कोशी टप्पुमा चरा गनिँदै
‘चराको राजधानी’ कोशी टप्पुमा जलचरा गणना थालिएको छ। हरेक वर्ष पुस महीनामा ५ दिन लगाएर गरिने चरा गणना यस वर्ष ३३औं पटक हो।
१८ पुसबाट शुरू भएको गणना २२ पुसमा सकिने कोशी पंक्षी समाजका अध्यक्ष संजीव आचार्यले बताए। गणनामा ६ गणकसहित २५ जना सहभागी छन्। पहिलो दिन बराहक्षेत्रदेखि डुङ्गाबाट गणना गरिएको थियो। १९ पुसमा आरक्षको पूर्वी भागमा पैदल र नदीमा डुङ्गाबाटै गणना गरिएको छ।
२० पुसदेखि तीन दिन आरक्षको पश्चिम कमलपुर क्षेत्रका जलासयहरूमा गणना गरिने कार्यक्रम रहेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष चराको संख्या कम देखिएको आचार्यले बताए।
केही वर्षदेखि कोशी नदी र कोशी टप्पु वन्यजन्तु आरक्षमा बसाई सरेर आउने चराको संख्यामा कमी हुन थालेको छ। चराको बासस्थानमा मानव चहल पहल बढ्न थालेकोले चराको संख्यामा कमी आएको चराविद्धले बताएका छन्।
सयौंको संख्यामा एकै झुण्डमा पाइने चरा अहिले ससाना झुण्डमा देखिने गरेका छन्। यस क्षेत्रमा युरोपदेखि आउने चराको संख्या घट्दै जानुमा मानव अतिक्रमण मुख्य कारण भएको पंक्षी समाजका पूर्वअध्यक्ष अनिष तिम्सिनाले बताए। २०७५ को तुलनामा २०७६ मा कोशीमा जलचराको संख्यामा ६५ प्रतिशतले घटेको थियो। यस वर्षपनि घट्ने अनुमान गरिएको छ।
गत वर्ष अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले चराका प्रजाति पनि कम पाइएको थियो। नेपालमा गणना भएका ८८८ मध्ये ५२८ प्रजातिका चरा पाइने कोशी टप्पुमा हिमाली प्रकृति नामक गैरसरकारी संस्थाले ३३ वर्षदेखि आगन्तुक चराको गणना गर्दै आएको छ।
साइबेरियादेखि वर्षेनी उडेर आउने चरा दक्षिण भारतीय क्षेत्रमा जान थालेको अनुमान गरिएको छ।