आलुको कथा र हर्क गुरुङले बुझेको ताप्लेजुङ
बेलायतका वनस्पति विज्ञ जोसेफ डाल्टन हुकरमार्फत् नेपालमा सबैभन्दा पहिले ताप्लेजुङमा आलु भित्रिएको रहेछ।
नेपालमा पहिलोपल्ट आलु कुन ठाउँमा भित्रियो होला ? यातायातको सुविधा र देशको केन्द्र भएको हिसाबले काठमाडौंमै भित्रियो होला भन्ने अनुमानित जवाफ आउन सक्छ। तर, देशमा पहिलो पल्ट १७२ वर्ष अघि ताप्लेजुङ जिल्लामा आलु भित्रिएको रहेछ।
यो कुरा भूगोलविद् एवम् योजनाविद् डा. हर्क गुरुङमार्फत् थाहा पाएको हुँ। त्यही ताप्लेजुङ अहिले वार्षिक ५० मेट्रिक टन भन्दा बढी आलु फलाउँछ। काठमाडौंमा त धेरै पछि मात्र आलु भित्रियो। लिच्छवि युग, मल्ल कालसम्म मात्र होइन, पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दासम्म पनि काठमाडौंमा आलु प्रवेश गरेको थिएन।
डा. गुरुङका अनुसार, सन् १८४८ मा बेलायतका वनस्पति विज्ञ जोसेफ डाल्टन हुकर हिमाली क्षेत्रको वनस्पतिको अध्ययन गर्न दार्जिलिङ, सिक्किम, कञ्चनजंघा, ताप्लेजुङ आएका थिए। उनै हुकरले नेपालमा आलु प्रवेश गराएका रहेछन्।
समयक्रममा हुकर बेलायतको क्यु बोटानिकल गार्डेनका निर्देशक समेत भए। यताबाट सर्वेक्षण गरी बेलायत फर्कंदा जंगली घाँस, फूल र विविध जातका गुराँसका बीउ लगेका उनले सो बोटानिकल गार्डेनमा रोपेर सजाएका थिए।
हुकर दार्जिलिङ र नेपालमा ब्रिटिश रेजिडेन्ट भएका हडसनको घरमा निकै समय बसेका थिए। हुकर र हडसनले सिक्किमको जङ्गलमा अध्ययन गर्न त्यहाँका तत्कालीन राजा छिरिङ नाम्ग्यालसँग अनुमति मागेछन्। तर, राजाले अनुमति दिएनछन्।
अनुमतिविना नै हुकर र हडसन सिक्किमको जङ्गल पसेछन्। सिक्किमेली राजाले यी दुवैलाई पक्राउ गरी डिसेम्बरको चिसोमा ४८ दिन झ्यालखानामा थुनेछन्। त्यो कुरा कम्पनी सरकारले थाहा पाएर ती दुवैलाई नछोडे आक्रमण गर्ने धम्की दिएपछि बल्ल जेलमुक्त भएछन्।
उनै वनस्पतिविद् हुकर कञ्चनजंघाको सर्वेक्षणको क्रममा ताप्लेजुङ आएको डा. गुरुङले सम्झेका छन्। त्यसै क्रममा हुकरले आलु प्रवेश गराएका थिए। त्यसअघि नेपालमा आलु थिएन रे। २०५७ सालमा तमु बौद्ध सेवा समितिले ताप्लेजुङ जिल्लाको विकासको सम्भावना र चुनौतीबारे काठमाडौंमा आयोजना गरेको भेलामा प्रमुख अतिथि डाकिएका गुरुङले माथिको रहस्योद्घाटन गरेका हुन्।
आलुको वंश खोज्दा संसारमा पहिलोपल्ट पेरुको लीमामा पाइएको हो। तर, चिलीले आलु सर्वप्रथम आफ्नो ठाउँमा पत्ता लागेको दाबी गरेको छ। पेरुका अनुसार, चिलीको आलु पेरुको पनाति पुस्ता हो।
फोटोमा सगरमाथा भन्दा कञ्चनजंघा जेठो
डा. हर्क गुरुङ जुन कार्यक्रममा जाने हो, त्यो विषय सम्बन्धी ठाउँको भूगोल, इतिहास, संस्कृति र जातजातिबारे अध्ययन गरेर जानुहुँदो रहेछ। त्यसका साथै, त्यो ठाउँमा आफू कहिले–कहिले पुगेको हो भनेर मिति पनि प्रस्तुत गर्नुहुँदो रहेछ। अध्ययन र टिपोटले ज्ञान खँदिलो हुँदो रहेछ।
लमजुङमा जन्मिएका डा. गुरुङले ताप्लेजुङको बारेमा आफूले जानेका कुरा बताइदिनुभयो। यो जिल्लाको विकास पर्यटनमै निहित रहेको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा जाँदा सहभागीहरू आफ्नो ठाउँको जातजाति, भाषा, सम्प्रदाय आदिबारे सुन्न पाएपछि मन्त्रमुग्ध हुने भइहाले। काठमाडौंको त्यो ताप्लेजुङ विषयक कार्यक्रममा डा. गुरुङले ताप्लेजुङ जस्ता सीमावर्ती जिल्लाहरूलाई फाइदा–बेफाइदा दुवै हुने चर्चा गर्नुभएको थियो। बेफाइदा– केन्द्रको आँखामा नपर्ने, र फाइदा– छिमेकी मुलुकको विचार र चेतना विकासको प्रभाव चाँडै पर्ने।
त्यही कार्यक्रममा डा. गुरुङले कञ्चनजंघाको फोटोले विश्व पर्यटनको इतिहासमा स्थान लिइसकेको कुरा पनि चर्चा गर्नुभयो।
बेलायतका विख्यात भूगोलविद् तथा पर्वतारोही डगलस थ्रेसफिल्ड पैदलयात्रीको रूपमा ताप्लेजुङ पनि पुगेका रहेछन्। उनका साथमा इटालियन फोटोग्राफरले पनि कञ्चनजंघाको सेरोफेरो घुमेर फोटो खिचेछन्। वास्तवमा त्यो बेला सगरमाथाको फोटो खिचिएकै थिएन। फोटो खिचिएको आधारमा सगरमाथाभन्दा कञ्चनजंघा पो जेठो रहेछ। सन् १८८९ तिर मान्छेहरूको ध्यान सगरमाथामा गएकै थिएन।
डा. गुरुङको जीवन अन्ततः ताप्लेजुङमै अस्तायो। कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको कार्यक्रममा भाग लिएर फर्कने क्रममा हेलिकप्टर दुर्घटना हुँदा ७ असोज २०६३ मा ताप्लेजुङको घुन्सामा डा. गुरुङसहितका २४ जना स्वदेशी–विदेशीको निधन भयो।
रुघाको औषधि भनेर ह्विस्की खुवाउँदा...
वनस्पति विज्ञ हुकरको बारेमा डा. गुरुङको अर्को रोचक कथा पनि प्रस्तुत गरौं। सिक्किमले पस्न नदिएपछि हुकरले नेपाल प्रवेशका लागि आफ्नो बारेमा सबै कुरा लेखेर श्री ३ जंगबहादुर राणालाई चिठी पठाएछन्। जंगबहादुरले उनलाई लिन दुई जना हवल्दार र चार जना सिपाहीको टोली पठाएछन्। त्यो सम्मान पाएपछि हुकरको सान नै बढ्यो।
उता, पैदलयात्री भएर हिंडेका भूगोलविद् तथा पर्वतारोही डगलस थ्रेसफिल्ड अब हिमालै हिमाल जाने हो भनी सूचना र अनुमतिविना सिक्किम भएर नेपाल पसेछन्। उनी एक्लै नभई दार्जिलिङमा आफैंले भर्ना गरेका आठ जना सिपाहीसहित आएका थिए। सिपाहीले हतियार बोकेका थिए।
ताप्लेजुङको हिमाली क्षेत्र घुमेर उनी घुन्सा पुगेपछि धनकुटाबाट ओलाङचुङ्गोला जान लागेका भन्सार अफिसर भेटिएछन्। त्यस्तो अनकन्टार ठाउँमा हातहतियारसहितका सिपाही लिएर हिंडेको देखेपछि अफिसरले सोधखोज गरेछन्। विवाद हुने नै भयो।
अफिसरले त्यहाँका बासिन्दालाई यिनीहरूलाई कुनै सामान नबेच्नू भन्ने निर्देशन पनि दिएछन्। भोलिपल्ट सिपाहीहरूको बन्दूक पनि खोसेछन्। डगलस अत्यासमा परे।
भन्सारका हाकिमलाई रुघाले ग्रस्त पारेको रहेछ। डगलसले ‘रुघाको औषधि खाने हो ?’ भनेर अफिसरलाई सोधेछन्। बिरामीले औषधि भनेपछि नाइँ भन्ने कुरै भएन। औषधि दिए, खाए। आखिर त्यो औषधि भनेको त ह्विस्की पो रहेछ।
अफिसरको रुघा निको भएपछि डगलसले फकाउँदै भनेछन्, “हामी तिब्बतको सीमाबाट आएका हौं। तिब्बत र सिक्किमको राम्रो सम्बन्ध नभएका कारण बन्दुक बोकेर आउनुपरेको हो। हिउँ र तुवाँलोले गर्दा बाटो बिर्सिएर यता आइपुगेका हौं।”
यति भनेपछि अफिसरको मन पग्लिएछ। उनले सबै बन्दुक फिर्ता दिएछन्। त्यसपछि स्थानीयलाई ती व्यक्तिलाई सामान बेचे हुन्छ, खान दिए हुन्छ भनेछन्।
(१७ असोज, २०७७ मा हिमालखबरमा प्रकाशित)