संरक्षण नायकहरूको सम्झनामा
१५ वर्षअघि ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा नेपालले संरक्षणका ख्यातिप्राप्त नायकहरू गुमायो। आज उनीहरूले नै देखाएको बाटो पछ्याएर, प्रेरणा लिएर नयाँ पुस्ताका संरक्षणकर्मीहरूले गर्विला उपलब्धिहरू हासिल गरिरहेका छन्।
६ असोजको त्यस साँझ हामीले ताप्लेजुङ सदरमुकामको फुङलिङ बजारमा रमाइलो गर्दै सोह्रवर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ भन्ने गीत गायौं, नाच्यौं । यो मेरा संरक्षण गुरु डा. चन्द्र गुरुङको असाध्यै मनपर्ने गीत थियो। उहाँ यो गीत अक्सर गाइराख्नुहुन्थ्यो।
हामीले रमाइलो त गर्यौं तर, यो रमाइलो धेरै समय टिकेन।
फुङलिङमा विशेष कार्यक्रम सकेपछि भोलिपल्ट हामी काठमाडौं फर्कने कार्यक्रम थियो।
त्यसअघि संरक्षणकर्मीहरू केहीछिन ताप्लेजुङकै घुन्सा गएर त्यहाँका स्थानीयसँग छलफल गर्ने योजना थियो। योजना अनुसार नै बिहान डा.चन्द्र गुरुङ, डा. हर्क गुरुङलगायतको टोली एमआई–८ हेलिकोप्टरमा घुन्सा उड्यो। जानु त मैले पनि थियो तर, उँचाइमा हेलिकोप्टरले बढी मान्छे बोक्न नसक्ने भएकाले म थप कामका लागि फुङलिङमै रोकिएँ।
घुन्साबाट उहाँहरू फुङलिङ आउने, त्यहाँ केही स्थानीयलाई ओराल्ने र मसहित तीनजना हेलिकोप्टरमा चढेर काठमाडौं फर्कने। योजना यही थियो।
तर, बिहान घुन्साका लागि उडेको हेलिकोप्टर निर्धारित समयमा फर्किएर आएन। हामी किन आउन ढिला भयो भनी घडी हेर्न थाल्यौं। चिन्ता के शुरू भएथ्यो, एकाएक खबर आयो, हेलिकोप्टर त बादलमै हरायो !
यस्तो कसरी हुनसक्छ ? नेपालका एकसेएक शीर्ष संरक्षणकर्मी बोकेको हेलिकोप्टर यसरी कसरी एकाएक हराउन सक्छ ? मलाई पत्यार नै लागेन।
संरक्षणकर्मीहरूका लागि २०६३ सालमा कञ्चनजंघा संरक्षण क्षेत्र हस्तान्तरण एउटा महत्वपूर्ण कोसेढुङ्गा थियो। तर, त्यसको १२ घण्टापछि घुन्साबाट तुरुन्तै उडेपछि नेपालका शीर्ष संरक्षणकर्मीहरू बोकेको हेलिकोप्टर बादलले ढाकेको चट्टानमा ठोक्किन पुग्यो।
जसै समाचार सुन्यौं, आङफुरी शेर्पा र एक उद्धार टोलीका साथ म दुर्घटनास्थल पत्ता लगाउन खटियौं। तर, खराब मौसमका कारण हेलिकोप्टर ग्याब्लामा उत्रन बाध्य भयो। हामी पूरै रात हिंडेरै घुन्सा पुग्यौं।
घुन्सामा हामीले कहिल्यै नचिताएको दृश्य देख्यौं। बादलले ढाकेको घुन्साको चट्टानमा हेलिकोप्टर ठोक्किएछ। यसरी हामीले ७ असोज (२३ सेप्टेम्बर) २०६३ मा असमयमै नेपालका संरक्षण नायकहरू गुमायौं। १२ घण्टा अघि मात्र गीत गाउँदै, तोङ्बा खाँदै नाँचेका संरक्षणविद्हरू अब कहिल्यै नफर्कने गरी टाढा भए।
त्यो घुन्सा हेलिकोप्टर दुर्घटनामा नेपालले धेरै कुरा गुमायो। प्रख्यात भूगोलविद् तथा योजनाकार डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, जसले पर्यटनको आम्दानी संरक्षणमा प्रयोग गर्ने नमूनाको रूपरेखा बनाएका थिए। मिङ्मा नोर्बु शेर्पा– जसले अन्नपूर्ण संरक्षण क्षेत्र र डब्लुडब्लुएफ नेपाल स्थापनामा मद्दत गरे; तीर्थमान मास्के– जसले मानिस र निकुञ्जहरूको सहअस्तित्वका लागि मार्गप्रशस्त गरे।
हामीले त्यस दुर्घटनामा वनमन्त्री गोपाल राई, सचिव दामोदर पराजुली र महानिर्देशकहरू शरदकुमार राई र नारायणप्रसाद पौडेललाई पनि गुमायौं। कञ्चनजङ्घा संरक्षण क्षेत्रका व्यवस्थापन समितिका प्रथम अध्यक्ष दावा छिरिङ शेर्पा पनि हेलिकोप्टरमै थिए।
संरक्षणमा संशय
यति धेरै संरक्षणका हस्तीको एकसाथ निधनले संरक्षणकर्मी माझ एउटा गम्भीर प्रश्न खडा गर्यो : के यो भयावह दुर्घटनाले संरक्षणको क्षेत्रमा हासिल गरिएका नेपालका उपलब्धिहरूलाई जोखिममा पार्नेछ ? विश्वकै लागि उदाहरणीय समुदायमा आधारित सहभागितामूलक संरक्षण कार्यको नमूनालाई निरन्तरता दिन सकिनेछ ?
दूरद्रष्टा संरक्षणकर्मीको अचानकको अनुपस्थितिमा यी संशय वास्तवमै स्वाभाविक थिए। सहकर्मी संरक्षणकर्मीको हैसियतले म स्वयंमा पनि सन्देह नभएको भने होइन।
तर, आज १५ वर्षपछि नियाल्दा लाग्छ– संरक्षण अभियानमा बाटो देखाउने ती सबैलाई हामीले निराश बनाएका छैनौं। अझ कतिपय सन्दर्भमा त हामीले गर्वलायक उपलब्धि हासिल गरेका छौं, जसलाई उहाँहरूले नै पथप्रदर्शन गर्नुभएको थियो।
यो डेढ दशकमा हामीले नेपालको संरक्षणका विभिन्न पक्षमा उल्लेखनीय परिवर्तन देखेका छौं। केही प्रजातिको पुनर्स्थापनादेखि संरक्षित क्षेत्र प्रणालीको विस्तारसम्म सबै क्षेत्रका स्थानीयको चासो मात्र होइन सक्रिय सहभागिता बढ्दो छ। स्वामित्व बढ्दो छ।
जस्तो कि, सन् २००९ मा नेपालमा बाघको संख्या १२१ थियो, आज २३५ नाघेको छ। गैंडाको संख्या सन् २००८ मा ४३५ थियो, पाँच वर्षअघि नै ६४५ पुगेको छ। गैंडाको शून्य चोरीशिकार भएको छ। १२ वटा हिमचितुवा पाइने देशहरूमध्ये उक्त प्रजातिको संख्याका हिसाबले नेपाल अहिले पाँचौं स्थानमा छ।
नाउर, थार, गौर र घडियाललगायत प्रजातिहरूमा पनि यस्तै गर्विला सफलता हासिल भएका छन्। गैंडा, कृष्णसार, अर्ना प्रजातिको पुरानो वासस्थान क्षेत्रहरूमा पुनर्प्राप्ति हुनु हाम्रा संरक्षणसम्बन्धी प्रयासका महत्वपूर्ण कोसेढुंगाहरू हुन्।
कञ्चनजङ्घा संरक्षण क्षेत्रपछि नेपालले कैलाश र चितवन–अन्नपूर्ण भूपरिधिभित्र ४ हजार ६३२ वर्ग किलोमिटर ओगट्ने गरी थप तीन संरक्षित क्षेत्रहरूः गौरीशंकर संरक्षण क्षेत्र, अपि नाम्पा संरक्षण क्षेत्र तथा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको छ।
संरक्षणसम्बन्धी यी पहलहरूले मानव–वन्यजन्तुबीच सामञ्जस्यपूर्ण अस्तित्वलाई बढावा दिने समुदायहरूलाई समान फाइदाको सुनिश्चिततामा जोड दिएका छन्। समुदायमा आधारित संरक्षणका कार्यक्रमहरूले प्रजातिको संरक्षणका साथै संरक्षित क्षेत्र र आसपास बसोबास गर्ने स्थानीयको दिगो भविष्य निश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
यति धेरै संरक्षणका नायकहरू अचानक गुमाउनु पर्दा नेपालको वातावरणीय अभियानमा अपूरणीय क्षति पुगे तापनि ती व्यक्तिहरूद्वारा नै प्रशिक्षित र मार्गनिर्देशित नयाँ पुस्तामा उनीहरूको विरासतले निरन्तरता पाएको छ।
युवा संरक्षणकर्मीको यो नयाँ पुस्ताले १५ वर्षअघि दिवङ्गत भएका पथप्रदर्शकहरूको सम्झनामा स्थापित छात्रवृत्ति पाएका छन्। उनीहरूले अनुकरणीय काम गरेका छन्। संरक्षण प्रयासहरूलाई मार्गदर्शन गर्न प्रमुख निर्णायक पदहरूमा पनि पुगेका छन्।
कञ्चनजङ्घा सफलता
कञ्चनजङ्घा संरक्षण क्षेत्र स्वयं पनि समुदायमा आधारित सहभागितामूलक संरक्षणमा उदाहरणीय बनेको छ, नेपालमा मात्र होइन पूरै एशियामै। सहभागितामूलक संरक्षणको यो अवधारणा मिङ्मा शेर्पा र चन्द्र गुरुङले पहिलो पटक सन् १९८० को दशकको मध्यदेखि अन्नपूर्ण संरक्षण क्षेत्र र त्यसपछि मनास्लु संरक्षण क्षेत्रमा शुरू गरेका थिए।
स्थानीयको जीविकोपार्जनसँगै जैविक विविधता संरक्षण सम्बोधन गर्न सन् १९९८ मार्चमा नेपाल सरकारले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालसँगको साझेदारीमा कञ्चनजङ्घा संरक्षण क्षेत्र परियोजना शुरू गरेको थियो।
सन् २००६ मा संरक्षित क्षेत्रलाई स्थानीयमा हस्तान्तरण गर्ने क्रममा संरक्षण क्षेत्र व्यवस्थापन नियम र योजनाहरू लगायत कतिपय कानूनी र नीतिगत दस्तावेज ल्याइए। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन गरियो र सँगै यस क्षेत्रको प्राकृतिक स्रोतहरूको रेखदेखको अधिकारसँगै पनि दिइयो। समुदायमा आधारित महिला समूह पनि गठन गरियो, जसबाट अहिले परिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ।
३५ वटा आमा समूहले जेहेनदार तर, आर्थिक अवस्था कमजोर २०६ बालिकाहरूलाई छात्रवृत्ति प्रदान गरेका छन्।
यही छात्रवृत्ति पाएर अहिले पोखराको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा रेन्जर बनेकी चुङ्गला शेर्पा भन्छिन्, “मिङ्मा नोर्बु शेर्पा स्मृति छात्रवृत्तिले मेरो भविष्य निर्माण गर्यो। आशा छ म यसलाई सम्भव बनाउने संरक्षक महानायकहरूका पाइला पछ्याउनमा सक्षम हुनेछु। र, कुनै दिन यो गुण तिर्न सक्नेछु।”
सत्य हो, हामीले ७ असोजको त्यो अशुभ दिनमा हाम्रा आदर्श व्यक्तिहरूलाई गुमायौं, तर उनीहरूको कामलाई अहिले नयाँ पुस्ताले अगाडि बढाइरहेका छन्।
हाम्रा पुर्खाहरूले हामीलाई सम्पदा संरक्षणका ज्ञान हस्तान्तरण गरेजस्तै हामीले पनि यो जिम्मेवारी अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्दछ। हामीले गुमाएका अग्रजहरूप्रति हाम्रो साँचो सम्झना र श्रद्धा यही हुनेछ।
(विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेटवर्कका हिमचितुवा च्याम्पियन समेत रहेका डा.गुरुङ डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि हुन् यो लेख उनको निजी विचार हो। यो लेख ११ कात्तिक २०७७ मा हिमालखबरमा प्रकाशित भएको थियो।)