भैरव रिसाल र भैरव अर्यालको एउटै चुल्हो
भैरव अर्याललाई खोई के–के समस्या थियो कुन्नी? चाँडै अस्वभाविक मृत्यु रोज्नुभयो। त्यति प्रतिभाशाली मान्छेले किन त्यति चाँडै अपहत्ते गरी मर्नु पर्या होला भन्ने अझै लागिरहन्छ।
भैरव अर्याल विलक्षण प्रतिभाका धनी थिए। त्यस्तो प्रतिभासँग मैले डेढ दुई वर्षै एउटै ताउलोमा पकाएको भात, एउटै डिक्चीमा पकाएको दाल, एउटै दिउरीमा पकाएको तरकारी र एउटै खलमा बनाएको अचार खाएँ।
भाडाको कोठामा सँगै बस्दा कहिलेकाहीँ अनमन पनि प¥यो होला। सीमित कमाइ र असीमित खर्च हुने साँघुरो अर्थतन्त्रमा यदाकदा ठाकठुक भयो होला। हामी दुइटै काँठे न हौँ। तर, भित्र तुस रहने गरी कहिल्यै झगडा भएन। मित्रता प्रगाढ थियो। हामी दुवै दम्पति छोराछोरीका आमा बाबु हुँदासम्म हाम्रो परिवारमा मैत्रीभाव थियो।
हास्यव्यंग्यबाट सिधै पत्रकारितामा प्रवेश
महालखबर दैनिक पत्रिकामा काम गर्थेँ। भैरव अर्याल गाँउको विद्यालयमा पढाउनु हुँदोरहेछ। संभवतः त्यो प्राथमिक विद्यालय थियो। एकपटक हालखवर पत्रिका उहाँको हात परेछ। त्यो अंकमा हालखबरका सम्पादक दाताराम शर्माले ‘हास्नु हुन्छ भने’ शीर्षकमा लेख्नु भएको हास्यव्यंग्य कविता छापिएको थियो।
तत्कालीन मन्त्रिमण्डलका सबै सातै जना मन्त्रीलाई व्यंग्य गरी लेखिएको थियो। त्यो कविता पढेपछि भैरव अर्यालमा अन्तर्निहित हास्यव्यंग्य प्रतिभा प्रोत्साहित भएछ। तब एउटा खस्रो खालको स्वभाव भएको मान्छे टुप्लुक्क टुपुल्कियो हालखबर कार्यालय कमलपोखरीमा।
त्यति बेलाको पत्रकार म पनि कम घमण्डी कहाँ थिएँ र? जो पायो उहीसँग बोल्दिन थेँ। दातारामजी र नवागन्तुक युवकबीच के के कुरा भए थाहा पाइनँ। भोलिपल्ट त्यो युवक फेरि आयो। आखिर उनी महान हास्यव्यंग्यकार भैरव अर्याल रहेछन्।
उहाँसँग दुई तीनवटा हास्यव्यंग्य र दुई तीनवटा ‘सम्पादकलाई चिठी’ जस्ता सामग्री थिए। अक्षर सारै राम्रा। दातारामजीले ‘सम्पादकलाई चिठी’को शैली मिलाउन मलाई दिनुभो। अर्को दिनको हालखबरमा भैरव अर्यालको एउटा व्यंग्य र एउटा सम्पादकलाई चिठी छापियो। त्यसपछि त भैरव अर्याल दिनदिनै हालखबर कार्यालयमा सम्पादकलाई चिठी र हास्यव्यंग्य कविता लिएर आउन थाल्नुभयो।
दिउसो १ बजेसम्म स्कूल पढायो, अनि हालखबरमा टुप्लुिक्कयो। नेपाली भाषामा बिछट्टै सिपालु। दातारामजीको सिफारिसमा भैरव अर्याल हालखबरमा जागिरे हुनुभयो। त्यसपछि माष्टरी जागिर छोड्नुभयो।
दाउराबाट भुसेचुल्हो, अनि गोल
अब दातारामजी र भैरव अर्यालको मित्रता झांगिन लाग्यो। केही महिनापछि नै भैरव अर्यालजीको पदोन्नति सहायक सम्पादकमा भो। मसँग पनि दोस्ती बाक्लिँदै गयो। हालखबरमा अब हास्यव्यंग्य स्तम्भ दिनदिनै जसो छापिन थाल्यो। हालखबरको बिक्री पनि बढ्न लाग्यो। सम्पादकलाई चिठी पठनीय हुदै गयो।
म हास्यव्यंग्य त्यति धेरै बुझ्दैन थिएँ। दातारामजी हास्य व्यंग्यको मर्म बुझ्नेमात्र होइन लेख्ने पनि।
यसैबीचमा रमेशनाथ पाण्डे पनि हालखबर पत्रिकामा आउनुभयो। भैरव अर्याल मार्फत रमेश विकल, नवराज चालिसे, रोचक घिमिरेहरूसँग संगत भो। मैले तीनधारा पाकशाला छोडेर डिल्ली बजारमा भाडा तिरेर बस्न लागेँ। भाइ पुरु पढ्न काठमाडौँ आए। भैरव अर्याल पनि काठमाडौँ बस्ने हुनु भो। कहाँ बस्ने भन्ने सल्लाह हुँदा मेरो डेरामा सँगै बस्ने टुङ्गोमा पुगियो।
हाम्रो एउटै भान्छा थियो। भान्छा अब दाउराबाट भुसे चुल्होमा ‘प्रमोशन’ भो। म पकाउन अल्छी थिएँ। भाइ पुरु र भैरव अर्यालजीले प्रायः भात पकाउने।
त्यहाँ हाम्रो तीन वटा कोठा थियो। जसमध्ये एउटा मान्छा, एउटा लामो कोठा, त्यही लामो कोठा भएर जानुपर्ने अर्को कोठा। कोठाभित्रको कोठा। अनि फेरि हामी भुसे चुल्होबाट प्रगति भएर गोल चुल्होमा पुग्यौँ।
मेरो र सुशीलाको बिहे ७ फागुन २०१६ मा हुने भो। भैरव अर्याल २०१६ माघको अन्तिमतिर नयाँ डेरामा जानु भो। दुइ भैरव छुट्टियौँ। भैरव अर्याल हामी बसेको डेराभन्दा दुइचार घर पर सर्नु भो। तर निकै समयसम्म हाम्रो भान्छा भने एउटै थियो।
पछि हामी नयाँ सडकमा डेरा लिएर बस्न थाल्यौँ। उहाँ पनि नयाँ सडकमै डेरा सर्नु भो। हाम्रो पानी लिन जाने धारा एउटै थियो। हामी फेरि नजिकियौँ। अब उहाँकी श्रीमती शोभा पनि सँगै बस्न थाल्नु भो। मेरी श्रीमती सुशीला र शोभाजीको पनि दोस्ती भो। कस्ता राम्रा दिन थिए ती !
जब एक रुपैयाँको हिसाब बिग्रियो
हाम्रो मित्रता वहाँ बाँचुन्जेल नै रह्यो। २०१७ सालमा म जनगणनाको काममा सुदूर पश्चिम र कृषि गणनाको काममा सुदूर पूर्व मेची अञ्चल गएँ। त्यो डेढ वर्षको अवधिमा हामीबीच धेरै पत्राचार भएछ। भैरव अर्यालका १३ वटा चिठी त ‘लोग्ने, स्वास्ने र केही मित्रहरूका चिठी’ भन्ने चिठी संकलन पुस्तकमै छापिएका छन्। चिठीमा वास्तवमा इतिहास, भूगोल, जलवायु, वातावरण, पारिस्थितीकिय प्रणाली जस्ता जीवनका यावत पक्षको चर्चा हुन्थ्यो।
भैरव अर्यालजीका चिठी जीवन्त तथा प्रेरणा र प्रोत्साहन दिन हुन्थे। हामीबीच पारिवारिक कुराहरु पनि हुन्थे। पछि वहाँहरू गोकर्ण दक्षिण ढोकाबाट बौद्ध जोरपाटी बसाइँ सर्नु भो। एक दिन भैरव अर्याललाई सिनेमा हेर्न मन लागेछ। उहाँसँग एक रुपैयाँ रहेछ।
शोभाजीको थैली खोल्दा अर्को एक रुपियाँ भेटाउनुभएछ। तर, नमागी नलिने भनेर त्यहीँ छाड्नुभयो। जम्मा दई रुपैयाँ भएपछि खाजा खान समेत पुग्ने भो भन्ने ठान्नुभएछ।
तर, घरमा सामान किन्नु रहेछ। शोभाजीले अर्यालजीको खल्ती हेर्दा त्यही एक रुपैयाँ देख्नुभएछ। त्यो लिने विचार गर्नु भएछ।
अब दुवै जनाले आ–आफ्नो काम टर्यो भन्ने सोच्नु भएछ। दुवै जनाको हिसाबमा दुवै जनासँग दुई–दुई रुपैयाँ। पछि सल्लाह गर्दा त त्यही दुवैसँग त्यही एक रुपैयाँ मात्र। अनि जिल्लाराम। हामीबीच यस्ता यस्ता घरायसी कुरा पनि हुन्थे।