पाकिस्तानमा अल्पसंख्यकमाथि आईएसको आक्रमण, ११ जनाको मृत्यु
पाकिस्तानको बलुचिस्तान प्रान्तमा अल्पसंख्यक शिया हजारा समुदायमाथि भएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। उक्त आक्रमणको अतिवादी संगठन इस्लामिक स्टेट (आईएस) ले जिम्मेवारी लिएको छ।
समाचार एजेन्सी रोयटर्सलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार आईएसले अमाक समाचार एजेन्सीलाई पत्र पठाएर आक्रमणको जिम्मेवारी लिएको हो। यो आक्रमण आइतबार बिहान बलुचिस्तानको राजधानी क्वेटाभन्दा करिब १०० किलोमिटर दक्षिण पूर्वस्थित बोलान जिल्लामा भएको हो।
आईएसले त्यहाँको कोइला खानीका कामदारको हत्या गरेका हुन्। ती कामदार खानीनजिक बनाएको कोठामा थिए। एक सुरक्षा अधिकारीले नाम नबताउने सर्तमा रोयटार्सलाई दिएको जानकारी अनुसार सबै कामदारको गला काटिएको छ। उनीहरुको हात पछाडि लगेर बाँधिएका थिए भने आँखामा पट्टी बाँधिएको थियो।
ह्वाट्स एपमा राखिएको एक भिडिओमा तीन वटा शव कोठाबाहिर देखिन्छ। बाँकी शव कोठाभित्र देखिन्छन्। उनीहरुको शव रगतमा लत्पत् भएको देखिन्छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्विट गरेर यो घटनाको निन्दा गरेका छन्। उनले यसलाई ‘आतंकवादी आक्रमण’ भनेका छन्। अपराधीहरुलाई पक्राउ गर्न प्रहरीलाई सम्पूर्ण शक्ति लगाउन निर्देशन दिइसकेको पनि उनले जनाएका छन्।
पाकिस्तानमा यसअघि पनि शिया हजारा समुदायमाथि आक्रमण हुने गरेको थियो। गएको अप्रिलमा एक बजारमा भएको आत्मघाती विस्फोटमा १८ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा आधा शिया हजारा समुदायका थिए।