दुई करोड ३९ लाखले चलाउँछन् ब्रोडब्याण्ड इन्टरनेट, ५८ प्रतिशत नेपालीको पहुँचमा मोबाइल डाटा
नेपालमा इन्टरनेटकाे प्रयाेग बढ्दै गएकाे छ भने सबैभन्दा ठूलाे हिस्सा माेबाइल इन्टरनेट (डाटा)काे छ। कुल इन्टरनेट प्रयाेगकर्तामध्ये माेबाइल डाटा प्रयाेगकतर्ता नै करीब ५९ प्रतिशत छन्।
नेपालमा द्रूतगतिको मोबाइल इन्टरनेटसहित ब्रोडब्याण्ड प्रयोगकर्ता दुई करोड ३९ लाख लाख २१ हजार १८० पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले पुसमा सार्वजनिक गरेको कात्तिक २०७७ सम्मको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ८० प्रतिशत नेपालीले ब्रोडब्याण्ड इन्टरनेट चलाउँछन्।
केन्द्रीय तथ्यांक विभागका अनुसार कात्तिकसम्ममा नेपालको जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५३१ रहेको अनुमानका आधारमा इन्टरनेट प्रयोगकर्ताको तथ्यांक तयार पारिएको छ।
फोरजी इन्टरनेटकाे सेवा दिनेमा टेलिकमको फोरजी प्रयोगकर्ता मात्रै २० लाख ४९ हजार ९१६, एनसेलको ४० लाख ८२ हजार ५१७ र स्मार्ट टेलिकमको १ लाख ९९ हजार ७६१ रहेको पनि तथ्यांकले देखाएको छ।
तथ्यांक अनुसार सबैभन्दा बढी मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेका छन्। मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने नेपाली ५८.८३ प्रतिशत रहेका छन्। मोबाइल इन्टरनेटनमा सबैभन्दा ठूलो हिस्सा थ्रीजी इन्टरनेटकै रहेको छ। फोरजी प्रयोगकर्तालाई टेलिकम कम्पनीले प्रोत्साहन गर्न थालेको र उपयुक्त प्याकेजतर्फ आकर्षित गर्न थालेको भएपनि फोरजीको प्रयोगकर्ता ६३ लाख ३२ हजार रहेका छन्।
फोरजी इन्टरनेट तीन कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका प्रयोगकर्ताले माेबाइल डाटा प्रयोग गरेका छन्। यसमध्ये टेलिकमको फोरजी प्रयोगकर्ता मात्रै २० लाख ४९ हजार ९१६, एनसेलको ४० लाख ८२ हजार ५१७ र स्मार्ट टेलिकमको १ लाख ९९ हजार ७६१ रहेको पनि तथ्यांकले देखाएको छ।
इन्टरेनट सेवा प्रवाहमा तारसहित वा ताररहित फिक्स्ड ब्रोडब्याण्डका प्रयोगकर्ता ५२ लाख १७ हजार ३६४ छन्। नेपालमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनीबाट ताररहितको इन्टरनेट प्रयोगकर्ता नै ४८ लाख ९४ हजार ७६२ छन्।
हाल नेपालमा १२७ वटा इन्टरनेट सेवाप्रदायक भएपनि सक्रिय प्रयोगकर्ता भने ४० वटा कम्पनीका मात्रै छन्। इन्टरनेटमा सबैभन्दा ठूलो हिस्सा वर्ल्ड लिंकको रहेको छ। यो कम्पनीले हालसम्म ४ लाख २२ हजार ग्राहकलाई इन्टरनेट सुविधा दिएको छ।
फिक्स्ड ब्रोडब्याण्ड बाहेक नेपाल टेलिकमले वाइम्याक्स इन्टरनेट सेवाप्रदायकले वाइफाइसहितको ताररहित इन्टरनेट सेवा पनि दिएका छन्। नेपालमा इन्टरनेट सेवाप्रदायकले १ लाख ३६ हजार १८१ मा र टेलिकमले ९० हजार ४७५ प्रयोगकर्तासम्म फिक्स ब्रोडब्याण्ड सेवा अन्तर्गत ताररहिति इन्टरनेट सेवा पुर्याएका हुन्।
टेलिफोनसहित एडीएसएल इन्टरनेट सेवा दिइरहेको नेपाल टेलिकमले नौ लाख ५७९ लाई इन्टनरेट सेवा दिएको छ। टेलिकमको पछिल्लो इन्टरनेट प्रविधि फाइबर टू दि होम (एफटीटीएच) ३ लाख २२ हजार ६२० प्रयोगकर्तासम्म पुर्याएको छ।
टेलिकमले यही एफटीटीएच सेवाबाट १६ पुसदेखि आइपी टीभीको सेवा पनि दिन थालेको छ। टेलिकमले भोइस, डेटा र टीभीको एउटै प्याकेज उक्त एफटीटीएच प्रविधिबाट दिन थालेको छ।