आग्रह गर्दै भने, “दाजु, तँ जाँड नखा न है।” डा.गुरुङले भने, “ए विष्णु भन्, तँलाई जाँड नखाने र नलेख्ने हर्क गुरुङ चाहिन्छ कि जाँड पनि खाने र लेख्ने हर्क गुरुङ ?” कुरो गहिरो थियो।
प्रतिप्रश्नमा मादेनले कुनै उत्तर दिएनन्। ताप्लेजुङबाट विदा भएका हामी इलामको रक्सेमा बास बसेर विराटनगर हुँदै काठमाडौं फर्कियौं।
योजना आयोगबाट महत्वपूर्ण काम
२०६० असारमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले डा.गुरुङ प्रमुख अतिथि निम्त्याएर जुम्लामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा म पनि सहभागी थिएँ।
यस्तै, हुम्लाको सिमकोटमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसएनभी ले २०६१ असोजमा गरेको विकास सम्बन्धी कार्यक्रममा पनि हामी सँगै थियौं। त्यहाँ जाँदा उनले कुनै समय हिमाली क्षेत्रमा पैदल घुम्दा आफ्नो सामान बोक्ने दलित (जसलाई उनी भ्याले भन्थे) का लागि काठमाडौंबाट दुई किलो चिनी घरमै लगिदिएका थिए।
अनामनगरमा चिनी किन्न जाँदा उनले ‘सुन किन्ने’ बताएका थिए। “काठमाडौंमा यो चिनी हो, तर सिमकोटमा सुन हुन्छ”, उनले भनेका थिए।
डा. गुरुङ राष्ट्रिय योजना आयोगका सदस्य भएपछि आयोगका समाचार धेरै आउन थाले। त्यसअघि आयोगमा निकै गोप्यता राखिन्थ्यो। जिल्लाहरूमा विकास नभएको महसूस गरी उनकै अवधारणामा नेपाललाई चार विकास क्षेत्रमा विभाजन गरिएको थियो। पछि पश्चिम नेपालको विकास अझै हुन नसकेको महसूस गरी मध्यपश्चिम र सुदूरपश्चिम दुई विकास क्षेत्र बनाई कार्यान्वयन गरियो।
डा. गुरुङ योजना आयोगको उपाध्यक्ष भएपछि नै हो, आयोगको बैठक विकास क्षेत्रमै गर्ने परिपाटी कार्यान्वयन गरिएको। त्यस्तो पहिलो बैठक २०२९ जेठमा धनकुटामा भएको थियो। आयोगको बैठक धनकुटामा नगरेको भए धरान–धनकुटा मोटरबाटो अरू पाँच वर्षपछि मात्र बन्थ्यो भन्ने लाग्छ। त्यस्तै, धनगढी–डडेल्धुरा–डोटीको मोटरबाटो बन्ने योजना दश वर्ष पछाडि धकेलिन्थ्यो होला।
डा. गुरुङ मन्त्री पनि भए। १७ भदौ २०३३ मा डा.तुलसी गिरीको नेतृत्वमा बनेको सरकारमा उनी उद्योग, वाणिज्य र शिक्षा राज्य मन्त्री, २०३४ सालमा पर्यटन राज्यमन्त्री भएका थिए। राजा वीरेन्द्रको पालामा राजाको एक महीनाको क्षेत्रीय भ्रमणको जग पनि उनैले बसालेका थिए।
हिमालसँग खेल्ने डा. गुरुङ अन्ततः ७ असोज २०६३ मा हिमालकै काखमा विलाए। १९९५ सालको यसै महीना पुस २१ गते लमजुङमा जन्मिएका गुरुङ बाँचिरहेको भए अहिले ८२ वर्षमा हिंडिरहेका हुन्थे ! ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा गुरुङ र मुलुकले संरक्षणको क्षेत्रमा काम गर्ने हस्तीहरूसहित २४ जना गुमाउनुपर्यो।
(१२ पुस, २०७६ मा हिमालखबरमा प्रकाशित यो लेखको शीर्षक ‘८१ का हुन्थे हर्क गुरुङ’ रहेको थियो । लेखकको अनुमतिमा उमेर संसोधनसहित पुनःप्रकाशित गरिएको हो। )