ठूलाकाे काठमाडौं यात्रा
सिङ्गै पहाड खाएर पनि मानिसको चित्त बुझ्दैन,
सिङ्गै सागर पिएर पनि उसको तिर्खा मेटिँदैन।
-तिब्बती उखान
तराँचे मध्यनेपालको लमजुङ जिल्लामा पर्ने एउटा सानो गाउँ हो, जुन गाउँ मर्स्याङ्दी नदीको देब्रे किनारमा अवस्थित छ। यस गाउँबाट केवल १४ किलोमिटर उत्तरमा मनासलु र हिमालचुलीका डरलाग्दा हिउँ चुचुराहरू देखिन्छन्। हो, यही तराँचेमा ठूलाको जन्म भएको थियो, जहाँ उनका पिताले लाहुरे भएर कमाएको पैसाले राम्रो बन्दोबस्त गरेका थिए।
पहिलो विश्वयुद्धमा बूढा फ्रान्स र प्यालेस्टाइन पुगेका थिए र सन् १९१९ को बजिरिस्तानको लडाइँमा बहादुरी देखाएबापत उनको नाम सरकारी पत्रमा समेत उल्लेख गरिएको थियो। ठूलाका दुई जना दाजुहरूले पनि दोस्रो विश्वयुद्धमा बर्मा र बोर्निओका जङ्गलहरूमा लडाइँ गरिसकेका थिए। यसरी परिवारका दुवै पुस्ता लाहुरे भएकाले घरमा युद्धका थुप्रै तक्माहरू जम्मा भएका थिए र ठूला उनीहरूले युद्धमा गरेका बहादुरीका बखान सुन्ने गर्थ्यो। उनीहरूले बयान गरेका टाढाटाढाका अचम्मका ठाउँ र मानिसहरूका कुरा सुनेर ऊ मक्ख पर्थ्यो।
मर्स्याङ्दीको गर्जना, गह्रैगह्रा परेका खेतबारीहरू र हिमरेखासम्म पुगेका वनले ढाकिएका पहाडहरूबीचको वातावरणमा त्यस बेला ठूला रहन्थ्यो। हिमालचुलीको सेतो टाकुरापछाडि के छ र मर्स्याङ्दीको डरलाग्दो भेल कहिले आउँछ भन्ने कुराको ज्ञान उसलाई धेरै कम थियो। साथीहरूसँग खेलिरहनु र गाउँ वरिपरि गाईवस्तुहरू चराइरहनुमा नै ऊ सन्तुष्ट देखिन्थ्यो।
गाउँका केटाहरूमध्ये मानिएको अगुवा थियो ठूला। किनभने ऊ सबैभन्दा टाढा ढुङ्गा हान्न सक्दथ्यो। त्यस हूलमा आफ्नो उच्चता कायम राख्न ठूला सबभन्दा अग्लो रूख चढ्दथ्यो, सबभन्दा अग्लो कान्लाबाट हाम फाल्दथ्यो र प्रायः उसले लडाइँ पनि खेल्नुपर्ने हुन्थ्यो।
जब ठूला गुँडका फूलहरू चोर्न रूखमा चढ्यो तब ती अन्य केटाहरू चराले झैं हातका पखेटाहरू हल्लाउँदै चोर काग बनेको ठूलालाई आक्रमण गर्न हुर्रिएर आए। त्यस मौकामा अत्तालिँदा ठूलाले आफूलाई उड्न सक्ने कागझैं ठान्यो र रूखबाट एक्कासि हामफाल्यो।
ती केटाहरू स्वछन्दतापूर्वक घुमफिर गरिरहन्थे, गाउँका फलफूल चोर्थे र खोलामा माछा र गँगटाहरू मार्ने गर्थे। तिनीहरू युद्ध र शिकार तथा अन्य त्यस्तै खेलहरू खेल्दथे। एकपल्टको कुरो हो चराखेल खेल्दा ठूला निकै ठूलो दुर्घटनामा पर्यो। त्यस चराखेलमा ठूला चोर काग र अन्य केटाहरूचाहिँ गुँड बनाउने सानासाना चरा बनेका थिए। केटाहरूले गुँडहरू बनाएर त्यसमा ससाना गोलो बगरे ढुङ्गाका फुलहरू राखी लुक्न गए।
जब ठूला गुँडका फूलहरू चोर्न रूखमा चढ्यो तब ती अन्य केटाहरू चराले झैं हातका पखेटाहरू हल्लाउँदै चोर काग बनेको ठूलालाई आक्रमण गर्न हुर्रिएर आए। त्यस मौकामा अत्तालिँदा ठूलाले आफूलाई उड्न सक्ने कागझैं ठान्यो र रूखबाट एक्कासि हामफाल्यो। तर, तल जमिनमा रहेको ठूलो ढुङ्गामा ऊ बेसरी बज्रिन पुग्यो र त्यसबाट उसको निधारमा निकै ठूलो चोट पर्न गयो। त्यो चोट केही महीनापछि निको भए पनि त्यसको दागचाहिँ सधैँका लागि रहिरह्यो।
त्यसो भए पनि ठूलाका चकचकेपना र खेलवाडप्रतिको मोहलाई यस्ता दुर्घटनाहरूले घटाउन सकेनन्। चराचुरुङ्गीहरूलाई पासोमा पार्न ऊ सिपालु भएरै निस्क्यो र कोही बेला छिमेकीका कुखुराहरूको शिकार गर्न पनि ऊ हिचकिचाउँदैनथ्यो।
वसन्त ऋतुमा साथीहरूसँग चराका गुँडहरू खोज्न जङ्गलतिर जान ऊ खूब मज्जा मान्थ्यो। तिनीहरू चराको गुँडमा तीन हाँगे काठ राखेर त्यसमा घोडाको पुच्छरका पासो थाप्थे र जब चरा गुँडमा बस्न आउँथ्यो त्यस पासोमा फस्दथ्यो। ससाना बचेराहरू भएका गुँड भेटिएमा चाहिँ तिनीहरूका माउ चराहरूलाई कहिल्यै पासोमा फसाउँदैनथे र त्यसै छाडेर घर फर्किन्थे। बरु, ती बचेराहरूको प्वाँख लागेपछि तिनलाई घरमा पाल्न ल्याउने गर्थे।
ठूला जहिले पनि मृग बन्न रुचाउँथ्यो, उसको अति चाँडो दौडन सक्ने र कठिन बार तथा डिलहरू नाघ्न सक्ने क्षमताले गर्दा उसलाई समात्न उसको साथीहरूलाई हम्मे पर्दथ्यो। कुनै साथी उसको नजिक आइपुग्यो भने कुनै उपाय नलाग्ने स्थितिमा मृगले शिकारी कुकुरलाई लात्तीले हानेजस्तै गरी उसले पनि त्यस साथीलाई लात्तीले मज्जासँग भकुर्ने गर्दथ्यो।
सबभन्दा राम्रो समय शरद ऋतु हुन्थ्यो, जुन बेला गाई, भैँसी, भेडाबाख्रा र घोडाहरू लेकतिरका खर्कहरूबाट झर्थे र गाउँका खेतबारी हुँदो चर्दथे। गाउँ नजिकै गोठहरूमा दूध र नौनी घिउको छेलोखेलो हुन्थ्यो र केटाहरू दौडिरहेका घोडाहरू खेद्ने, पक्रने र चढ्ने गर्दथे। त्यस समयमा सयपत्री फूलहरू फुलेर गाउँ नै ढकमक्क हुन्थ्यो र यसै बेला दशैं र तिहारभरि परिवारका सदस्यहरूको पुनर्मिलन हुन्थ्यो।
शरद्कालमा मृग, भालु र बनेलका शिकार गर्ने जेठापाकाहरूको चलनै थियो। ठूलाको घरमा शिकार खेलेर मारिएका विभिन्न जन्तुका सिङहरू थुप्रै जम्मा भएका थिए। केटाहरू ठूलाबडाले शिकार खेलेको सिको गर्न मन पराउँथे र त्यस्तै शिकारबाजी खेल खेल्दथे। केटाहरूमध्ये एक जना मृगको सिङ टाउकामा बाँधेर भाग्दथ्यो र अन्य केटाहरूचाहिँ शिकारी र कुकुरहरू भएर त्यसलाई खेत, बार तथा जङ्गलैजङ्गल लखेट्ने गर्दथे।
ठूला जहिले पनि मृग बन्न रुचाउँथ्यो, उसको अति चाँडो दौडन सक्ने र कठिन बार तथा डिलहरू नाघ्न सक्ने क्षमताले गर्दा उसलाई समात्न उसको साथीहरूलाई हम्मे पर्दथ्यो। कुनै साथी उसको नजिक आइपुग्यो भने कुनै उपाय नलाग्ने स्थितिमा मृगले शिकारी कुकुरलाई लात्तीले हानेजस्तै गरी उसले पनि त्यस साथीलाई लात्तीले मज्जासँग भकुर्ने गर्दथ्यो।
दाजुहरू शिकार खेल्न जाँदा आफूलाई पनि लिएर जाने आग्रह ठूला घरिघरि गरिहन्थ्यो। हुँदाहुँदा एकपल्ट माइला दाजुसँग कालिजको शिकारमा उसले जान पायो। कालिजका विष्टा फेला परेको ठाउँमै कालिजहरू बास बस्छन् भन्ने अनुमान लगाएर उनीहरू त्यही ठाउँमा गएका थिए। माइलाले भरुवा बन्दुक र ठूलाले एउटा टर्चलाइट बोकेको थियो।
त्यस ठाउँमा पुग्दा प्रायः अँध्यारो भइसकेको थियो। माइलाले ठूलालाई टर्चलाइट रूखतिर बाल्न लगायो टर्चलाइट लगाउँदा रूखका हाँगाहरूमा लहरै कालिजहरू बास बसेका देखिए। टर्चलाइटको प्रकाशमा ती चराहरू छक्क परेर आँखा झ्म्किाउँदै बसिरहे। माइलाले ताकेर बन्दुक पड्कायो। तर चराहरू खसेनन्, खालि बन्दुकको आवाज मात्र आयो। बन्दुकको घोडीमा बारुद पड्कन गएछ र माइलाको अनुहार मात्र कालै भयो। भाग्यवश उसलाई नराम्रो चोट लागेन। जब दुवै भाईले थोत्रो बन्दुकलाई सराप्न थाले तब चराहरू पूर्ण चेतनावस्थामा आएर अँध्यारोमै उडेर गए।
बन्दुक लिएको मान्छे देखेर त्यो लङ्गुर चाँडोचाँडो नजिकैको जङ्गलमा पसी एउटा अग्लो रूखमा चढेर बस्यो। ठूलालाई पछाडि नै बस्न भनेर जेठा दाजु चलाखीपूर्वक त्यस रूखतिर बढ्न थाले। आफूतिर त्यस बाँदरको ध्यान आकर्षण गरी राख्न ठूला चाहिँ उफ्रँदै–नाच्दै र अनुहार बिगार्दै बस्यो।
अर्कोपल्ट, ठूलाका जेठा दाजु भारतीय फौजबाट छुट्टीमा घर आएका बखत ठूलाले फेरि शिकार खेल्न जाने मौका पायो। जेठा दाजुले नयाँ बन्दुक किनेर ल्याएका थिए र त्यस बेला शिकार खेल्ने समय नभए तापनि उनलाई आफ्नो तारो हिर्काउन सक्ने सीप देखाउने उत्सुकता थियो। एक दिन ठूलाले गाउँको नजिकै बारीमा कलिलो मकै खाँदै गरेको लङ्गुर बाँदरलाई देखाइदियो।
जेठा दाजु अति खुशी भए। ठूलालाई साथमा लिएर जेठो दाजु नयाँ बन्दुक लिई त्यस लङ्गुरलाई हिर्काउन हिँडे। बन्दुक लिएको मान्छे देखेर त्यो लङ्गुर चाँडोचाँडो नजिकैको जङ्गलमा पसी एउटा अग्लो रूखमा चढेर बस्यो। ठूलालाई पछाडि नै बस्न भनेर जेठा दाजु चलाखीपूर्वक त्यस रूखतिर बढ्न थाले। आफूतिर त्यस बाँदरको ध्यान आकर्षण गरी राख्न ठूला चाहिँ उफ्रँदै–नाच्दै र अनुहार बिगार्दै बस्यो।
यो षडयन्त्र काम लाग्यो। ठूलाले ढ्याङ्ग आवाजसँगै त्यो बाँदर भुइँमा खसेको मात्र देख्यो। दुई आँखाको बीचमा गोली लागेर बाँदर मरेछ। ठूलाले त्यसलाई त्यसै छाडी राख्न चाहेन र मरेको बाँदरलाई पुच्छरमा समातेर तान्दै गाउँको गल्लीमा ल्यायो। त्यहाँ ल्याएर बाटो छेवैको एउटा ढुङ्गामाथि पछाडिपट्टिबाट लठ्ठीले अड्याएर त्यस बाँदरलाई बसेको झैं बनाइराख्यो।
साँझतिर मानिसहरू कामबाट गाईगोरु र भैँसीहरूसँग फर्केर आउँदा पशुहरू तर्सिएर भाग्न लागे र मानिसहरू एक्कासि भएको त्यस खैलबैलादेखि अत्तालिए। केही बेरपछि मात्र कारण पत्ता लाग्यो र तिनीहरू एकैचोटी आफ्ना कोदाली, हलो र लौराहरूसँगै त्यस बाँदरमाथि झम्टिन पुगे। तर, पहिलो चोटमै त्यो बसिरहेको बाँदर पुकलुक्क ढल्दा तिनीहरू झन् छक्क परे। डिलमाथि बसेर ठूला मरीमरी हाँसेको देख्दा मात्रै पो तिनीहरूले आफूलाई मूर्ख तुल्याइएको कुरा चाल पाए र सबै जना गललल हाँसे।
एक दिन गाउँदेखि सबैभन्दा टाढा बाह्रपोखरी लेकमा पर्ने आफ्नो घरको भेडीगोठसम्म जान ठूलाले आँट गर्यो। त्यहाँ पुग्न एक दिन लाग्दथ्यो र आवश्यक सरसामान लिन आएको घरकै गोठालाको साथ लागी ऊ त्यसतर्फ हिँड्यो। गुराँस र खर्सुको जङ्गल पार गर्दै जान पर्ने बाटो एकनासे उकालो थियो।
उपत्यकामा रहेको बादल माथिमाथि हिँड्दा ठूला अति प्रफुल्लित भयो। रिमरिम साँझ पर्दा उनीहरू गोठमा पुगे जहाँ ठूलाले गन्नै नसक्ने सङ्ख्यामा भेडाबाख्राहरू खर्किएका थिए। तीनओटा डरलाग्दा भोटे कुकुरहरूले गोठमा पहरा दिन्थे र तिनीहरू भुक्दा तिनको आवाज पहाडहरूबाट प्रतिध्वनित हुन्थ्यो। गोठमा ठूलाले मनग्गे ताजा दूध, तर र कुराउनी खायो र आफूलाई न्यानो राख्न भेडाका पाठाहरूसँगै सुत्यो।
बिहान चहकिलो घाम लाग्यो। हिमालचुलीको हिउँ सफा र ताजा देखियो। बिहानको खाना खाएपछि लगत्तै गोठालाहरूले भेडाबाख्राहरू चराउन लगे र गोठमा ठूलालाई भेडाका पाठाहरू र एउटा कुकुरसँग छाडिराखे। लेकमा यसरी उसले एक्लै बस्नुपरेको यो पहिलोपटक थियो। गोठबाहिर घुमी हिँड्न उसलाई आँट आएन र गोठभित्र नै पाठाहरूसँग खेलिरह्यो। उसलाई भालु र चितुवाहरूसँग डर लागेको थिएन। उसलाई ठूलो कुकुरले उसको सुरक्षा गर्छ भन्ने लागेको थियो। बरु, उसलाई त वनझाँक्रीको डर थियो। किनकि वनझाँक्रीले केटाकेटीहरू अपहरण गरेर लाने गर्दछ भन्ने कुरो उसले सुनेको थियो।
हर्क गुरुङको सेल्फ पोट्रेट
मध्यान्हतिर बादल उपत्यकामाथि उठ्दै आयो र पहाडका टाकुराहरूलाई ढाक्दै लग्यो। झन् मध्यान्हपछि त सम्पूर्ण पहाडको भागलाई नै हुस्सुले छोपिदियो। ठूलाले जङ्गली जन्तु र वनझाँक्रीलाई तर्साएर भगाउन गोठभित्र आगो बालेर प्रशस्त धूँवा निकाल्यो। तैपनि साँझतिर सुसेली बजेको सुुन्दा ऊ साँच्चिकै डराउन लाग्यो। कारण वनझाँक्रीले प्रायः सुसेली बजाउने गर्छ भन्ने कुरा उसलाई बताइएको थियो। ऊ अगेनाको छेवैमा टुक्रुक्क बस्यो र आफ्नो सुरक्षाका लागि बलिरहेको एउटा अगुल्ठो हातमा समातिराख्यो।
उसलाई अत्याँउने गरी त्यो सुसेलीको आवाज झन् छिट्छिटो नजिक हुँदै आयो। त्यसपछि कसैले उसको नाम बोलाएको उसले स्पष्टसँग सुन्यो र अन्तमा वस्तुहरूलाई एकत्रित पार्दै ल्याउन गोठालाले त्यो सुसेली बजाएको थाहा पाएर मात्रै ऊ ढुक्क भयो। ऊ गोठालाहरू भएतिर दगुर्दै गयो र ऊ सँगसँगै पाठाहरू पनि उनीहरूका माउहरू भएतिर दूध खान दगुरे।
गोठालाले ठूलालाई वनझाँक्रीसँग डर मान्नु नपर्ने विश्वास दिलाउँदै के भन्यो भने ऊ जस्तो छिटो कुद्न सक्ने केटोलाई वनझाँक्रीले पक्रनै सक्तैन। उसलाई के पनि भनियो भने वनझाँक्रीले लखेट्दा ऊबाट जोगिन ओरालैओरालो भाग्न पर्छ। किनभने लोग्ने वनझँक्री पर्यो भने लामो कपालले उसका आँखालाई ओरालामा छोप्दछ र स्वास्नी चाहिँ हो भने उसका झुन्डिएका लामालामा स्तनले गर्दा ओरालोमा दौडन उसलाई गाह्रो पर्छ।
त्यस लेकमा ठूलाले अति रमाइलो समय बिताउन पाए पनि ऊ त्यहाँ धेरै दिन बस्न सकेन। साथीहरूसँग हिँड्डुल गर्ने बानी परेको ठूलालाई लेकको एकान्त जीवन मन परेन। पन्ध्र दिनपछि गाउँमा फर्किंदा उसलाई आनन्द लाग्यो। गोठमा बसेकाले उसका लुगाफाटा धूँवाले पहेँला भएका थिए र उसको शरीर पनि भेडा, धूँवा र नौनी घिउ जस्तै गह्नाउँथ्यो। ऊ आफ्ना साथीहरूसँग पुनः मिसियो र पहिले खेल्ने खेलहरू खेल्न थाल्यो।
यसरी मस्तसँग बिताएका दिनहरूबाहेक गाउँको जीवन सुखसुविधाको थिएन। तराँचे गाउँ दुईओटा खतराको बीचमा रहेको थियो। एउटा माथिबाट पहिरो झर्ने खतरा र अर्को धेरै बर्साद भएको बेला मर्स्याङ्दीको बाढीले किनारका खेतहरूलाई बगाएर लाने खतरा। यसबाहेक सुक्खा वर्षहरूमा अनिकाल पनि लाग्ने गर्थ्यो कोही बेला गाउँमा जग्गा, गाईवस्तु र मजदुरीबारेमा झगडा पर्ने गर्थ्यो अनि मुद्दामामिला गर्नुपर्ने स्थिति उत्पन्न हुन्थ्यो। ठूलाका बाबु भए ठाउँमा पाका अगुवा भएका नाताले त्यस्ता झगडाहरूलाई खर्चिलो अदालती कारबाहीमा पुग्नुअगावै मिलाइदिने प्रयास गर्दथे।
एकपल्ट दुई गाउँहरूबीच चरन सम्बन्धमा उठेको पुरानो झगडालाई लगातार पाँच दिनसम्म कुराकानी गराई दुवै समूहलाई मिलाएबापत ठूलाका बाबुको नाम यस क्षेत्रमा निकै चलेको थियो। त्यस प्रकारको कार्यनीति अँगाल्दा राम्रै पनि भयो। अन्तिम निर्णय भएपछि दुवै समूहले पाँचओटा भेडा काटी भोज खाई खुशीयाली मनाए।
गाउँघरमा झगडा गर्नेहरू ठूलाका बाबुकोमा आई एकअर्कालाई दोषारोपण गर्ने गर्थे। बूढाले सबभन्दा पहिले दुवैथरीलाई हप्काएर चुप बनाउँथे र पालैपालोसँग उनीहरूका कुरा सुन्ने गर्थे। त्यसपछि उनले आफ्नो निर्णय दिन्थे, त्यही निर्णय अन्तिम हुन्थ्यो। यस्तो झगडा मिलाउँदा ठूला गम्भीर भई आफ्ना बाबुको छेउमा चुपचाप बस्ने गर्दथ्यो र आफ्ना बाबुको प्रभावशालीताको प्रशंसा गर्दथ्यो।
गाउँमा कुनै पाठशाला थिएन। यसो त लमजुङ जिल्लाभरि नै कतै पनि पाठशाला थिएन। एक जना छेत्री बूढा थिए, भारत गएर आएकाले उनलाई सबैले ‘देशी बूढा’ भन्ने गर्थे। तिनले नै लोकप्रिय धार्मिक श्लोकहरू लयहाली कण्ठस्थ पार्ने तरिकाद्वारा पढाउने गर्दथे।
हिउँदमा तराँचे गाउँको बाटो भएर धेरै परदेशीहरू आवतजावत गर्दथे। बाहिरबाट आउने त्यस्ता मानिसहरूका लागि ठूलाका बाबुले आफ्नोबाहेक अरू तीनओटा हुक्काहरू राखेका थिए। जुन हुक्काहरू क्रमशः बाहुन, छेत्री, गुरुङका लागि हुन्थे। ती मानिसहरू टाढाका गाउँहरूबाट अन्न किन्न आएका किसानहरू, तिब्बती लामाहरू र मगन्तेहरू, हिन्दू साधु र तीर्थयात्रीहरू हुन्थे।
तिनीहरू ठूलाका पितासँग टाढाटाढाका कुराहरू गर्थे र ठूला चाहिँ एउटा उत्सुक श्रोताका रूपमा बसिरहन्थ्यो। उनका पिताका छिरिङ लामा नाम गरेका एक जना तिब्बती मीत थिए जो प्रत्येक हिउँदमा उनीहरूको घरमा आउने गर्थे। ठूलाले छिरिङ लामालाई खूब मन पराउँथ्यो। किनभने एकपल्ट निकै साह्रो बिरामी पर्दा उसकी आमालाई तिनले जाती पारेका थिए र ठूलालाई तिनले तिब्बती अक्षरहरू तथा तिब्बती पात्रोका चित्रहरू लेख्न सिकाएका थिए। कहिलेकाहीँ परदेशी बाहुनहरूले उसलाई नेपाली वर्णमालाका केही अक्षरहरू सिकाउँदथे। उसले निगालाको कलम र लाँकुरीका पातहरूबाट मसी बनाउन पनि सिकेको थियो।
गाउँमा कुनै पाठशाला थिएन। यसो त लम्जुङ जिल्लाभरि नै कतै पनि पाठशाला थिएन। एक जना छेत्री बूढा थिए, भारत गएर आएकाले उनलाई सबैले ‘देशी बूढा’ भन्ने गर्थे। तिनले नै लोकप्रिय धार्मिक श्लोकहरू लयहाली कण्ठस्थ पार्ने तरिकाद्वारा पढाउने गर्दथे।
ठूलाले औपचारिक शिक्षा प्राप्त गरेकै थिएन। कारण उसका पिता गाउँघरको व्यवहारले व्यस्त रहन्थे र आमा अशिक्षित थिइन्। पाठशालामा पढ्न जान ठूला अति इच्छुक थियो। दरबार स्कूलमा छोटो समयमा पढ्दाका माइला र साइँला दाजुहरूका राम्राराम्रा पोशाकहरू र चित्रसहितका किताबहरू बाकसमा राखिएका देख्दा नै उसलाई पाठशाला जाने रूचि भएको थियो। तर, काठमाडौं त राम्ररी हिँड्दा पनि सात दिन टाढा पर्दथ्यो। ठूलाका बाबु वर्षमा एकपल्ट पेन्सन थाप्न काठमाडौं जाने गर्थे र फर्केर आउँदा नानीहरूका निम्ति मिठाई तथा खेलौनाहरू लिई आउँथे। ठूलाले काठमाडौं जाने सपना बुन्न थाल्यो। तर यसबारेमा आमाबाबुसित उसले कहिल्यै कुरा गर्न सकेन।
जब ठूला नौ वर्षको भयो काठमाडौं जानेबारे उसले चाँडै नै निधो गर्ने विचार गर्यो। त्यस बखत पेन्सन लिन जाने व्यक्तिहरू बाटामा चोर लाग्छ भन्ने डरले एउटै जमात भई हिँडने गर्दथे। हिउँदमा अरू पेन्सनवालाहरू आएर उसका बाबुसँग यात्राबारे कुराकानी गर्दा ठूलाले फरकै नपर्ने गरी सबै कुरा सुन्ने नै भयो। उसले धेरैजसो पेन्सनवालाहरूले साइत निकाली एक शुक्रबार गाउँबाट हिँडेर तराँचेबाट दश किलोमिटर दक्षिणतिर बास बस्ने गरेको निर्णय सुन्न पायो।
अरू बाँकी व्यक्तिहरू चाहिँ भोलिपल्ट बिहान ठूलाका पितासँगै गएर त्यहाँ उनीहरूलाई भेट्न पुग्ने भए। हिँड्ने दिनलाई ठूलाले राम्ररी सम्झ्रिाख्यो र आफ्नोबारे कसैलाई केही भनेन। जाने निर्णय भएको दिनमा उसले मूल बाटो छेउमा एकजोर सुरुवाल लुकाइराख्यो र सधैँ झैं साथीहरूसित खेल्न थाल्यो। केही समयपछि पेन्सनवालाहरूको पहिलो समूह काठमाडौं जाने बाटो लागेको देखियो। तिनीहरू गाउँबाट नदेखिने गरी ओझेल भइन्जेल ऊ पर्खिरह्यो र त्यसपछि आफ्ना सुरुवालहरू लिएर तिनीहरूको पछि दौड्यो।
उसका साथीहरू छक्कै परे र गाउँदेखि दक्षिणमा पर्ने घट्टेखोलासम्म उसलाई पछ्याउँदै आए। तर, ठूला तिनीहरूभन्दा धेरै नै चाँडो दौडन सक्दथ्यो र तिनीहरूले उसलाई भेट्नै सकेनन्।
आधा घण्टापछि उसले त्यस टोलीलाई भेट्यो। उनीहरूले ठूलालाई फर्काउन अनेक प्रयास गरे। ऊसँग बाटामा खाने कुरा र ओढ्ने–ओछ्याउने नभएकाले उसलाई फर्कने आग्रह गरे। तर ठूलाले के जवाफ दियो भने उसका बुबाका सामलहरू उनीहरूले बोकेका हुनाले उनलाई खुवाउनैपर्ने हुन्छ र सुत्नका लागि त ऊ रूखमुनि नै भएनि त्यसै पल्टनेछ।
यस्तो दृढ सङ्कल्प भएको ठिटोलाई उनीहरूले अन्य प्रश्नहरू गर्न हार माने। त्यस रात त्यो टोली एउटा सिमलको ठूलो रूखमुनि चउरमा बास बस्यो। ठूलालाई खाना खुवाएर आगोकै छेउमा ओछ्यान लगाइदिए। बुबाले उसको यो गोप्य र आँटिलो निर्णयप्रति कस्तो प्रतिक्रिया जनाउने हुन् भन्ने कुरोको धेरै चिन्ता मनमा खेलाएपछि मात्र ठूलालाई निद्रा लाग्यो।
एक दिन उनीहरू पाँचमाने भन्ज्याङ आइपुगे र बुबाले उसलाई छेउमा बोलाएर अगाडि रहेको काठमाडौं शहरतिर देखाए। पहिले त ठूलालाई आफ्नै आँखाको विश्वास लागेन। किनभने उसले कहिल्यै पनि यति ठूलो समतल भूमि देखेको थिएन र एकै ठाउँमा यति धेरै घर तथा दरबारहरू हुन्छन् भनेर कल्पना पनि उसले गरेको थिएन।
भोलिपल्ट बिहान घोडामा चढेर ठूलाका बाबु बास बसेको त्यस ठाउँमा आइपुगे। बूढा मान्छे रिसाएका देखिएनन्। बरु किन घरबाट भागेको भनेर ठूलालाई सोधे। ठूलाले काठमाडौंमा स्कूलमा भर्ना हुने इच्छा व्यक्त गर्यो र उसलाई साथैमा लिएर जाने बिन्ती गर्यो।
पूरै एक हप्ता हिँड्न सकिन्छ सकिँदैन, अर्को फाल्तु घोडा छैन र अरू व्यक्तिहरूले बोक्न सक्तैनन् भन्ने कुराबारे बाबुले उनलाई सोधपुछ गरे। जवाफमा ठूलाले पूर्ण विश्वासका साथ आफैं हिँड्न सक्ने कुरा बतायो। बाबुले केही क्षण सोचेर ठूलालाई के सम्झाए भने ऊ काठमाडौं गएको खण्डमा धेरै वर्षसम्म घर फर्कन पाउनेछैन। तर, ठूलाले आफ्नो मन बाँधिसकेको हुनाले त्यस कुराप्रति वास्तै गरेन। अनि बाबुको ऊप्रति दया जागेर नै होला एकपल्ट मुसुक्क हाँसे र ठूलालाई काठमाडौं लिएर जान राजी भए। त्यस बेला ठूलालाई ढुक्क लाग्यो, साँच्चि नै खुशी लागेर आयो।
तर, काठमाडौं अझै १२८ किलोमिटर पूर्वमा पर्थ्यो र ठूलाले पूरै पहाडको बाटो हिँड्नुपर्ने थियो। उसका गोडामा घाउहरू निस्किए र गोडा सुन्निए पनि। तर, फर्काइदिने डर र अरूले खिल्ली उडाउला भन्ने डरले उसले केही बताउनै सकेन।
भिराला बाटाहरू, खुट्टा बिझाउने खोलाका बगरहरू र हल्लिने झेलुङ्गे साँघुहरू हुँदै ऊ हिँड्यो। दिनमा उसले नौला ठाउँहरू देख्न पाउँथ्यो र धेरै जिज्ञासा प्रकट गर्दथ्यो। तर, रातमा भने ताराहरूले भरिएको आकाशमुनि आफ्नो घर र साथीहरूलाई सम्झँदै धेरै बेरसम्म ननिदाई निद्रा नपरी त्यसै ढल्किरहन्थ्यो। अनि आमाको न्यानो अँगालो सम्झँदा ऊ चुपचापसित आँसु झर्ने गर्दथ्यो। तर, अब त फर्कने कुरै थिएन।
एक दिन उनीहरू पाँचमाने भन्ज्याङ आइपुगे र बुबाले उसलाई छेउमा बोलाएर अगाडि रहेको काठमाडौं शहरतिर देखाए। पहिले त ठूलालाई आफ्नै आँखाको विश्वास लागेन। किनभने उसले कहिल्यै पनि यति ठूलो समतल भूमि देखेको थिएन र एकै ठाउँमा यति धेरै घर तथा दरबारहरू हुन्छन् भनेर कल्पना पनि उसले गरेको थिएन। काठमाडौं ठूलाका लागि एउटा आविष्कार नै भयो। उसका अगाडि एउटा नयाँ संसार खुल्न गएको थियो ।
(पाँचाै पिँढी (द्वैमासिक), वर्ष ३, अंक १ र २, अप्रिल १९६३ मा पहिलाेपटक प्रकाशित याे लेख विख्यात भूगोलविद् हर्क गुरुङको पुस्तक 'भिन्येत्स अफ नेपाल' (१९८०) बाट लिइएकाे हाे। २३ सेप्टेम्बर २००६ मा गुरुङको निधनपछि हिमाल किताबद्वारा प्रकाशित ‘हर्क गुरुङः विषय विविध’ पुस्तकमा यो लेख ठूलाको यात्रा शीर्षकमा समावेश छ। लेखमा उल्लिखित ‘ठूला’ हर्क गुरुङ स्वयं हुन् । अंग्रेजीबाट यो लेखको अनुवाद प्रेम सुब्बाले गरेका हुन्।)